डढेलो सल्केजसरी फैलिएको कोरोना भाइरसबाट अहिले विश्वभर २५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। कोभिड–१९ रोगको हालसम्म प्रमाणित उपचार तथा खोप पत्ता लागिसकेको छैन।
तथापि क्षयरोगविरुद्ध लगाइने ब्यासिलस क्यालमेट ग्युरिन (बीसीजी) खोपले कोरोना भाइरसबाट बचाएको दाबी गरिएका समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने गरेका छन्।
पिअर रिभ्यु नगरिएको एक अध्ययनले बीसीजी खोप लगाइने क्षेत्रमा भाइरसको संक्रमण र मृत्युदर कम रहेको दाबी गरेपछि यस्तो खबर फैलिएको हो। बच्चामा मैले पनि बीसीजी खोप लगाएको हुनाले म यो खबरको यथार्थ खोजी गर्न थालेँ। तर, यसबारे म जति गहिरो अध्ययन गर्दै गएँ, त्यति नै यो असत्य लाग्दै गयो।
बीसीजी खोप
क्षयरोगविरुद्धको बीसीजी खोप फ्रान्सका दुई अनुसन्धानकर्ता अल्बर्ट क्यालमेट र क्यामिल ग्युरिनले विकास गरेको थिए। यो खोप मानिसमा पहिलो पटक सन् १९२१ मा प्रयोग गरिएको थियो। क्षयरोग लागेकी आमाले जन्माएकी एक शिशुलाई खोप लगाइएको थियो। जसलाई क्षयरोग लागेकी हजुरआमाले हुर्काएकी थिइन्।
सर्ने रोग भए पनि सो खोप लगाइएको बच्चालाई क्षयरोग लागेन। आज अफ्रिका, एसिया र दक्षिण अमेरिकाका लगभग हरेक मुलुकमा यो खोप अनिवार्य छ। हरेक वर्ष १० करोड नवजात शिशुलाई यो खोप लगाइन्छ।
छालाको बीचको पत्रमा लगाइने यो खोप जन्मेको एक महिनाभित्र पाखुरामा दिइन्छ। धेरैजसोमा यसले सानो खत छोड्छ।
बालबालिकामा गम्भीर प्रकृतिको क्षयरोग हुन नदिन यो खोप अत्यन्त प्रभावकारी देखिएको छ। यसको प्रभावकारिता ८६ प्रतिशत छ। अर्थात् बीसीजी लगाएका मानिसहरुमा क्षयरोग नलाग्ने सम्भावना अन्यको तुलनामा ८६ प्रतिशत बढी छ।
बीसीजीले सामान्यतः मानिसको रोग प्रतिरक्षा शक्ति पनि बढाउने गर्छ। अर्थात् क्षयरोगविरुद्धको खोपले अन्य रोगविरुद्ध लड्न पनि सहयोग गर्छ। यसको कारण पत्ता लागेको छैन। तर, ५ वर्षमुनिका बालबालिकामा मृत्युदर ५० प्रतिशतले घटाउन यो खोप पनि जिम्मेवार रहेको मानिन्छ।
क्षयरोगबाहेक एलर्जी, एक्जिमा, दमजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य संक्रमणमा पनि यो खोप फाइदाजनक हुने रिपोर्टहरु प्रकाशित भएका छन्। तथापि, यसको पूर्ण अध्ययन भएको छैन। यसले कुष्ठरोगबाट पनि बच्न सघाउँछ।
तर यतिबेलाको मुख्य प्रश्न हो– के यसले कोभिड–१९ बाट पनि बचाउन सक्छ त?
पहिलो कुरा त क्षयरोग ब्याक्टेरियाले लाग्छ। कोभिड–१९ भाइरसले। तर्क आउन सक्छ– बीसीजीले अन्य रोगविरुद्ध काम गरेजस्तै कोरोनाविरुद्ध पनि त गर्न सक्ला। तर, हालसम्म प्राप्त प्रमाणले यो तर्कलाई पुष्टि गर्न सहयोग गर्दैन।
बीसीजी खोप र कोरोना भाइरस
बीसीजी खोप लगाइएको क्षेत्रमा कोभिड–१९ को प्रभाव कम रहेकोसम्बन्धी एक नयाँ रिपोर्टबारे विश्वभर ८० भन्दा ज्यादा समाचारमा प्रकाशित भए। त्यस्तै यसबारे ७ हजारभन्दा बढी ट्विट गरिए।
तर, यो अध्ययनमा अनेकौँ कमजोरी छन्। यो एक पारिस्थितिक अध्ययन हो, जसमा जनसंख्यालाई भूगोलका रुपमा परिभाषित गरिएको छ। त्यसैले यसको निश्कर्षको व्याख्या गर्दा होसियारी अपनाउन जरुरी छ। जनसंख्याको विषमता, खोपको दर र फरक व्यक्तिको शरीरले खोपप्रति जनाउने प्रतिक्रियाबीचको फरकलाई अध्ययनमा उल्लेख गरिएको छैन।
पारिस्थितिक अध्ययनमा कस्ता कमजोरी हुन्छन्, त्यसको एउटा उदाहरण हेरौँ। सन् २०१२ को यस्तो एक अध्ययनले प्रतिव्यक्ति चकलेट सेवनको मात्रा बढी भएको मुलुकमा बढी नोबेल पुरस्कार विजेता भएको देखाएको थियो।
‘यो अध्ययनको समस्या के छ भने न त कुनै मुलुकले चकलेट सेवन गर्छ न नोबेल पुरस्कार जित्छ,’ यसबारे क्यानडाका एक प्राध्यापक डा. क्रिस्टोफर लाबोसले लेखेका थिए, ‘मानिसले चकलेट खान्छन्। नोबेल पुरस्कार पनि मानिसले जित्छन्।’
बीसीजी–कोभिड–१९ अध्ययन पनि यस्तै हो। यो अध्ययनमा कुनै कमजोरी छैन भनेर हामी मानिदिए पनि यसले तथ्य र कारण स्थापित गर्न सक्दैन।
जसरी चकलेट खाने सबै मानिसले नोबेल पुरस्कार जित्दैनन्, त्यसैगरी बीसीजी खोप लगाउने सबै मानिस कोभिड–१९ बाट बच्न सक्दैना्।
बरु, तथ्य के हो भने कोरोना भाइरसबारे पर्याप्त अनुसन्धान भएको छैन। त्यसैले यो निश्कर्ष अझ कमजोर बन्न पुग्छ।
वास्तवमा बीसीजी खोपले मानिसलाई कोरोनाबाट बचाउनेबारे कुनै वैज्ञानिक प्रमाण पत्ता लागेको छैन।
जर्मनीको युनिभर्सिटी अफ गोटिंगानका विज्ञहरुको अनुमानअनुसार मार्च ३० सम्ममा ४० सबैभन्दा प्रभावित मुलुकमा कोभिड–१९ का मात्र ९ प्रतिशत संक्रमित पत्ता लागेका छन्।
अझ महत्वपूर्ण कुरा, हालसम्मका तथ्यांकले कोरोनाबाट अस्पतालमा मृत्यु भएको संख्या मात्र उल्लेख गरेका छन्। इटलीका अधिकारीहरुका अनुसार आफ्नै घरमा वा नर्सिङ होमहरुमा ज्यान गुमाउनेको संख्या ती तथ्यांकमा समावेश छैनन्। त्यसैले सही आँकडाबिना जनसंख्याको स्तरमा गरिने अध्ययनलाई पूर्ण रुपमा विश्वास गर्न सकिन्न।
त्यस्तै, यो अध्ययनमा रहेको अर्को कमजोरी हो– तथ्यांक संकलनको मिति। २१ मार्च २०२० को तथ्यांकअनुसार अध्ययनको निश्कर्ष निकालिएको छ। तर, महामारी फैलिँदै जाँदा सो मितिपछि थुप्रै मुलुकमा मृत्युदर बढेको देखिन्छ।
अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु २९ फेब्रुअरीमा भएको बताइएको थियो। मार्च २१ सम्ममा यो संख्या ३ सय १ पुग्यो। तर, त्यसपछिको ३ हप्तामा यो संख्यामा भयंकर वृद्धि भएको छ। अप्रिल १२ सम्ममा २२ हजारको मृत्यु भएको थियो भने अप्रिल १९ सम्ममा मर्नेको संख्या ४० हजार नाघेको छ। अंकहरु यति छिटो बदलिइरहँदा यो अध्ययनको नतिजामा विश्वसनीयता कम हुन जान्छ।
अर्को यस्तै पिअर रिभ्यु नभएको अध्ययनले ३ अप्रिल २०२० को तथ्यांक लिएर निश्कर्ष निकालेको थियो। जसले कुनै मुलुकको बीसीजी खोप नीति र कोभिड–१९ बाट संरक्षणबीच कुनै सम्बन्ध नभएको बताएको थियो।
उपलब्ध सबै प्रमाणहरुको समीक्षा गरेपछि विश्व स्वास्थ्य संगठनले १२ अप्रिलमा यसबारे जानकारी दिएको थियो।
‘बीसीजी खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन,’ डब्लूएचओले भनेको थियो, ‘प्रमाणको अभावमा कोभिड–१९ बाट बच्न डब्लूएचओ बीसीजी खोप सिफारिस गर्दैन।’
अब के?
कोभिड–१९ बाट बीसीजीले बचाउँछ कि बचाउँदैन भन्ने विषयमा दुई वटा अध्ययन भइरहेका छन्। अस्ट्रेलिया र नेदरल्यान्ड्स स्वास्थ्यकर्मीमा यसको परीक्षण भइरहेको छ। यी अध्ययनले यसबारे केही निश्कर्ष दिने अपेक्षा गरिएको छ।
महामारी रोक्ने उपायबारे बलियो प्रमाण फेला नपरुन्जेल डब्लूएचओले सिफारिस गरेअनुसार संक्रमणबाट बच्नु नै एक मात्र उपाय हो। जसअनुसार सामाजिक दूरी कायम राख्ने, बारम्बार हात धुने, बाहिर निस्किँदा मास्क लगाउने, लक्षण देखिए तत्काल अस्पताल जाने र अनुहार सकेसम्म कम छुने गर्नुपर्छ।
यस्तो कठिन समयमा अनुसन्धानका निश्कर्षहरुलाई खासगरी नीतिनिर्माता र सञ्चारमाध्यमले होसियारीपूर्वक व्याख्या गर्नुपर्छ।
(अल जजिराबाट)
Shares
प्रतिक्रिया