ad ad

ब्लग


सद्गुरुको कैलाश यात्राअघि ४५ मिनेटको त्यो सत्संग

सद्गुरुको कैलाश यात्राअघि ४५ मिनेटको त्यो सत्संग

नारायणकाजी श्रेष्ठ
साउन २९, २०७६ बुधबार ५:९,

भारतका प्रख्यात आध्यात्मिक नेता सद्गुरु जग्गी वासुदेव तिब्बतको कैलाश यात्रा गर्नुअघि नेपालमा थिए। करिब एक साता उनले अन्नपूर्ण पदयात्रामा बिताए। पोखरा र कालिगण्डकीको प्राकृतिक आनन्द लिए।

मानोसरोबर र कैलाश यात्राका लागि हिँड्नुअघि इसा फाउन्डेसनका संस्थापक उनी राजधानीमा थिए। काठमाडौंबाट ल्हासा जहाजमा र त्यहाँबाट राजमार्ग हुँदै कैलाश जाने उनको यात्रा निर्दिष्ट थियो।

सद्गुरु त्यस्ता थोरै आध्यात्मिक गुरुमध्ये पर्छन् जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक शपथग्रहण समारोहमा समेत निमन्त्रणा गरेका थिए।

मंगलबार तिब्बत जान जहाज चढ्नुअघि होटल द्वारिकाजमा सद्गुरु र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठबीच करिब ४५ मिनेट भेटवार्ता भयो।

नेपालखबरले नेता श्रेष्ठासँग सोधेको थियोः त्यो भेटमा के के विषयमा कुराकानी भयो? पढ्नुहोस् नेता श्रेष्ठको जवाफ उनकै शब्दमाः

जीवनका आयामहरुः आध्यात्म, मानवीय मानवीय प्रतिभा, लोकतन्त्र, कम्युनिज्म र विकासबारे कुराकानी भएको हो। म मार्क्सवादी हुँ। द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई मान्छु तर मैले लामो समयदेखि अध्यात्मका कतिपय पक्षलाई कम्युनिस्ट दर्शनसँग जोड्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु। पूर्वी दर्शनका अत्यन्तै सकारात्मक पक्ष हुन् योग र ध्यान। यी दुई विषयले आफ्नो जीवन र मानव समाजलाई अघि बढाउन सकारात्मक योगदान दिन्छन्। यी दुवै मार्क्सवाद र कम्युनिस्ट दर्शनले छुटाएका विषय पनि हुन्।

म महेश योगी, ओशो, रविशंकरका प्रवचनहरु सुन्छु। पछिल्लो समय सद्गुरुका विचारहरु पनि सुन्दै आएको छु। उहाँले अक्सफोर्ड, हार्डबर्ड, एमआईटीजस्ता विश्वविख्यात विश्वविद्यालयहरुमा गएर अन्तरक्रिया गर्नुभएको छ। गुगल, माइक्रोसफ्ट र नासामा गएर विज्ञान र मानवीय प्रतिभाबारे बहस गर्नुभएको छ। ती सबै विषयवस्तु मैले ध्यान दिएर सुनेको छु। त्यसको पछाडि एउटा कारण छ। अहिलेको भारतका चिन्तकहरुमध्ये सद्गुरुका विचारहरु सर्वथा फरक छन्। अहिले दुनियाँले भनेजस्तो ईश्वरको पक्षमा उहाँ हुनुहुन्न। उहाँले सिधै भन्नुहुन्छ, ‘ईश्वर त मानव सिर्जित विषय हो। ईश्वर भन्ने कुनै चिज छैन। ईश्वरले मानव, ब्रह्माण्ड सिर्जना गरेको होइन।’

धर्मले गर्दा अध्यात्मलाई बिगार्यो भन्ने सद्गुरुको बुझाइ रहेछ। उहाँले त्यो मलाई पनि सुनाउनुभयो। ईश्वर, धर्म र अध्यात्म फरक–फरक विषय हुन्। अध्यात्मको केन्द्रीय चिज योग-ध्यान हो भन्ने उहाँको बुझाइ छ। यो विश्व ब्रह्माण्डको सिर्जनाकर्ता ईश्वर हो, ईश्वरले बनाएको विधि विधान धर्म हो र त्यसलाई मानेर अघि बढ्नुपर्छ भन्ने कुरामा म पनि विश्वास गर्दिनँ। त्यसर्थमा म आध्यात्मिक हुँ। म आफूलाई ‘स्प्रिचुवल एथेस्ट’ भन्छु। मेरो सोच सद्गुरुको सोचसँग मिल्दो भएकैले भेटवार्ता गरेको हो। दोस्रो कुरा अहिलेका विज्ञानका थुप्रै विषयमा उहाँले बहस गर्नुभएको छ। प्रकृति, वातावरण विज्ञानदेखि न्युरो साइन्ससम्मका विषयमा बहस गर्नुभएको छ।

सद्गुरु एक कम्युनिस्ट
उहाँ किशोर अवस्थामा कम्युनिस्ट विचारबाट प्रभावित हुनुहुँदो रहेछ। नक्स्लाइड आन्दोलनमा उहाँले झन्डैझन्डै बन्दूक बोकेर हिँड्नु भएको रहेछ, १२—१३ वर्षको उमेरमा। तर जे कुरा भन्छन् त्यो कुरा गरेको देख्नुभएनछ। भन्ने र गर्ने कुरा एकै नहुँदा उहाँलाई वास्तविक कम्युनिस्टजस्तो लागेनछ। तर कम्युनिजमका आदर्शप्रति आकर्षण रहेछ। नेतृत्व र कार्यकर्ताले व्यवहारमा लागू नगरेको देखेपछि वितृष्णा भएर छोड्नु भएको रहेछ। सबैभन्दा बढी आध्यात्मिक कम्युनिस्टहरु हुनुपर्ने हो तर उनीहरु त्यसको ठिक विपरित गए भनेर उहाँले सुनाउनुभयो।

मैले त्यसको कारण छ भनेर सुनाएँ। जनमानसमा अध्यात्म, ईश्वरवादी र धर्मलाई एउटै भनेर बुझ्ने गरिन्छ। त्यसरी नै प्रचार हुँदै आएको छ। मान्छेहरुले अध्यात्मको अर्थ ईश्वर र धर्म भनेर लगाउँछन्। त्यो भनेको नबुझेको अवस्था हो। अध्यात्म, योग, ध्यान भनेको पूरापूर विज्ञान हो। यो धर्म होइन। ईश्वर र धर्म मानेकै भरमा आध्यात्मिक भइँदैन। यो कुरा नबुझ्दा कम्युनिस्टहरुले अध्यात्ममा प्रवेश नगरेका हुन् भनेर मैले सुनाएँ। उहाँ त्यसमा सहमत हुनुभयो।

योग र ध्यान भौतिकवादी द्वन्द्ववादसँग मेल खान्छ

हुन पनि ध्यान एउटा 'इनर जर्नी' अर्थात् अन्तर्मनको यात्रा हो। उहाँलाई आध्यात्मिक व्यक्तित्वको रुपमा मान्छेहरुले ठिक ढंगले नबुझ्न पनि सक्छन्। उहाँ धर्म गुरु होइन। चेला चपेटा पछि लगाउने किसिमको विशेषता उहाँमा देखिँदैन। योग र ध्यान भनेको भौतिकवादी द्वन्द्ववादसँग मेल खाने विषय हो। जति तपाइँ यसमा प्रवेश गर्नुहुन्छ त्यति द्वन्द्ववाद भेट्नुहुन्छ। यो मार्क्सवादसँग बेमेलखाने कुरै होइन। बरु त्यसकै अर्कोपाटो हो। मान्छेभित्र हुने इनर जर्नी अर्थात् अन्तर्मनको यात्रा पूरै वैज्ञानिक प्रक्रिया हो। जसरी मान्छेले बाहिरी विश्वका विषय हेर्छ, विश्लेषण गर्छ त्यसैगरी यसले सूक्ष्म रुपमा भित्र हेर्छ, त्यसरी नै विश्लेषण गर्छ। त्यसैले कम्युनिस्ट दृष्टिकोण राख्ने नेतृत्वले अध्यात्मको सकारात्मक पाटोलाई आत्मसात गर्नुपर्छ। अध्यात्म भन्नुको अर्थ सुक्ष्म रुपमा आफ्नो अध्ययन गर, खोज गर भनेको हो।

बाहिर चाहिँ हामी संसारै भत्काइदिन्छौं, सम्मै बनाइदिन्छौं भन्छौं। आफूतिर चाहिँ फर्केर पनि हेदैर्नौं। आफ्ना कामबारे तटस्थ भएर विश्लेषण गर्दैनौं। आफूलाई हेर्ने, बुझ्ने र फेरिने प्रक्रिया नै यसको सकारात्मक पाटो हो। यहाँ अर्कालाई ठाँट, छल, तिकड्म गर्नमै धेरै समय गइरहेको छ। अध्यात्मको मार्गबाट जानुभयो भने पहिला आफैँसँग कुरा गर्नुहुन्छ। त्यतिबेला आफूले फटाइँ गरिरहेको छु भन्ने जागरुकता आइहाल्छ। यसले स्वजागरुकता बढाउँछ। त्यो जागरुकता कस्तो भने निदाउँदा समेत म निदाइरहेको छु भन्ने बुझ्छ। काम गर्ने क्षमता बढाउँछ। प्रत्येक 'एक्सन'मा म यो गरिरहेको छु भनेर पहिले आफैँलाई महसुस गर्छ। मैले यो ढंगले बुझेको हुनाले नै सद्गुरूसँग अन्तरक्रिया गरेको हुँ।

उहाँसँग निकै थोरै समय थियो। कुराकानी हुँदै जाँदा हामी दुवैले अलि बढी नै समय बितायौं। त्यस्तै ४५–५० मिनेट कुराकानी भयो होला। नेपालको विकासबारे उहाँको विशेष चासो रहेछ। नेपालजस्तो सुन्दर र मौलिक देश दुनियाँमा अन्त कहीँ छैन। यसले विकासको बाटो समात्दा प्राकृतिक सुन्दरता नस्ट नगरे हुन्थ्यो भन्ने उहाँको बुझाइ रहेछ। सांस्कृतिक, ऐतिहासिक धरोहर रक्षा गर्नेगरी विकास गरे हुने थियो भन्ने लागेको रहेछ।

मैले विकासको मोडल कस्तो हुनुपर्छ भनेर छलफल गर्न यो सही समय छ भनेर सुनाएँ। नेपालको विकासबारे हुने त्यस्तो छलफलमा सहभागी हुन पाए म खुशी हुन्थेँ भनेर उहाँले सुनाउनुभयो। धर्मलाई टाढै राख्नोस्, अध्यात्मलाई पनि एकछिन् छोड्दिनोस् नेपालको राजनीतिक नेतृत्वले विकासबारे रुचि राख्छ भने म त्यसमा सहभागी हुन चाहन्छु भन्नुभएको छ। यो विषय म सरकारसँग राख्नेछु। सरकार सकारात्मक भए उहाँ कैलाश यात्राबाट फर्किंदा यस्तो छलफल हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .