आईएमईले रेमिटेन्स सेवालाई डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने जनाएको छ।
शुक्रबार स्थापनाको २६औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रम व्यवस्थापन टोलीले नयाँ योजना सुनाएको हो। कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका संस्थापक एवं अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गरिने बताए।
वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको भरपर्दो र अभिन्न अंग बन्न सफल भएको ढकालले स्मरण गरे। आईएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिताको प्रवर्द्धन तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष ढकालले बताए।
कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै उनले ‘आर्थिक रूपान्तरणसँग प्रविधिको विकास’ लाई मूल उद्देश्य बनाएको बताए। नवीनतम प्रविधिलाई आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवालाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने उनले प्रतिबद्धता जनाए।
त्यस्तै, आईएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आईएमई’ र ‘आईएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताए। उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य रहने बताए।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आईएमईले सेवा प्रवाह गरिरहेको बताए। प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पौडेलले प्रतिबद्धता जनाए।
कार्यक्रममा आईएमईको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ। नयाँ लोगोले आईएमईका विस्तारित वित्तीय सेवालाई प्रतिनिधित्व गर्ने जनाइएको छ।

प्रतिक्रिया