ad ad

ब्लग


हामी सत्तामा पुग्यौँ भने ओली, प्रचण्ड र देउवालाई नख्खु चौरको घाम तपाउँछौँ

हामी सत्तामा पुग्यौँ भने ओली, प्रचण्ड र देउवालाई नख्खु चौरको घाम तपाउँछौँ

रवीन्द्र मिश्र
फागुन १०, २०७७ सोमबार १३:२३,

यत्रो स्रोतसाधन सम्पन्न देशमा सत्तरी, असी वर्ष संघर्ष गरिरहनु दुर्भाग्यपूर्ण छ।

‘कू’ गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। सबैले सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन्। केपी ओली सर्वोच्च अदालतले के निर्णय गर्ला भनेर थरथराइरहनुभएको छ। वहाँ किन डराइरहनुभएको छ?

पहिले उहाँले नै ‘सेटिङ’ गरेर यो सबै भइराखेको छ भन्ने आरोप थियो। अहिले आएर उहाँ नै सेटिङ भएको भन्न थाल्नुभएको छ।

अनि उहाँ भन्नुहुन्छ चुनाव त हुन्छ हुन्छ। सर्वोच्चले यो निर्णय उल्टायो भने, कसरी हुन्छ चुनाव?

देशमा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहन्छ। उहाँ सर्वोच्च अदालतले आफूले चाहेको जस्तो निर्णय गर्देला र म खाउँला भनेर पर्खिरहनुभएको छ।

अनि अर्को नेता यो देशमा लोकतन्त्र आइसकेपछि आफ्ना विचारले जनताको मन जित्नसक्ने ठाउँ हुँदाहुँदै मान्छेको घाँटी रेटेर, मान्छेको छातीमा गोली हानेर अहिले लोकतन्त्रको दुहाइ दिँदै विदेशी नेतालाई लोकतन्त्र बचाइदिनोस् भनेर अनुनय विनय गर्दै बस्नुभएको छ।

यहाँ धेरैको धेरै स्वार्थ छ।

प्रधानमन्त्री ओलीलाई लागेको होला– बालुवाटरमै बसिरहन्छु, बालकोट फर्किन्नँ। तर, तपाईंलाई अब सम्भवतः धेरै दिन बालुवाटारमा बस्ने सुविधा छैन।

प्रमुख प्रतिपक्ष दलका नेतालाई लागेको होला– सर्वोच्चले चुनावमा जाने फैसला गर्ला र केपी ओली अलोकप्रिय भएका बेला मेरो पार्टीले चुनाव जित्छ। अनि म ज्योतिषीलाई साइत हेराएर बुढानीलकण्ठबाट बालुवाटार जाउँला।

त्यो पनि कुनै सम्भावना देखिन्न।

त्यसैगरी अर्को नेतालाई लागेको छ– छिमेकीले सहयोग गर्दियो भने त अझै सत्तारोहण गर्न पाइहाल्छु। यो पनि कुनै सम्भावना देखिन्न।

आज, भोलि वा पर्सि विवेकशील साझा यो देशको नेतृत्वमा पुग्छ, पुग्छ।

हामी यो देशको नेतृत्वमा पुगेपछि बालुवाटारबाट बालकोट जानुभएको नेतालाई हामी सबैभन्दा पहिले अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ।

त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्‍याउछौँ।

किनभने उहाँलाई राष्ट्रघाती रोग लागेको छ। त्यो रोगको उपचार गर्नुछ। राष्ट्रघात गर्नुभएको छ उहाँले।

त्यसैगरी प्रमुख प्रतिपक्ष दलका नेतालाई बुढानीलकण्ठबाट बालुवाटार जाउँला भन्ने होला। तर, हामी सत्तामा पुग्यौँ भने अख्तियार र सर्वोच्चले सबैभन्दा पहिले तपाईंको राष्ट्रघाती चरित्रको उपचार गर्छ। त्यसपछि तपाईं पनि नख्खुको चौरमा घाम ताप्न जानुपर्छ।

त्यसैगरी अर्को नेता, जसको नेतृत्वमा यो देशमा धेरै हत्याहिंसा भएको छ। उहाँलाई पनि खुमलटारबाट नख्खु नै जानुपर्ने स्थिति सिर्जना हुन्छ।

हामी आयौं भने यो देशका भष्ट्रचारी राख्नका लागि धेरै जेल निर्माण गर्नुपर्छ। यो देश त्यसै ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचीमा पुछारमा परेको छैन। त्यसका लागि जो जिम्मेवार छन, तिनलाई हामी जेल हाल्छौँ हाल्छौँ।

यो देशमा सम्पत्ति शुद्धिकरण, अख्तियार, सर्वोच्च छ। यी संस्थालाई स्वतन्त्र रुपमा काम गर्न दिनेबित्तिकै तिनले काम गर्न थाल्नेछन्।

यहाँ धेरैलाई लाग्छ। सानो पार्टी छ, कुरा ठूला गर्छ भनेर। हो, सानो पार्टी छ कुरा ठूला गर्छौँ, किनभने हामी इमानको धरातलमा उभिएका छौं।

प्रधानमन्त्रीका सल्लाहकारले मलाई चेतावनी दिँदै भन्नुभयो– तपाईं सीमामा बसेर बोल्नुहोस्। म उहाँहरुलाई चेतावनी दिँदै भन्छु– तपाईंहरु संविधानको सीमा नमिची बस्नुस्। तपाईंहरु नियम र कानुनको सीमाभित्र बस्नुस्।

यी नेताहरुले लोकतन्त्रका लागि जुन संघर्ष गरे, यिनीहरुको भष्ट्रता, आचरणहीनता र राष्ट्रघाती कामहरुले उनीहरुले लोकतन्त्रका लागि गरेको संर्घष ओझेलमा परेको छ। उनीहरुका कारणले यो देशमा सिंगो राजनीतिप्रति घृणा सिर्जना भएको छ।

आज यी पुराना नेताहरुले सर्वोच्चमा आफ्नो स्वार्थअनुसारको भागबन्डा नगरेको भए कुनैपनि नेता थर्थराएर बस्नुपर्ने थिएन। कुनैपनि नेताले मलाई सर्वोच्चप्रति विश्वास छ भनेर टेबुल ठटाउनु पर्ने थिएन।

न्यायलय भनेको आमा बराबरको संस्था हो। मेरी आमामाथि विश्वास छ भनेर टेबुल ठट्टाउनु पर्दैन।

तर, २०६३ सालको संविधानबाट नेपाल बारबाट, न्यायपरिषदबाट सर्वोच्चमा न्यायाधीश लाने व्यवस्था गरे। त्यही व्यवस्था गरेदेखि न्यायलयमा भागबन्डा भइरहेको छ।

नेपाल बार एसोसियसन छ। विकसित देशमा बारको प्रतिष्ठा उच्च हुन्छ। तर, नेपालमा बार एसोसियसन मात्रै छैन। त्यहाँ कम्युनिस्ट र कांग्रेसका कानुनकर्मीहरु छन्। त्यहाँ सर्वोच्चमा मान्छे जाँदा पार्टीको मान्छे जान्छ, अंशबन्डा हुन्छ। अनि सर्वोच्चले कसरी न्याय दिने?

सर्वोच्च, जहाँ हरेकले न्याय नपाउँदा शरण लिन जानुपथ्र्यो, त्यो संस्थामा यिनीहरुले कालोमोसो दलिदिएका छन्।

(विवेकशील साझा पार्टीले सोमबार काठमाडौँको रत्नपार्कमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा पार्टीका अध्यक्ष मिश्रले राखेको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .