ad ad

अपराध


पूर्वम्यादी मायाको हत्या : कहाँ लुके आरोपित सशस्त्र प्रहरीका जवान?

पूर्वम्यादी मायाको हत्या : कहाँ लुके आरोपित सशस्त्र प्रहरीका जवान?

गोकुल जोशी
मंसिर १७, २०७९ शनिबार १७:१४, कञ्चनपुर

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली अझै फरार छन्। प्रहरीले उनलाई खोजिरहेको छ। तर, कोलीको अहिलेसम्म प्रहरी अत्तोपत्तो पाउन सकेको छैन।

घाँटी रेटेर किशोरीको हत्या भएपछि पीडित परिवारले कोलीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको छ। घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले आरोपी कोलीको खोजीका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। 

कोलीले प्रयोग गर्दै आएको मोबाइलको प्रहरीले ‘लोकेसन ट्रेस’ समेत गरेको छ। मोबाइल ‘स्विच अफ’ गर्नुपूर्व कोलीको लोकेसन डडेल्धुरा आसपासको क्षेत्र देखाएको प्रहरी स्रोतले जनाएको छ।

‘उनले प्रयोग गर्दै आएको मोबाइल स्विच अफ छ,’ प्रहरी स्रोतले भन्यो, ‘अन्तिम लोकेसन डडेल्धुरा देखिएकाले सो क्षेत्रमा सूक्ष्म निगरानी गरिरहेका छौं।
कोलीको अन्तिम लोकेसन डडेल्धुरा देखिए पनि प्रहरीले भारततर्फका नाकाहरुमा पनि विशेष सर्तकता अपनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले महाकाली किनारका डिम्बरघाट, हल्दुविनायक घाटलगायत नाका सिल गरिएको बताए।

उनका अनुसार महाकालीमा डुंगा सञ्चालकहरुसँग पनि सोधपुछ गरिरहेको उनले बताए।

 ‘खोजी कार्य चलिरहेको छ, छिट्टै पक्राउ गछौँ,’ उनले भने।

पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो। घटनापछि शुक्रबार राति कोली सामाजिक सञ्जाल टिकटकमा पनि सक्रिय रहेका थिए।

उनले टिकटकमा ‘मैले मायाको हत्या गरेको होइन्’ शीर्षकमा सन्देश लेख्दै अपराध अस्वीकार गरेका थिए। टिकटकमा लामो सन्देश पोष्ट गरेका कोलीले केही समयमै उक्त सन्देश हटाए।

जिल्लामा उपकरण नहुनाले केन्द्रसँग समन्वय गरेर प्रावधिक पाटोबाट पनि आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ। टिकटक आर्इडीमा पोष्ट गरेका भिडिओहरुको पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ।

‘कुनै भिडिओमा मायामा धोका पाएर निरास बनेको प्रेमीका रुपमा आफूलाई दर्शाउन खोजेका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘कुनै भिडिओमा आफूलाई जर्बजस्ती क्रुर व्यक्तिको रुपमा देखाउन खोजिएको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोलीले योजनावद्ध ढंगले हत्या गरेको देखिएको छ। कोलीका टिकटक भिडिओ विश्लेषण गर्दा उनी पहिलेदेखि नै घटनाका लागि आफूलाई मानसिक रुपमा तयार गराइरहेको विश्लेषण पनि प्रहरीले गरेको छ।

‘फेसबुक र टिकटकका गतिविधि अध्ययन गर्दा त्यस्तो निष्कर्ष निकाल्न सकिन्छ,’ स्रोतले भन्यो। मृतक माया र आफू ६÷७ महिनादेखि प्रेममा रहेको उनले सन्देशबाट खुलाएका छन्।

कोली पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिए। मृतक माया मंसिर ४ मा सम्पन्न चुनावमा म्यादी प्रहरी थिइन्। मायाले नै बोलाएर कोली चुनावलगत्तै घर फर्केको अनुमान गरिएको छ।

‘कोली गहिरो प्रेममा रहेको देखिन्छ, त्यो प्रेम  एकतर्फी पनि हुनसक्छ,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘दुवैका बीचमा यसबारे मतमतान्तर भएको हुनसक्छ ।’

मायाको अन्यसँग पनि प्रेम सम्बन्ध रहेको शंका कोलीले गरेको देखिन्छ। कोलीले घटनाको केही दिन अघि मायाको मोबाइल खोसेका थिए। 

मायाकै फेसबुक म्यासेन्जरबाट उनका साथीहरुसँग कोलीले च्याट गर्ने गरेको खुलेको छ। अन्यसँग पनि सम्बन्ध रहेको शंकापछि योजनावद्ध ढंगले नै हत्या गरेको प्रहरीको अनुमान छ। घटनामा घाइते भएकी नेहाले प्रहरीसँगको बयानमा कोलीकै नाम किटान गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .