ad ad

ब्लग


कोरोना मार्न साबुन कि स्यानिटाइजर?

कोरोना मार्न साबुन कि स्यानिटाइजर?

डा.वसन्त गिरी
बैशाख ५, २०७७ शुक्रबार १२:२,

चीनको उहानबाट उत्पन्न भएको कोरोना भाइरसबाट याे लेख्दासम्म विश्वका लगभग २२ लाख मानिस संक्रमित भइसकेका छन् भने झन्डै डेढ लाख व्यक्तिको ज्यान गइसकेको छ। अनि लकडाउनका कारण अर्बाैं मानिस घरभित्रै बन्दी बनेका छन्। यो भाइरस नयाँ भएकाले यसबाट लाग्ने कोभिड-१९ रोग निको हुने औषधि/खोप अहिलेसम्म बनिसकेको छैन। यसका लागि विश्वका वैज्ञानिक अनुसन्धानरत छन्।

यसैले अहिलेका लागि यो भाइरसबाट बच्नु नै एक मात्र उपाय हो। अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार कोरोना भाइरस मुख्य गरी यसबाट संक्रमित रोगीको थुक, र्‍याल तथा खोक्दा हाछ्युँ गर्दा निस्किने छिटाबाट अर्काे व्यक्तिमा सर्छ। त्यस्तो तरल पदार्थ जब निरोगी व्यक्तिका नाक, मुख वा आँखासम्म पुग्छ, तब त्यसमा रहेका भाइरस शरीरभित्र प्रवेश गर्छन्। यस्तै हातले यस्तो भाइरस रहेका कुनै वस्तु छोइयो र त्यो हात हामीले हाम्रा नाक/मुखमा लग्यौं भने पनि कोरोना सर्ने सम्भावना हुन्छ।

यसरी सर्ने कोरोना भाइरसबाट बच्न साबुन-पानीले राम्रोसँग हात धुने तथा यो सम्भव नभए अल्कोहलयुक्त स्यानिटाइजर हातमा दल्ने उपाय प्रभावकारी मानिएको छ। यो शताब्दीकै ठूलो महाव्याधि बनेको कोरोना भाइरसले व्यक्तिगत सरसफाइमा साबुनको महत्वलाई फेरि एकपटक स्मरण गराइदिएको छ।

म सानो छँदा करिब ३०-३५ वर्ष अघिसम्म हाम्रा गाउँघरतिर साबुन लगाएर हात धुने चलनै थिएन। किनकि त्यतिबेला साबुन पनि जहाँतहीँ सजिलै पाइन्थेन। यसैले हात तथा लुगा धुन खरानी प्रयोग हुन्थ्यो। पहाडी क्षेत्रमा रिठ्ठोले काम चलाइन्थ्यो। संसारका केही ठाउँमा भने करिब ५ हजार वर्ष पहिलादेखि नै साबुन बनाउने र प्रयोग गर्ने गर्दारहेछन। सबैभन्दा पहिले करिब ४८०० वर्षअघि साबुनजस्तै पदार्थ बनाएको जस प्राचीन बेबिलोनलाई जान्छ। बेबिलोन अहिलेको इराकतिर पर्छ। पानी, क्षार र कासियाको तेलबाट साबुन बनाउने सूत्र बेबिलोनमा लेखिएको भेटिएको बताइन्छ। इजिप्टतिर पनि करिब ३५०० वर्ष पहिले साबुन बनाएको पाइन्छ।

साबुन प्रायः ठोस हुन्छ। तर अहिले झोल साबुन पनि पाइन्छ। ठोस साबुनको इतिहास लामो भए पनि झोल साबुन भने डेढ/दुई सय वर्ष अघिदेखि मात्र बनाउन सुरु गरिएको रहेछ। साबुन अहिले धेरै क्षेत्रमा प्रयोग गरिने भए पनि हामीले भने घरमा व्यक्तिगत सरसफाइका लागि मात्र प्रयोग गर्ने गरेका छाैँ।

साबुन बोसो वा तेल र क्षार मिसाएर बनाइने पदार्थ हो। जस्तोः जनावरको बोसो र खरानी मिसाएर पकाउने। त्यसैले यो बनाउन सजिलो पनि छ। हजाराैँ वर्षसम्म पनि साबुन बनाउने आधारभूत सूत्र खासै परिवर्तन भएको छैन। हामीले घरमा प्रयोग गर्ने साबुनलाई टोइलेट सोप पनि भनिन्छ। बोसो वा तेल र क्षारका प्रकारले साबुनको गुण फरक पार्छ। साबुनजस्तै सरसफाइमा प्रयोग हुने डिटरजेन्ट वा सरफ भने रसायनिक रूपमा अलि भिन्न चिज हो। साबुन अहिले संसारभरि पाइन्छ र प्रयोग हुन्छ। सरसफाइका अन्य साधनभन्दा साबुन सस्तो, सजिलै पाइने र भरपर्दो पनि छ। जीवाणुप्रतिरोधी औषधि हालेको साबुन पनि बजारमा पाइन्छ। तर यस्तो साबुनले सामान्य औषधि नहालेको साबुनले भन्दा राम्रो काम गरेको अहिलेसम्म कुनै प्रमाण पाइएकाे छैन।

कोरोना मात्रै नभएर अन्य भाइरस/जीवाणु/कीटाणुबाट बच्न पनि साबुन-पानीले हात धुनुपर्छ भन्ने अभियान नेपालमा पनि केही दशकदेखि चलिरहेकै छ। जस्तैः जुका, ब्याक्टेरिया, अन्य भाइरसबाट हुने रोगबाट बच्न पनि साबुन-पानीले हात धुन आवश्यक छ। हात सफा राख्नु भनेको जीवाणुको संक्रमणबाट जोगिने महत्वपुर्ण कदम हो। धेरै रोग, हात सफा नगरिएकै कारण सर्छन्। तर यो तथ्य डेढ सय वर्षभन्दा अघिका मान्छेलाई थाहा थिएन।

राम्रोसँग हात धुनाले रोग सर्नबाट बच्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउने जस भिएनामा काम गर्ने हंगेरीका डा. सिमेवेजलाई जान्छ। उनले यो कुरा सन् १८४६ मा पत्ता लगाएका थिए। त्यतिबेला सुत्केरीको गर्भाशयमा संक्रमण हुँदा आउने जोरो र त्यससम्बन्धी समस्याले गर्दा जन्मेका शिशु मरिरहेका थिए। त्यो बेला सर्वसाधारणका त कुरै छाडाै‌ँ, स्वास्थ्यकर्मीले समेत हात सफा नगर्दारहेछन्। एक सुत्केरीको अपरेसन गर्‍याे वा कुनै शव चिरफार गरेर अध्ययन गर्‍याे,  त्यो शवबाट बायोप्सीका लागि टिस्यु निकाल्यो, अनि त्यही हातले अर्को बिरामी हेर्‍याे वा फेरि अपरेसन गर्‍याे। यसबीच हात धुने वा सरसफाइ गर्ने चलन रहेनछ। सिमेवेजले अनुसन्धानपछि पत्ता लगाए-  डाक्टरका हात फोहोर भएकाले संक्रमण एकबाट अर्काेमा सर्ने गरेको रहेछ।

जसका कारण महिला र बालबालिका मात्रै होइन, स्वयं चिकित्सक र प्याथोलोजिस्टको पनि मृत्यु हुने गरेको रहेछ। सिमेवेजले यसरी संक्रमण हुनाको कारण फोहोरी हात हो भन्ने पत्ता लगाएपछि बल्ल हात धुने चलन सुरु भएको रहेछ। र, त्यसपछि त्यस्तो संक्रमणबाट सुत्केरीको मृत्यु हुने दर निकै घटेको रहेछ। तर अफसोच! अन्तिममा सिमेवेजको पनि त्यही रोगको संक्रमणबाट निधन भएको रहेछ।

साबुनले कसरी काम गर्छ?
पानीका साथ साबुन दल्दा यसले फोहोर पदार्थलाई घोल्छ, अनि पखाल्दा जे सफा गर्ने हो त्यहाँबाट त्यो फोहोर हटाउँछ। उदाहरणका लागि चिल्लो लागेको भाँडा- पानीले मात्रै पखाल्दा चिप्लो जाँदैन, तर साबुन वा सरफ हालेर माझ्दा सर्लक्कै सफा हुन्छ। ठीक त्यस्तै साबुन प्रयोग गरेर हात धुँदा पनि हातमा रहेका कोरोनालगायत अन्य विषाणु/जीवाणु त्यसले पखालिदिन्छ। कोरोना भाइरसका सन्दर्भमा साबुन-पानीले हात धुँदा त्यसले दुईवटा काम गर्छ: पहिले भाइरसलाई टुक्र्याइदिन्छ अथवा निष्क्रिय बनाइन्छि र त्यसपछि हातबाट पखालिदिन्छ।

साबुन-पानीले हात रगड्दा फिँज निस्किन्छ। फिँजमा ससाना फोका हुन्छन। ती फोका माइसेलका समूह हुन्। प्रत्येक माइसेल साबुनका धेरै अणु एकीकृत भएर बनेका भकुण्डोजस्तै हुन्। ती अणु चंगाजस्तो एकापट्टि टाउको र अर्कापट्टि पुच्छर हुन्छन्। टाउकाले पानीजन्य पदार्थ मन पराउँछन भने पुच्छरले तेलीय पदार्थ मन पराउँछन्। माइसेल बन्दा पुच्छर-पुच्छर नजिकै आउँछन् र गोला बनाउँछन्, जसको सतहमा पानीजन्य टाउका हुन्छन्।

कोरोना भाइरस नांगो आँखाले देख्न नसकिने एकदमै साना हुन्छन्। भाइरसको बाहिरी पत्र चिल्लो (बोसो) जस्तै लिपिडले ढाकेको हुन्छ। त्यो लिपिडभित्र भाइरसको आरएनए हुन्छ। साबुनले भाइरसको बाहिरी लिपिड आवरण पगाल्छ र भित्रको आरएनएलाई निष्क्रिय पारिदिन्छ। यसको अर्थ भाइरस मर्‍याे भन्ने हुन्छ। अथवा यसरी निष्क्रिय भाइरसले मान्छेको जिउँदो कोषलाई प्रभाव पार्न सक्दैन। साबुनले पानी र तेल मोलिक्युलबीच मध्यस्थताको काम गर्छ। एकातिर तेल अर्कातिर पानीसँग टाँसिन्छ। अब हात पखाल्दा निष्क्रिय भाइरस पनि पखालिन्छ।

साबुन-पानीले हात धुँदा मज्जाले फिँज निस्किने गरेर हातका सबैतिर (अगाडि, पछाडि, कुना, काप्चा) साबुन पुग्ने गरेर हात आपसमा रगड्नुपर्छ। करिब २० सेकेन्डसम्म हात मिचीमिची धुन सुझाइएको छ। यसरी धुँदा सकेसम्म धारोको पानी हुनुपर्छ। धोइसकेपछि हात सुकाउनु वा सुक्खा पार्नुपर्छ। सबैसँग सफा टाबेल वा पेपर टाबेल नहुन सक्छ, त्यस्तो अवस्थामा धोएको हात माथि फर्काएर घाममा सुकाउनुपर्छ।

नेपाललगायत धेरै देशमा साबुन-पानीले हात धुने सुविधा छैन। बानी पनि छैन। कसरी साबुन-पानीले राम्रोसँग हात धुने, जानकारी पनि छैन। अझै पनि राम्रोसँग हात यसरी धुने भनेर सिकाउन विभिन्न प्रचार-सामग्री बाँडिएको देखिन्छ। अहिले कोरोनाको संक्रमणबाट जोगिन हात धोऊ, हात धोऊ र फेरि हात धोऊ भनेर जनस्वास्थ्य-विज्ञ भनिरहेकै छन्। दिनको धेरैपटक साबुन-पानीले हात धुन पट्यारलाग्दो त हुन्छ नै। तर पनि धुन त छाड्न भएन।

उसो भए कतिपटक वा कतिबेला धुने त हात? खाना खानुअघि र खाइसकेपछि, शौचालय गइसकेपछि साबुन–पानीले हात धुने भन्ने कुरा/दृश्य रेडियो/टेलिभिजनबाट हामीले लामो समयदेखि सुनिराखेकै र हेरिराखेकै हो। यो त जहिले पनि गर्नैपर्छ। तर अहिले कोरोना भाइरस संक्रमण हुने जोखिमको समयमा अलि धेरैपटक हात धुन जरुरी छ। हामीले कोरोनाबाट दूषित कुनै वस्तु छुन्छौं, अनि त्यो हात नधोईकन नाक/मुखमा लाँदा भाइरस सर्ने सम्भावना बढी हुने भएकाले हरेक शंकास्पद वस्तु छोएपछि हात धुँदा राम्रो। त्यसपछि खाना बनाउनुअघि र पछि, बिरामीलाई हेरचाह गर्नुअघि र पछि, खोक्दा, हाच्छ्युँ गर्दा, घरपालुवा वा अन्य जनावर रेखदेख गरेपछि पनि साबुन-पानीले हात धुन आवश्यक छ।

साबुन कि स्यानिटाइजर?
अहिले साबुन सँगसँगै स्यानिटाइजरको प्रयोग पनि ह्वात्तै बढेको छ। बजारमा यसको अभाव भइरहेको खबर आएको छ। योसँगै अहिले स्थानीय तहमै आआफैं स्यानिटाइजर बनाउने लहर चलेको छ। नास्टसँगको सहकार्यमा ललितपुर उपमहानगरपालिकाले वडावडामा स्यानिटाइजर बनाउने तालिम नै दिएको छ। अझै घरमै बनाइने रक्सीबाटै स्यानिटाइजर बनाउने भनेपछि गुणस्तर कायम हुँदैन कि भनेर त्यसको आलोचना पनि भएको छ। औषधि व्यवस्था विभागले यसअघि नबताएको स्यानिटाइजरको गुणस्तर अहिले यही समयमै जारी गरेको छ।

स्यानिटाइजर दुई किसिमका हुन्छन्ः एउटा, अल्कोहल र अर्को एन्टिबायोटिकबाट बनेको। कोरोना भाइरसका लागि अल्कोहलवाला स्यानिटाइजर प्रयोग गर्न भनिएको छ। यस्तो स्यानिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ। अन्यथा, स्यानिटाइजरले भाइरस मार्न सक्दैन। अल्कोहल इथाइल वा आइसोप्रोपाइल हुनुपर्छ।

अल्कोहलयुक्त स्यानिटाइजरले पनि कोरोनालगायतका भाइरस र अन्य ब्याक्टेरियालाई निष्क्रिय पार्छ। तर सबै किसिमका जीवाणुमा अल्कोहलले काम गर्दैन। फोहोर हात/छालामा अल्कोहलयुक्त स्यानिटाइजरले काम गर्दैन। अल्कोहलले जीवाणु मारे पनि हातबाट नपखालिने भएकाले पहिलो प्राथमिकता साबुन-पानीले हात धुन नै भनिएको हो। तर हरेकपटक त्यसो गर्न सम्भव नहुने अवस्थामा स्यानिटाइजर प्रयोग गर्न उपयुक्त हुन्छ। हाते स्यानिटाइजरलाई साबुन-पानीको ब्याकअपका रूपमा राखिएको छ। जतिबेला साबुन-पानीले हात धुन मिल्दैन, त्यतिबेला स्यानिटाइजर प्रयोग गर्ने। स्यानिटाइजर खाँदा अझ प्रभावकारी हुन्छ भन्ने भ्रम फैलिएको देखियो। योचाहिँ सत्य होइन।

अन्त्यमा,
अहिलेको कोरोना महामारीबाट बच्न पटकपटक साबुन-पानीले हात धोऔं। हात धुनाले हातमा भएका फोहोर, माटो र सूक्ष्म जीवाणु सफा गर्ने भएकाले अन्य रोग जस्तैः जुका, इन्फ्लुएन्जा, पखाला, हैजाबाट पनि बच्न सहयोग गर्छ। सफा साबुन-पानीले हात धुँदैमा रोकिने रोगका कारण अझै हरेक वर्ष लाखौ मान्छेको मृत्यु भइरहेको छ। हाम्रोजस्तै अविकसित देशमा निमोनिया र पखालाले विश्वभर बर्सेनि ३५ लाख बालबालिकाको ज्यान जान्छ।

व्यक्तिगत सरसफाइमा ध्यान दिँदा औषधि र खोपबाट भन्दा प्रभावकारी तरिकाले यस्ता रोगबाट बच्न सकिन्छ। विडम्बना! विश्वमा झन्डै ३ अर्ब मानिससँग हात धुन साबुन-पानी छैन। विश्व स्वास्थ संगठनको तथ्यांकअनुसार नेपालमा ४८ प्रतिशत नागरिकसँग मात्रै साबुन-पानीले हात धुने सुविधा छ भने यस्तो सुविधा भएकामा पनि नियमित हात धुने बानी अझै विकास भइसकेको छैन। आशा गरौं- अहिलेको कोरोना भाइरसका कारण बढेको हात धुने अभियान हाम्रो बानीका रूपमा विकास हुनेछ र फोहोर हातकै कारण लाग्ने अनेक रोगबाट बच्न मद्दत मिल्नेछ।

(रसायनशास्त्री डा. गिरी काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .