अपराध


सहकारी अध्यक्ष जसले म्यानेजरलाई फसाउन स्कुटरमा पेस्तोल राखिदिए

१५ दिनपछि आफैँ पक्राउ परे, म्यानेजर छुटे
सहकारी अध्यक्ष जसले म्यानेजरलाई फसाउन स्कुटरमा पेस्तोल राखिदिए

नेपालखबर
साउन २, २०७९ सोमबार १९:५२, काठमाडौँ

ललितपुरको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ आफ्नै म्यानेजरको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेका छन्।

सुरुमा सहकारीका म्यानेजर श्यामकृष्ण श्रेष्ठ पक्राउ परे पनि अनुसन्धानका क्रममा उनलाई आफ्नै अध्यक्षले फसाएको खुलेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। 

महालक्ष्मी नगरपालिका ८ लुभुका सहकारीका म्यानेजर ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ गत असार १३ गते पक्राउ परेका थिए। श्यामकृष्ण चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरमा २ राउण्ड गोलीसहितको पेस्तोल फेला परेको थियो। 

उनलाई फसाउन सहकारीका अध्यक्ष अनिल श्रेष्ठ र पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठले पेस्तोल राखेको खुलेसँगै उनीहरु पक्राउ परेका छन्। श्यामकृष्ण भने निर्दोष रहेको पाइएपछि छाडिएको ललितपुर प्रहरीले जनाएको छ।

बहुविवाहको मुद्दाका कारण उनीहरुबीच दुस्मनी सुरु भएको पाइएको छ। अनिल श्रेष्ठले सर्लाहीका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएका थिए। दोश्रो विवाह गरेपछि अनिल र सरस्वतीविरुद्ध २०७८ चैत १७ गते ललितपुरमा जाहेरी दर्ता भएको थियो।

श्यामकृष्ण र शिवजी मिल्ने साथी हुन्। अनिल श्रेष्ठविरुद्ध अदालतमा समेत श्यामकृष्णले अनिलविरुद्ध साक्षि बकपत्र गरेका थिए।

अनिलले सकारीबाट आफ्नो र परिवारको नाममा २ करोड ९५ लाख रुपैयाँ कर्जा लिएका थिए। तर उनले सावा र ब्याज नतिरेपछि श्याकृष्णले अध्यक्षलाई ताकेता गरेका थिए। त्यससँगै उनीहरुको मनमुटाव बढेको थियो। 

यसअघि गत जेठ २५ गते पनि अनिलले ललितपुर परिसरमा फोन गरेर श्यामकृष्णको स्कुटरमा पेस्तोल रहेको सूचना दिएका थिए।

त्यतिबेला भने प्रहरीले श्यामकृष्णलाई फेला पार्न सकेको थिएन। त्यो दिन श्यामकृष्ण सहकारीको कार्यालयमा पुगेर आफैं स्कुटरमा पेस्तोल राखिदिएको खुलेको छ।

सहकारीको पार्किङ सीसीटीभीबाट यो पत्ता लागेको हो। दिउँसो ३ बजेर ३८ मिनेटमा यस्तो गरेको खुलेको थियो। 

असार १३ गते श्यामकृष्ण सहकारीको काममा स्कुटरमा ललितपुर मालपोत कार्यालयतर्फ हिँडेका थिए। त्यसलगतै अनिलले प्रहरीलाई फोन गरेर श्यामकृष्णको स्कुटरमा पेस्तोल रहेको सूचना दिएका थिए।

उनी आफैँ श्यामकृष्णको पिछा गरेर २५ पटक प्रहरीलाई फोन गरेर लोकेसन जानकारी दिएका थिए।

श्यामकृष्ण चढ्ने स्कुटर प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा २ राउण्ड गोलीसहितको पेस्तोल फेला परेको थियो। यो स्कुटर सहकारीकै हो। एक वर्षदेखि श्यामकृष्ण चढ्दै आएका थिए।

तर स्कुटरको अर्को साँचो पूर्व उपाध्यक्ष अख्खनदास श्रेष्ठसँग थियो। उनले २५ दिन पहिले मात्रै अनिललाई चाबी दिएका थिए। 

श्यामकृष्णलाई फसाउन अनिलले षड्यन्त्र गरेको खुलेपछि प्रहरीले अनिललाई पक्राउ गरेको हो। श्यामकृष्णलाई भने हाजिर जमानीमा छाडिएको छ। अख्खनदास पनि पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad