आज बुवाको १९औँ स्मृति दिवस। आमा घरमा श्राद्ध गर्दै हुनुहुन्छ।
म मात्र त्यो दिन सम्झिन सक्दिन कि जुन दिन हजुरमाथि वज्रपात पर्यो।
गाउँमा नै बस्ने भनेर बनाउँदै गरेको अर्को नयाँ घरलाई अधूरै छोडेर किन भौँतारिएर सहर पसेको होला भन्ने म आज बल्ल बुझ्ने भएछु।
साँच्चै समाज परिवर्तन भएको होला। आधुनिकताले केही हद टेकेको होला।
तर म मान्दिन कि समाज आज पनि त्यो कुण्ठित मानसिकताबाट टाढा छ।
त्यसैले त्यो समाज र आफन्तीबाट किन विक्षिप्त छौ? तिम्रा लागि हामी छौँ नि भन्ने सान्त्वनाका केही शब्दसम्म पायौ कि पाएनौ, सानै भएकाले त्यति याद त गरिनँ।
तर समाजले हेर्ने दृष्टिकोणसम्म अझै परिवर्तन भएको महशुस हुन्न मलाई।
आमा हजुरले फोन गर्दा सजिलै म अहिले अलि व्यस्त छु पछि गरौँला भनेर काटिदिन्छु।
तर त्यति बेला तिम्रो मनमा विरक्तीका तरङ्गहरु उर्लिएका थिए होलान्– केही तीतामीठा कुरा गरौँ भन्दै चस्मा, नम्बर र फोन ठीक पार्दै गरेको फोनलाई कति सजिलै काटिदियौ है?
हजुरको आजसम्मका तीतामीठा पलहरु सुनाउन हतार गर्दै कसलाई भन्ने? हजुरले आफैँले प्रसव पीडा सहेर पाएको सात सन्तान आज कोही डाक्टर, कोही इन्जिनियर त कोही व्यवसायी होलान् तर त्यो हजुरको मुटु जसमा अटाएको बुवाको स्मृति पक्कै पाकेको होला।
त्यसको कुनै औषधि नहोला तर पनि शीतल पार्न भूमिका खेल्नुपर्ने समाजले लगाउने लाञ्छनाले झन जलाएको आभास हुन्छ र ती हजुरका बच्चाहरुको सानो गल्तीमा एक्लोपनलाई दिएको दोषको पूर्ण अर्थ कसले बुझाइदेला?
जन्म र मरण सही साध्य हो। कोही छिटो त कोही ढिलो। सबैले शतकौँको आयु नपाउलान् तर समाजले महिला एकल हुँदा हेर्ने दृष्टिकोण अझ कहिलेसम्म यतिकै रहने?
आधुनिकताको उदाहरण त्यो हो– जहाँ महिलालाई सम्मान र सपोर्ट गरिन्छ। चाहे ती जुनसुकै रुपमा होस्, चाहे छोरी, बुहारी, श्रीमती, आमा र सासू।
त्यसैले आमा हजुरका उन्नाइस वर्षसम्म संगालिएका पीडा र दुःखका क्षणहरु सुन्ने भए बुवाको एक मूर्ति काफी हुने थियो होला तर विडम्बना आज ती रहरहरु साँच्चै गाँठो परेको छ।
संकल्प छ– हजुरका सात सन्तान समाजको कुनै ठाउँको उपस्थितिमा कमजोर छैनन् र हजुरलाई समाजमा फिक्का हुन नदिने दृढता वहन गर्नु हाम्रो कर्तव्य हो।
Shares
प्रतिक्रिया