ad ad

अपराध


निर्मला हत्या अनुसन्धानमा ७७ अधिकृत फेल भए, फेरि डाक्टरसहित पुग्यो डीआईजीको टोली

निर्मला हत्या अनुसन्धानमा ७७ अधिकृत फेल भए, फेरि डाक्टरसहित पुग्यो डीआईजीको टोली

डीआईजी दुर्गा सिंह


उजिर कार्की
पुस २०, २०७९ बुधबार २१:१७, काठमाडौँ

निर्मला पन्तको बलात्कार तथा हत्याको घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोली कञ्चनपुर पुगेको छ। 

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको डीआईजी सिंह नेतृत्वको टोलीमा चिकित्सक समेत छन्। ५ सदस्यीय अनुसन्धान समिति बुधबार कन्चनपुर पुगेको हो। 

घटनापछि सईदेखि डीआईजीसम्म ७७ जना अनुसन्धान अधिकृतले यो हत्याको अनुसन्धान गरिसकेका छन्। तर, कसैले पनि निचोडमा पुर्याउन सकेनन्। घटना भएको साढे ४ वर्ष बितिसकेको छ। 

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। 

डाक्टरसहित घटनास्थल पुगेको टोलीले अहिलेसम्मका प्रमाण र अनुसन्धानलाई एउटा निचोडमा पुर्याउने तयारी गरेको छ। 

प्रहरी प्रवक्ता टेकप्रसाद राई भने अनुसन्धान भइरहे पनि नयाँ बनेको समितिले त्यसलाई थप निचोड दिन मद्दत गर्ने बताउँछन्। अहिले पनि त्यहाँ सीआईबीका डीएसपीको नेतृत्वमा टोलीले अनुसन्धान गरिरहेको छ। 

‘यस्ता कुनै पनि घटना भइसकेपछि प्रहरीले अनुसन्धान गरिरहेकै हुन्छ। अनुसन्धान अधिकारी तोकेकै हुन्छ। यो ऐन कानुनले नै निर्दिष्ट गरेको कुरा हो। हामी भन्दै हिँड्दैनौँ। यो घटना जिल्लाको टोलीले पनि हेरिरहेकै छ। गृहमन्त्रीको चासो र निर्देशनमा अहिले चिकित्सक सहितको ५ सदस्यीय टोली फेरि खटाइएको हो,’ डीआईजी राईले नेपालखबरसँग भने। 

फेरिए ४ गृहमन्त्री र ४ आईजीपी
यो अवधिमा देशमा ४ गृहमन्त्री र ४ आईजीपी फेरिइसकेका छन्। हरेक गृहमन्त्रीले यो घटना आफ्नो प्राथमिकतामा रहेको बताउने गरेका छन्। कार्यभार सम्हालेपछि हरेक आईजीपीको उत्तर पनि उही हुन्छ– अब चाँडै दोषी पत्ता लाग्छ। 

घटनापछिका चौथो गृहमन्त्री हुन् रवि लामिछाने। यसअघि रामबहादुर थापा, खगराज अधिकारी र बालकृष्ण खाणले पनि निर्मलालाई न्याय दिलाउने बाचा गरेका थिए। करिब ३ साता मात्रै काम गर्न पाएका अधिकारीले त यो टुंगोमा पुर्याउने कुरा भएन। तर रामबहादुर र बालकृष्ण भने असफल नै भएका थिए। 

अहिले रविले पनि अघिल्ला गृहमन्त्रीहरुले जस्तै बाचा गरेका छन्। घटना भएको समयमा पत्रकार रहेका लामिछानेले यसअघि गरिएको अनुसन्धानमा प्रश्न उठाउँदै आएका थिए। तर अहिले उनी आफैँ घटनालाई निचोडमा पुर्याउनु पर्ने जिम्मेवारीमा पुगेका छन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ उनले पहिलो निर्णय गर्दै निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताए। गृहमन्त्री लामिछानेकै निर्देशनमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन भएको हो। 

गृहमन्त्री मात्रै नभई नेपाल प्रहरीको नेतृत्वमाथि पनि प्रश्न उठाउने घटना बन्यो निर्मलाको हत्या। घटनाको समयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए। खनालले अनुसन्धानमा संलग्न प्रहरीमाथि नै डण्डा चलाए। पछि सर्वोच्चको आदेशले उनीहरु सेवामा फर्किइसकेका छन्। 

आफ्नै प्रहरी अधिकारीलाई कारबाही गरेका खनालले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको भने पहिचान गर्न सकेनन्। 

खनालपछि प्रहरीको नेतृत्व सम्हाले ठाकुर ज्ञवालीले। एक वर्ष पनि नेतृत्व नपाएका ज्ञवालीको पालामा पनि प्रहरी यो घटनाको अनुसन्धान टुंगोमा पुर्याउन असफल भयो। 

शैलेश थापा घटनापछिका तेश्रो आईजीपी हुन्। उनले पनि यो घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको बताउन छुटाएनन्। तर अनुसन्धान भने टुंगोमा पुगेन। 

हालका आईजीपी धिरज सिंहको पनि सुरुदेखि कै चासो यो घटनामा छ। आईजीपी भएपछि उनले पनि टोली खटाएका थिए। तर, सो प्रयास पनि असफल भयो।

कतिपय आईजीपीहरु आफैँ घटनास्थल पुगेका छन्।

अहिले नयाँ गृहमन्त्री आएसँगै सो घटनाबारे पुनः चर्चा सुरु भएको छ। गत शुक्रबार लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेर यो घटनाको अनुसन्धान प्रगतिबारे चासो दिएका थिए। 

अनेकथरी अनुसन्धान समिति
गृह मन्त्रालयदेखि मानवअधिकार आयोगसम्मले घटनाबारे छानबिन समिति बनाएका थिए। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। 

समितिले पनि अनुमान गर्नबाहेक अन्य ठोस उपलब्धि दिन सकेन। मानव अधिकार आयोगले पनि समिति बनाएको थियो। यस्तै प्रहरीले पनि डीआईजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाएको थियो। 

सबै समितिले छुट्टाछुट्टै निचोडसहितका प्रतिवेदन तयार गरे पनि अनुसन्धानलाई सघाउ पुर्याउने कुनै पनि प्रमाण दिन सकेनन्।

प्रहरीले सुरुमै स्थानीय दिलिप सिंह विष्टलाई पक्राउ गरेको थियो। तर डीएनए नमिलेपछि उनलाई छाडिएको थियो। सीआईबीको अनुसन्धान टोलीले विष्टसँग डीएनए नमिले पनि अन्य प्रमाणले पुष्टि गर्ने दाबी गरेको थियो। 

तर डीएनए नमिलेपछि विष्टलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काएपछि आरोपित भनी सार्वजनिक गरिएका विष्टलाई झण्डै एक महिना थुनेर छाडिएको थियो। त्यसपछि प्रहरीले शंका लागेका एक सय बढीको डीएनए परीक्षण गरिसकेको छ। 

डीआईजी सिंह घटनाको अनुसन्धानमा दोस्रो पटक खटिएकी हुन्। यसअघि एसपी हुँदा पनि उनलाई अनुसन्धानमा त्यहाँ खटाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .