ad ad

ब्लग


सन्दीप लामिछाने प्रकरण : हामीले हतार पो गर्‍यौं कि?

सन्दीप लामिछाने प्रकरण : हामीले हतार पो गर्‍यौं कि?

राधिका अधिकारी
भदौ २३, २०७९ बिहिबार ११:५१, काठमाडौँ

‘होटलभित्र राजीखुसी पसेको जोडी, बाहिर निस्कँदा केटी बलात्कृत, केटा बलात्कारी, कसरी! फ्यान हुँ भन्दैमा सँगै घुम्न किन जानु? गइहाले पनि रातिसम्म किन बस्नु? बसिहाले पनि एउटै कोठामा बस्न किन राजी भएको? त्यही दिन प्रहरीलाई किन उजुरी नदिएको? १४\१५ दिनसम्म किन चुप लागेर बसेको? मन मिले चमत्कार, नमिले बलात्कार!’ 

सामाजिक सञ्जालमा पुनः प्रश्न लिएर उपस्थित भएका छन् मानिसहरू। यी प्रश्नकर्ता समाज रुपान्तरणका लागि सडकमा निस्किएको जुलुसमा भेटिएका अनुहार हुन्।

मलाई थाहा छैन– यी प्रश्न लेख्दै गर्दा काँपे कि काँपेनन् होला उनीहरूका हात? आँखामा आएर लाज बस्यो कि बसेन होला? हिजो आफैंले सडकमा लगाउँदै हिँडेको समतामूलक समाजको नाराले गिज्यायो/गिज्याएन होला उनीहरूलाई?

हामीले यी र यस्तै प्रश्नमा बहस गरेको धेरै भएको छैन। गत वर्षको अन्त्यतिर अभिनेता पल शाहविरुद्ध नाबालिग बलात्कारको अभियोग लाग्दा यस्तै विषयमा बहस गरेका थियौं। त्यतिबेला प्रश्न गर्ने कति बहिष्कारमा परे। कति अहिले पनि औंला उठाइरहेका छन्। भलै पलले जर्बजस्ती करणी मुद्दामा सफाइ पाए पनि बाल यौन दुरुपयोग गरेको ठहरसहित अदालतले साढे २ वर्षको कैद सजाय सुनाएको छ। 

यता पलले सफाइ पाएकै दिन करियरको उत्कर्षमा पुगेका क्रिकेटर सन्दीप लामिछानेलाई उस्तै प्रकृतिको आरोप लागेको छ। उनीविरुद्ध १७ वर्षीया किशोरीले जबर्जस्ती करणी गरेको आरोपसहित गौशाला प्रहरीमा जाहेरी दिएकी छन्। यो जाहेरी गोप्य राख्नु प्रहरीले पनि आवश्यक ठानेन। सञ्जाल प्रयोगकर्ता त हरदम मसलाको खोजीमा हुन्छन्। मंगलबार साँझ अबेर सार्वजनिक भएको यो खबर मध्यरातिसम्म ‘भाइरल’ भयो। 

अहिले सामाजिक सञ्जाल २ कित्तामा विभाजन भएको छ। एकथरी जाहेरी दिने किशोरीलाई हिलो छ्यापिरहेका छन् भने अर्काथरी सन्दीपलाई बलात्कारी करार गर्न जोडबल लगाइरहेका छन्।

आरोप लाग्नु नै कोही अपराधी ठहरिनु होइन। तत्काल बोल्न नसक्नुलाई मन मिलेको भनेर परिभाषा गर्न पनि सकिँदैन। मन नै मिले पनि नाबालिगसँगको यौन सम्बन्धलाई कानुनले बलात्कार ठान्छ र प्रमाणित भए सजाय दिन्छ भन्ने कुरासँग ७ महिनायता यो समाज राम्रैसँग जानकार भइसकेको छ। 

सञ्जालमा मलिन स्वरमा उठेको एउटा प्रश्न भने जायज लाग्छ। उजुरी पर्नेबित्तिकै आरोपितको नाम किन सार्वजनिक गरेको? पुरुषको चाहिँ चरित्र हत्या हुँदैन? योचाहिँ सोचनीय पक्ष हुन सक्छ। सन्दीप यतिबेला देशमा छैनन्। २१/२२ वर्षको अपरिपक्व उमेरमा हिँडिरहेका उनलाई जिन्दगीमा गल्ती हुन्छ, त्यसबमोजिम सामाजिक/कानुनी सजाय भोग्नुपर्छ तर जीवनसँग भाग्नु हुँदैन भनेर ढाडस दिने आफन्त छैनन्। उनीविरुद्ध जाहेरी परेको दिन उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका छन्। सञ्जालमा उनीविरुद्ध मुर्दावादका नारा लाग्नुअघि प्रहरीले उनलाई खेल छाडेर देश फर्काएको भए हुने। अनुसन्धानको प्रक्रिया नै सुरु नगरी उनको नाम सार्वजनिक नगरेको भए हुने। यो मेरो मनमा मात्रै लागेको कुरा होइन। धेरैलाई यस्तै लागिरहेको होला।

नारायण गाउँलेले प्रश्न गरेका छन्,

‘प्रहरीमा पीडितले दिएको उजुरी र बयान तत्काल जस्ताको त्यस्तै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने अभ्यास नेपालबाहेक अन्य कुन कुन देशमा होला? प्रहरीले प्रारम्भिक अनुसन्धान पनि सकेको छैन, प्रहरीले नै आरोप, तिथिमिति, समय, नामथर, लोकेसन, सम्भावित साक्षी, मेडिकल चेकअप गरेको ठाउँ लगायतका आफूसँग भएका सबै सूचना अनुसन्धानअघि नै ठूलै उपलब्धि गरेझैँ यसरी सार्वजनिक गरेपछि सोसल मिडियाले मुद्दाको बहस गरेर पक्ष–विपक्षमा फैसलासमेत सुनाउनु सामान्य नै भयो। यस्तो गम्भीर प्रकृतिको मुद्दामा गोपनीयता भन्ने केही हुँदैन? फरेन्सिक होस् या साक्षीगत, अति सानो प्रमाण पनि मुद्दाका लागि निर्णायक बन्न सक्ने अवस्थामा सबै कुरा यसरी विज्ञप्तिमार्फत सार्वजनिक गर्दा प्रमाण हेरफेर या नष्ट हुने अथवा मुद्दाको दिशा परिवर्तन हुने सम्भावना हुँदैन? पीडक भनिएका व्यक्ति देशबाहिर रहेको भन्ने बुझियो। यस्तो अवस्थामा देशबाहिरै लुकेर केही समय न्यायिक प्रक्रियामा विलम्ब गराउने काम भयो भने त्यसको जिम्मा कसले लिने? अझ न्यायिक निकायबाट प्रमाणित नहुँदासम्म त आरोपीको पनि डिग्निटी रक्षा गर्ने काम स्वयं प्रहरीकै होइन? यदि आरोप प्रमाणित भएन या गलत साबित भयो भने सम्बन्धित व्यक्तिको सामाजिक जीवनमा पुग्ने अपूरणीय क्षतिको जिम्मा कसले लिने? र, यदि सामाजिक–आर्थिक या शक्तिको प्रलोभन अथवा डरमा प्रमाणहरू हेरफेर गरेर मुद्दा कमजोर बनाइयो र पीडक उम्किने अवस्था आयो भने प्रहरीले जिम्मा लिने कि नलिने?’ 

गाउँलेले उठाएका प्रश्नले मलाई निक्कै बिथोलिरहेको छ। सायद सबै पक्षबाट हतारो पो भयो कि?

अझ अचम्मलाग्दो कुरा त के छ भने कतिपयले उनका वृद्ध बुवालाई ‘तपाईंको छोराले त बालिका बलात्कार गरे छ नि? तपाईंको छोरो त्यस्तै थियो?’ भनेर सोध्न भ्याइसके। नराम्रो कुराले सबैलाई मन दुख्छ। म खेलकुद र सन्दीपसँग सरोकारै नराख्ने मान्छेको मन त दुख्यो। सञ्जालमा छरपस्ट उनीविरुद्धका अभिव्यक्ति पढ्दै गर्दा उनले सानै उमेरमा नापेको उचाइ आँखाअगाडि झल्झल्ती आइरह्यो। उनका आमा–बुवामा झन् के बितेको थियो होला? हामीले सोच्यौं त? कि हामी साँच्चै संवेदनाहीन भइसक्यौं? 

कुनै पनि विषयमा बहस गर्नुअघि पीडक र पीडित दुवैको कोणबाट हेरौं। आरोप प्रमाणित हुनुअगावै कसैलाई अपराध करार गर्न हतार नगरौं। अनुसन्धानका क्रममा हामीले अपराधी करार गरेको व्यक्ति निर्दोष साबित भयो भने उसको करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको क्षतिपूर्ति हुनै सक्दैन। देशमा कानुन छ, अदालत छ, अनुसन्धान गर्ने र प्रमाण खोज्ने प्रशासन छ, दोषी ठहर भए उनले कानुनी सजाय पाइहाल्छन्। 

पीडितका बारेमा विष वमन गर्नुअघि झन् धेरै सोच्न जरुरी छ। समयमा बोलिन भनेर हुर्मत लिने काम नगरौं। एउटी महिलाले आफूलाई गरिएको बलात्कारबारे बोल्ने हिम्मत जुटाउन कुन तहको दबाब भोग्नुपर्छ, त्यस्तो नपरेका हामीले महसुस गर्नै सक्दैनौं। पहिलाे कुरा त आज पनि हाम्रो समाज छोरीचेली बलात्कृत भए भने उनलाई बलात्कारीकै जिम्मा लगाएर इज्जत जोगाउन चाहन्छ।

अर्कातिर जे भयो भयो, चुप लागेर बस, यो कुरा बाहिर आयो भने हाम्रो इज्जत माटोमा मिल्छ भनेर चुप बस्न दबाव दिने जमात पनि ठूलै छ। निकै थोरै छन्– पीडितका पक्षमा उभिएर तिमीलाई भएको अन्यायको कानुनी उपचार खोज्नुपर्छ भनेर सहायता दिने। त्यसैले उसले कहिले बोली भन्ने कुरामा बहस नगरौं। उसको हिम्मतलाई सम्मान गरौं, प्रोत्साहन गरौं र हौसला दिऊँ। सोचौं– भोलि मेरा दिदी, बहिनी, छोरी, भान्जीविरुद्ध त्यस्तै अपराध भयो भने? 

पीडितको पहिचान खोजी खोजी सार्वजनिक नगरौं। कुनै पुरुषविरुद्ध महिलाले यौनसम्बन्धी अपराधमा जाहेरी दिएको खण्डमा उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ। यो प्रावधानको सम्मान गरौं। नेपालजस्तो देशमा यो प्रावधान राखिनुको पनि अर्थ छ। बलात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिचकिचाउन् र उनीहरूले समाजमा बलात्कारपछि पनि इज्जतका साथ बाँच्न सकुन् भनेर यो प्रावधान राखिएको हो।

हाम्रो सामाजिक चेतनलाई हेरौं, अनि पीडितको पहिचान नखोजौं। भोलि सन्दीपहरू दोषी ठहर भएको खण्डमा पनि तपाईंको चेतनाले पीडितलाई बहिष्कार गर्न छाड्दैन। उसले जिन्दगीभर त्यही दाग लिएर बाँच्नुपर्छ। हाम्रो समाज बरु अर्काकी श्रीमती उठाउन तयार हुन्छ, बलात्कृत युवतीलाई अपनाउन सक्दैन। अब भन्नुस्– १६÷१७ वर्षको उमेरमा बलात्कारमा परेकी किशोरीले उजुरी दिएर त्यो खुलेको पहिचानको चोट कहिलेसम्म बोकेर हिँड्ने? अहिले जाहेरी दिने किशोरीको पहिचान खोजिरहनुभएका तपाईंमध्ये कति तयार हुनुहुन्छ भोलि उनलाई अपनाउन? 

बरु आरोप प्रमाणित नहुँदासम्म पीडकको नाम पनि गोप्य राखिनुपर्छ भन्ने कोणबाट बहस गरौं। पीडक र पीडित दुवैले बाँच्न सक्ने समाजको निर्माण गरौं।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .