जीवनमा कहिलेकाहीँ आउँछन् स्मरणीय पल। बिरलै हुन्छन् आनन्दमय यात्रा। निरन्तरको दिनचर्यालाई थाँती राखेर स्वतन्त्र उडानमा निस्किएझैं लाग्छ, यात्राको रमाइलो। मेरा लागि विशेष अवसर थियो– ‘आँपस्वारा काव्ययात्रा–२०७९’। पहिलोपटक लेखक, पत्रकारसँग यात्रामा निस्किँदै थिएँ। काठमाडौंमा पनि कमै मात्र पुग्छु साहित्यिक कार्यक्रममा। उतिसारो साहित्यकर्मीसँग चिनजान थिएन। केही समयअघि मेरो उपन्यास ‘छाइल’ सार्वजनिक भएपछि भने केही साहित्यकर्मीसँग चिनजान बढेको छ।
त्यसैले पनि म उत्साहित थिएँ। बर्खा सुरु भइसकेको थियो। असार १४ गते राति पानी पर्न थाल्यो। असार १५ को बिहानीसम्म झरी परिरह्यो। पानी रोकिने कुनै संकेत थिएन। केही दिनअघि अमृत भादगाउँले दाइले फोन गरेर भन्नुभएको थियो, ‘तीन दिनको आँपस्वारा काव्ययात्रा हुँदै छ, मनस्थिति बनाइराख्नू, जानुपर्छ।’
दिन तय भइसकेको थियो। त्यसैले हिँड्नु थियो जसरी पनि।
तनहुँको दमौली बजारनजिकै रहेको व्यास नगरपालिका–१३ मा अवस्थित एउटा गाउँ– आँपस्वारा। ‘आँपस्वारा काव्ययात्रा–२०७९’ पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको थियो। आँपस्वारामा दलित समुदायले सामुदायिक होमस्टे सञ्चालन गरेका रहेछन्। त्यही होमस्टेमा साहित्यकार र पत्रकारको टोली ३ दिनका लागि जाँदै थियो।
विभेदले जकडिएको समाजमा होमस्टे चलाइरहेका गाउँलेसँगको साक्षात्कार कौतुहलमय थियो। मनभरि घुमिरह्यो कुनै बेला पसलमा चिया पिएको गिलास आफैंले धोएर जानुपर्ने मान्छेको दारुण दृश्य। यदाकदा अझै पनि त्यो विभेद छँदै छ।
कस्तो होला आँपस्वारा गाउँ? कस्ता होलान् होमस्टे चलाइरहेका मानिसहरू? अनेक प्रश्न दिमागमा आइरहेका थिए।
पानीको पर्वाह नगरी बानेश्वर चोक पुग्दा बिहानको साढे ६ पार भइसकेको थियो। केही बेर सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवश दाइलाई पर्खिएँ। छिनमै टाढैबाट मतिर आइरहेका भादगाउँले देखिनुभयो। हेमन्त दाइसँगै केशव सिग्देल पनि आइपुग्नुभयो।
काठमाडौंका नदी र खोलामा पानीको भेल उर्लिरहेको थियो। पहाडहरू कुहिरोसँग लुकामारी खेल्दै थिए। हामी चारैजना सोह्रखुट्टेतिर लाग्यौँ। त्यहाँबाट तनहुँका लागि बस चढ्नुपर्ने थियो। सोह्रखुट्टेमा केही सहयात्रीसँग भेट भयो।
बस गुड्न थाल्यो। पानी घट्दै गयो। थानकोट पुगिसक्दा हाम्रो यात्राका सबै जना बस चढिसकेका थियौं। कुहिरो जंगलमा डुलिरहेको थियो। मेघका थोपा बसको वाइपरमा सलबलाउँदै थिए।
यसरी एउटा रोमाञ्चक यात्रा सुरु भयो।
बाटामा रोपाइँ गर्न जाने सहरिया मान्छेहरू देखिन्थे। सवारीसाधनमै रोपाइँका ब्यानर टाँगेका थिए। एक दिनका लागि हिलो खेल्न जानेहरूको निकै तामझाम देखिन्थ्यो। मैले गाउँको रोपाइँ सम्झेँ। सुदूरपश्चिमका धेरै गाउँमा ढोलक बजाउँदै, चाँचरी गाउँदै रोपाइँ गर्ने चलन छ। त्यो चलन मात्र नभएर रोपाइँले बोकेको संस्कृतिको अभिन्न पाटो पनि हो। कहीँकतै असारे गीत गाउँदै रोपाइँ गरिरहेकाहरू देखिन्छन् कि भनेर हेरिरहेँ बसको झ्यालबाट। रोपाइँका दृश्य त देखियो तर कतै देखिएन त्यो दृश्य।
अहिलेका मान्छे संस्कृति भुलेर तकभडकको जिन्दगी अँगाल्न थालेका छन्। सरकारी रोपाइँ गर्नेहरूको रवाफ बेग्लै हुन्छ। वास्तविक किसानहरू सरकारको नजरमा मुस्किलले पर्छन्। योजना तर्जुमा गर्ने नेतासँग किसानका समस्या देख्ने चस्मा छैन।
हाम्रो यात्रा अघि बढिरहेको थियो। बस गुडिरहेको थियो। विभिन्न किस्सामा बाटाभरि ख्यालठट्टा र रमाइलो हुँदै थियो। चितवनबाट आउनुभएका कवि भूपिन मुग्लिनबाट हाम्रो समूहमा थपिनु भयो। हामी काठमाडौंबाट १६ जना बसमा यात्रारत थियौँ। अभय श्रेष्ठ दाइले विभिन्न प्रसंगमा कुराकानी अगाडि बढाइरहनु भयो। हाँसो र ठट्टाले बाटो कटेको पत्तै पाइएन।
मध्यदिनपछि हामी दमौली ओर्लियौँ। हामी चढेको बस पोखरातिर दगुर्याे। दमौलीमा गीतकार सागर उदास हामीलाई पर्खेर बसिरहनुभएको थियो। उहाँले भोर्लेटार चोकमा हाम्रो स्वागत गर्नुभयो।
नामको पछाडि ‘उदास’ भए पनि उदार मनका सागर दाइको आतिथ्य सम्झिनलायक थियो। पोखराबाट आउनुभएका लेखकहरू पनि दमौलीमै भेटिनु भयो।
नेपाली साहित्यका आदिकवि भानुभक्तको जन्मथलो पनि तनहुँ हो। कहीँकतै भानुका पदचाप पनि त्यहीँ थिए होलान् बाटाहरूमा। लोभ्याइरहने डाँडा, थुम्का र हरिया वनले तनहुँको प्राकृतिक सुन्दरतालाई अझै उचाइमा पुर्याएको देखिन्थ्यो। आँपस्वारा गाउँ दमौली बजारबाट ६ किमि टाढा थियो। आँपस्वारा जाने बस आइपुगेको थिएन। हामी भने पवित्र भूमि अर्थात् महर्षि वेदव्यासको जन्मथलो घुम्न निस्कियौं।
सेती र मादीको संगम नजिकै रहेछ व्यास गुफा। गुफामा गणेश र व्यासका मूर्ति छन्। व्यासको जन्मकथा निकै रोचक छ। सेती र मादीको संगममा व्यासले वेद, महाभारतलगायत ग्रन्थ रचना गरेको भनाइ छ। पराशर धाममा घुम्दै गर्दा सेती र मादीको दोभानमा कवि लेखकहरू प्रसंगवश मच्छेगन्धा र परासर ऋषिको प्रेम प्रसंगमा गफिए।
सेती उर्लिएको थियो। मादी पनि के कम, उर्लिएकै थियो। हामी ती दृश्य आँखामा साँचेर मुख्य गन्तव्य आँपस्वारातिर लाग्यौं।
केही बेरको यात्रापछि मकैका फाँट आँखामा सजिए। आसपासका पहाडमा कुहिरो बरालिँदै थियो। त्यहाँबाट मानहुँकोट पनि देखिँदै थियो। हिमाल भने कुहिरोको घुम्टी भित्र लुकिरहेका थिए। बर्खामास भएकाले हिमालको मनोरम दृश्य हेर्न चाहिँ पाइएन।
हामी गाउँमा पुग्दा आँपको चौतारोमा अनुहारभरि खुसी थुपारेर फूलमालाका साथमा चिटिक्क परेका थिए महिलाहरू। केही पुरुष पनि पाहुनाको स्वागतका लागि व्यस्त थिए। चाडपर्व आएझैँ खुसी देखिन्थे बच्चाहरू।
विभेदलाई चुनौती दिनु एकातिर थियो भने अर्कातिर होमस्टे सञ्चालनका चुनौती। हाम्रो समाजमा देउताहरू समेत ठूलो भनिएका जातिका निजी भइदिन्छन्। दलितले मन्दिरमा गएर भगवानलाई श्रद्धा अर्पण गर्नसम्म पाउँदैनन्। त्यो दलनको पीडा आँपस्वारावासीसँग पनि छ।
गाउँमा होमस्टे सञ्चालन गर्नु मात्र संर्घष होइन, आफू पनि अरूसरह मानव भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज हो। जातीय विभेदविरुद्धको रचनात्मक सन्देश।
स्थापनाकालमा अनेकौं आरोप खेप्नुपरेछ उनीहरूले। कसैकसैले त धर्म परिवर्तनका लागि होमस्टे सञ्चान गरे भन्ने आरोपसम्म लगाउन भ्याएछन्। ती आरोपको उनीहरूले वास्ता गरेनन्। अघि बढिरहे। व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्न थाल्यो। हयान्ड्स अन इन्स्टिच्युटको पहलमा विदेशी पर्यटक आँपस्वारामा आउन थाले।
उनीहरूको मिहिनेत र समाज रुपान्तरणको अठोटका सामु विरोध गर्नेहरूको केही लागेन।
आँपस्वारा साँच्चै रमाइलो छ। गाउँको काखबाट नदी बग्छन्। आँगनमा बिस्कुन फिँजाएझै सुन्दर देखिन्छ– दमौली सहर। गाउँलेको बोली मीठो छ। घरहरू भने छरिएका छन्।
हामी गाउँमा पुग्दा बारीमा मकै छिप्पिँदै थियो। लटरम्म मकै फलेका। माटोले पोतिएका घरको भुइँ चिटिक्क परेको देखिन्थ्यो। आँपस्वारावासी पाहुनाको स्वागतमा प्रफुल्लित देखिन्थे।
गोपाल श्रेष्ठ दाइ र म विष्णु दिदीको घरमा बास बस्ने भयौँ। गोपाल दाइको र मेरो पहिलो भेट यही यात्रामा भएको थियो। कम बोल्ने दाइ मिजासिलो हुनुहुन्छ। उहाँ त नेपालका धेरैजसो पर्यटकीय स्थलमा साइकल चढेरै पुग्नुभएको रहेछ!
साँझ हामीले हाम्री घरबेटीसँग कुरा गर्यौं। यहाँका अधिकतर पुरुष रोजगारीका लागि भारतको हैदराबाद जाँदा रहेछन्। कोही अन्य मुलुकमा पनि पुग्छन्। गाउँमा महिलाकै उपस्थिति बढी देखिन्थ्यो। होमस्टे अगाडि बढाउन पुरुषभन्दा बढी महिलाको योगदान छ।
यात्राको दोस्रो बिहान हामी थानीमाई मन्दिर घुम्न निस्क्यिौँ। हामीलाई आँपस्वारा सामुदायिक दलित होमस्टेका सचिव मनोज विकले घुमाउनुभयो। मौसम र माहोल दुवै गज्जब थियो। गाउँको पर्यावरणबाट धेरै मान्छे बसाइँ सरिसकेका रहेछन भन्ने झल्को दिन्थ्यो।
दिउँसो विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू सम्मानित हुँदै थिए। आआफ्ना होमस्टेमा खाना खाएर हामी त्यही आँपको चौतारीमा भेला भयौँ।
जहाँ बसेर मन भएका मान्छेसँग जिन्दगीका संवाद हुन्छन्। रूखका फरफराइरहने पात मीठो ताली बजाउँछन्। असली मञ्च भनेका गाउँका चौतारी रहेछन्।
त्यहाँ कुनै भव्य मञ्च थिएन। ठूलाबडाले बस्नेजस्ता सोफा थिएनन्। आँपकै चौतारीमा मञ्च तयार भयो। त्यही मञ्चबाट कला र संस्कृतिमा योगदान पुर्याउने ४ जना भुइँमान्छेलाई कन्सेप्ट नेपालले पुरस्कार दियो।
माटोका गहना बनाउने मेनुका विक, मादलवादक सुन्दर विक, आरनको काम गर्ने दिलबहादुर विक र डोकोडालो बुन्ने तुलसीबहादुर मगरलाई जनही १० हजार रुपैयाँसहित कन्सेप्ट नेपालले सम्मान गर्यो। उनीहरू हर्षित बने।
हाम्रो टोलीका अभिभावक जस्तै हुनुहुन्थ्यो– ध्रुव मधिकर्मी दाइ। उहाँ त पहिलोपटक होमस्टेमा आउनु भएको रहेछ। धेरै देशका पर्यटक पुगिसकेको आँपस्वाराको बसाइमा हामीले पनि फरक र स्मरणीय अनुभूति सँगाल्ने अवसर पायौँ। होमस्टेमा केही पुग नपुग भए पनि अझै बढी व्यवस्थित बनाउनेमा चिन्तित देखिन्थे आँपस्वारावासी।
हाम्रो फर्किने समय भइसकेको थियो। जाँदा अपरिचित लागेका कवि लेखकसँग फर्किंदा सद्भाव र आत्मीयता बढीसकेको थियो। धेरै छोटो लाग्यो– हामी भेटिएको समय र होमस्टेको बसाइ।
आँपस्वारावासीको प्रफुल्ल मुस्कान र मायालु हेराइ हृदयमा बसिसकेको थियो। ग्रामीण जीवनशैलीको मीठो झल्को मनभरि सजाएर हामीले आँपस्वारालाई बिदाइका हात हल्लायौँ।
Shares
प्रतिक्रिया