ब्लग


दोस्रोपटक अफगानिस्तान छाड्दै गर्दा देखेँ– सारा मानिस भाग्न लाइनमा छन्

दोस्रोपटक अफगानिस्तान छाड्दै गर्दा देखेँ– सारा मानिस भाग्न लाइनमा छन्

सन् २००१ ताका म पेशावर (पाकिस्तान) मा थिएँ। मेरो जिम्मेवारी त्यहाँस्थित पर्ल कन्टिनेन्टल होटलमा गलैंचा बिक्री गर्ने ‘सेल्सम्यान’का रूपमा थियो। 

त्यो दिन पनि अन्य दिनजस्तै सामान्य नै थियो, मेरा लागि।   

म आफ्नो काम गर्दै थिएँ। अचानक मेरा आँखा टेलिभिजनमा केन्द्रित भए। त्यहाँ प्रसारण भइरहेको एउटा दृश्यले मेरो ध्यान तान्यो। जुन कहिल्यै भुल्न सक्दिनँ। 

मैले टेलिभिजनमा ‘वर्ल्ड ट्रेड सेन्टर’मा विमानहरू ठोक्काइएको दृश्य देखें। क्षणभरमै फेरि अर्काे विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्किन पुग्यो।

यो घटनापछि पूरा विश्वको ध्यान अफगानिस्तानले तान्न थाल्यो। अफगानिस्तानमा तालिबानको शासन थियो, त्यो बेला। तालिबानलाई आरोप लाग्यो– यी हमलाका आशंकित ओसामा बिन लादेन र उनी नेतृत्वको संगठन अलकायदालाई अफगानिस्तानको तालिबानी शासनले संरक्षण दिएर राखेको छ।

अर्काे दिनदेखि होटलको लबीमा विदेशी मिडियामा कार्यरत सयौं सञ्चारकर्मी जम्मा हुन थाले। तीमध्ये केही पत्रकार नजिकैको सीमा पार गरी अफगानिस्तान प्रवेश गर्न चाहन्थे। उनीहरूलाई अंग्रेजी अनुवादक चाहिएको थियो। 

अवसर गजबको थियो। मैले उनीहरूको प्रस्ताव स्वीकार गरें। त्यसयता मेरो त्यो यात्रा अहिले पनि जारी छ।

काबुल : पीडाका ती दिन
सन् १९९० मा सोभियत संघका सेनाले अफगानिस्तान छाडेलगत्तै त्यहाँ गृहयुद्ध सुरु भयो। त्यही कारण हाम्रो परिवारले पनि देश छाड्यो। यसैकारण म बाल्यकालदेखि नै अफगानिस्तान बाहिर रहन बाध्य भएँ।  

केही वर्षपछि फर्केर म जब काबुल पुगें, त्यहाँका बर्बादीको दृश्यहरूले मलाई विचलित र स्तब्ध तुल्याए। मैले पहिले देखेका ठूलठूला भवन ध्वस्त भएका थिए। ती भवनका भग्नाशेष यत्रतत्र देखिन्थे। भवनमा प्रयोग गरिएका फलाम खिया लागेर कबाडी बनिसकेका थिए।

काबुलका चारैतिर गरिबी र भय व्याप्त थियो। 

सुरुमा म अबुधाबी टेलिभिजनमा काम गर्थें। म अन्य पत्रकारका साथमा इन्टर कन्टिनेन्टल होटलमा बसेको थिएँ। हरेक बिहान मेरो निद्रा खुल्ने कारण हुन्थ्यो–  डर। किनभने काबुल अमेरिकाको हवाई हमलाको केन्द्र बनेको थियो। 

अलकायदा र तालिबानका लडाकु हामी बसेको होटलमा नियमित रूपमा आउने–जाने गर्थे। उनीहरूलाई नजिकैको गल्लीमा डुलिरहेको पनि देख्थ्यौं। काबुलमा रातभर विस्फोटका आवाज सुनिन्थे। 

अर्काेपटक विस्फोट हुने ठाउँ हामी बसेको होटल पो हुने हो कि भन्ने डरले मलाई अत्याइरहेको हुन्थ्यो। त्यस्तो नहोस् भनेर कामना गरिरहन्थें।

नयाँ अफगानिस्तान  
अमेरिकी हमला सुरु हुन थालेपछि सन् २००१ डिसेम्बरको एक बिहान तालिबानले काबुल छाडे। त्यसपछि काबुलमा देखिने दृश्य निकै रोचक थिए।   

दारी काट्न नाइ पसलहरूमा काबुलवासीको भीड देखिन थाल्यो। विस्फोटले विरानो र सुनसान हुन पुगेका काबुलका सडक–गल्ली सुरिला अफगानी गीत–संगीतले गुन्जिन थाले। 

अहिले सम्झिँदा लाग्छ– तालिबानहरूले काबुल छाडेको त्यो बिहानमा फेरि अफगानिस्तानको उदय भएको थियो। 

विकसित नयाँ परिस्थितिसँगै मैले अफगान जनताको जीवनलाई निकै नजिक र गहिराइमा पुगेर नियाल्न पाएँ। मैले तोराबोरा र शाइकोटको लडाइँको रिपोर्टिङ त गरें नै, तालिबानको पराजयसमेत देखें। आफ्नो हारपछि सुरक्षाका लागि तालिबानका लडाकु ग्रामीण क्षेत्रमा लुक्न गए, शीर्ष नेता पाकिस्तान भागे । 

अहिले फर्केर ती घटनाक्रम अध्ययन गर्दा लाग्छ– अफगानिस्तानमा दिगो शान्ति कायम गर्न त्यो बेला सुनौलो अवसर प्राप्त भएको थियो, तर त्यो हाम्रो हातबाट फुत्कियो। 

तालिबान पराजित भएको थियो। त्यो मौका सदुपयोग गरेर अमेरिका तालिबानसँग शान्ति सम्झौताका लागि बस्नपर्थ्यो। किनभने तालिबान लडाकु पनि हतियार बिसाएर शान्तिपूर्ण जीवनयापनका लागि बेचैन देखिन्थे। 

तर अमेरिकाले शान्ति चाहेन। मेरा रिपोर्टले मात्र होइन, आम अफगान नागरिकको अनुभवले पनि अमेरिकाको चाहना अफगानिस्तानमा शान्ति ल्याउने थिएन भन्ने प्रस्ट पार्छन्।

उसको उद्देश्य अलकायदाले गरेको ११ सेप्टेम्बरको आक्रमणको बदला लिनु मात्र थियो।

गल्तीका चाङ 
त्यसपछि पनि अमेरिकाका तर्फबाट एकपछि अर्काे गल्ती भइरहे। गरिब र निर्दाेष अफगान ग्रामीण जनताविरुद्ध जथाभावी बमबारी हुन थाले। बिनाकारण उनीहरूलाई गिरफ्तार गर्न थालियो। 

विदेशी शक्तिलाई आक्रमण गर्न दिइरहने अफगान सरकारको चाहना र दिगो शान्ति चाहने आम जनताका बीच गहिरो खाडल थियो। 

अहिले पनि एउटा घटनाको झलझली याद आइरहन्छ :  अमेरिकी सेनाले भुलवश काबुल र गरदेज इलाकाका बीचमा पर्ने राजमार्गमा सैयद अबासिन नामका एक ट्याक्सी चालकलाई गिरफ्तार गरेको थियो। 

उनका पिता वृद्ध थिए। उनी एरियाना एयरलाइन्सका चर्चित कर्मचारी थिए। जब मैले अमेरिकी सेनाले गरेको गल्ती सार्वजनिक गरें, तब उसले अबासनलाई रिहा गरिदियो। 
तर अन्य अफगान नागरिक अबासनजस्तै भाग्यमानी थिएनन्।

अफगान जनताविरुद्ध अमेरिकाले कडा व्यवहार गरिरह्यो। जसका कारण अफगान जनताले ठूलो जनधन क्षति बेहोर्नपर्यो। 

आफ्ना सैनिक धेरै हताहत नहुन् भनेर अमेरिकाले वम वर्षा र ड्रोन प्रयोगलाई प्राथमिकता दियो। यसले गर्दा बिस्तार–बिस्तारै आम अफगान जनतामा अमेरिकाप्रतिको भरोसा घट्न थाल्यो। 

यसले केही वर्षभित्रै अफगानिस्तानको हालत कस्तो होला भन्ने संकेत दिइरहेको थियो।   

तर पनि म खुला सडकमा ‘ड्राइभ’ गर्दै हजारौं किलोमिटर यात्रा गर्थें। झमक्क साँझ पर्दा होस् वा बिहान सबेरै खोस्त र पक्तिका जस्ता प्रान्तका दूरदुराजका गाउँमा पुग्न डर लाग्दैनथ्यो। 

यस क्रममा पूरै देश भ्रमण गरें मैले। यसबाट मलाई साधारण अफगान जनताबारे जानकारी हासिल गर्न सघाउ पुग्यो। 

एक टर्निङ प्वइन्ट
विद्रोहीले नयाँ तरिकाले आक्रमण सुरु गरिसकेका थिए। 

मलाई राम्रोसँग याद छ– एक दिन एउटा ठूलो आकारको ट्रक काबुलको मध्यभागमा भयानक आवाजका साथ विस्फोट भयो। पूरै काबुल सहर हल्लियो। सहरभरिका घरका झ्यालका सिसा  चकनाचुर भए। 

जहाँ विस्फोट भएको थियो, त्यहाँ पुग्ने थोरै पत्रकारमध्ये म पनि एक थिएँ। 

त्यहाँ मैले जुन भयानक दृश्य देखें, त्यो सम्झेर अहिले पनि शरीर काँप्छ। चारैतिर रगत, लास! त्यस्तो डरलाग्दो दृश्य जीवनमा पहिलोपटक देखेको थिएँ। 

अफगान र विदेशी सुरक्षा फौजका साथै निहत्था नागरिकविरुद्ध सहरको बीचमा ‘ट्रक बम’ र आत्मघाती विस्फोट, एक क्रूर अध्यायको सुरुवात थियो। जवाफमा अमेरिकाले हवाई हमला  बढाउन थाल्यो। 

त्यसपछि तालिबानलाई लक्ष्य गरेर गाउँघरमा हुने विवाह उत्सव र शवयात्रामा समेत अमेरिकाले आक्रमण गर्न थाल्यो।

मानिसहरू आकाश देख्दासमेत डराउन थाले। त्यसअघि आफूलाई खुसी राख्न उनीहरूले सूर्याेदय, सूर्यास्त र आकाशका तारा हेर्ने गर्थे। ती दिन अतीत भए।  

एकदिन म अरगंदव नदी किनारस्थित उपत्यकाको यात्रामा थिएँ। यो उपत्यका कन्दाहार सहरनजिकै छ र हरियालीले भरपूर। त्यहाँ पुग्दा ममा अफगानिस्तानको प्रसिद्ध अनार खेती हेर्ने उत्सुकता थियो।  

तर त्यहाँको दृश्य मैले सोचेजस्तो थिएन। राता–राता फल दिने अनारका रुखमुनि निर्दाेष अफगान जनताको रगत बगिरहेको थियो। 

त्यस दिन त्यहाँ जे देखें, अफगानिस्तानका हर–गाउँमा देखिने दृश्यको एउटा सानो झलक मात्र थियो। 

तालिबान आफ्ना लडाकुलाई त्यो उपत्यकामा पठाउन आतुर थियो। तर सरकारी सुरक्षा बल उनीहरूलाई त्यहाँबाट भगाएर आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेको थियो। त्यो क्षेत्र दुवै पक्षले पालैपालो कब्जा गरिरहन्थे। 

त्यहाँ थुप्रैपटक हवाई हमला भए। रिपोर्टिङका क्रममा मैले ३३ पटकसम्म आक्रमण भएको थाहा पाएँ। जवाफमा तालिबानबाट भएका आत्मघाती कार हमलाको गणना गर्नै छाडिदिएँ। त्यो क्षेत्रका घर, पुल, बगैंचा सबै ध्वस्त भएका थिए।

अमेरिकाबाट गरिएका कतिपय हवाई हमला गलत गुप्तचर सूचनाका आधारमा भएका थिए। आफ्ना निजी झगडा वा जग्गा विवादमा समेत उनीहरू अमेरिकी सेनालाई गलत सूचना दिन्थे र हवाई हमला गर्न लगाएर आफ्ना स्वार्थसिद्ध गर्थे। 

यसले गर्दा जमिनका रहेको अमेरिकी सुरक्षा बल र आम अफगान जनताबीच अविश्वास बढ्दै गयो। 

यस्तो स्थिति तालिबानी फौजमा भर्ती अभियानका लागि मलिलो भूमि बनिरहेको थियो।    

११ सेप्टेम्बर (२००१) ताकाको पिँढी भारत, मलेसिया, अमेरिका र युरोपजस्ता मुलुकमा अध्ययनका लागि पुगेको थियो। यो पिँढी सन् १००१ देखि २०१० का बीच अफगानिस्तान पुनर्निर्माण प्रयासमा सहभागी हुन स्वदेश फर्किंदै थियो। यो नयाँ पिँढी देशको महान् परिवर्तन अभियानमा योगदान दिन पाइने आशामा थियो। तर फेरि सुरु भएको हिंसाको दुश्चक्रले उसले आफू चुनौतीको नयाँ घेराबन्दीमा परेको अनुभव गर्न थाल्यो। उसले देख्यो– देशमा अमेरिकाले नयाँ–नयाँ सरदारहरूको जन्म गराइरहेको छ। 

साँच्चै, यस्ता सरदारका कारण अफगानिस्तान भ्रष्टाचारको पहाडमा पुगेको थियो।  

जब मुलुक आदर्शबाट च्युत हुन्छ र भ्रष्टाचारको दलदलमा भासिन्छ, तब आम मानिसका लागि पनि आदर्श गौण कुरा बन्न थाल्छ। भविष्य नदेखेपछि उनीहरू पनि देश र समाजका लागि भन्दा आफ्ना व्यावहारिक समस्या समाधानमा आफूलाई केन्द्रित गर्न थाल्छन्। 

यही कारण अफगानिस्तानमा भ्रष्टाचार मौलायो। भ्रष्टाचारीलाई कारबाहीको साटो माफी दिने चलन संस्कृतिकै रूपमा विकास हुन थाल्यो।   

भ्रामक दृश्य 
अफगानिस्तानमा मनै लोभ्याउने आकर्षक उपत्यका छन्। अनगन्ती चुचुरा छन्। नागबेलीझैं बग्ने नदीले अफगान भूमि भरिभराउ छ। ससाना तर सुन्दर बस्ती छन्। 

तस्बिरमा देखिने दृश्यले जो कोहीलाई लाग्न सक्छ– अहो ! कस्तो शान्त भूमि। 

तर यो शान्ति तस्बिरमा सीमित छ। यहाँका आम जनता शान्ति र अमनचैनका साथ बस्न पाएका छैनन्। घरमा समेत सुरक्षाको प्रबन्ध गर्नुपर्ने हुन्छ।  

चार वर्ष पहिले बर्दाक प्रान्तस्थित एउटा सानो गाउँमा विवाहको कार्यक्रममा सहभागी भएको थिएँ। जब रात पर्न लाग्यो, तब मानिसहरू खुला आकाशमुनि बसेर खानपिन गर्न थाले। अचानक ड्रोनको आवाजले आकाश गुन्जियो। 

नजिकैको एउटा गाउँमा सैन्य अपरेसन चलिरहेको रहेछ। जमिनमा सैन्य अपरेसन र आकाशमा ड्रोनको आवाजले वैवाहिक कार्यक्रमको रौनकता डर र त्रासमा परिणत भयो। 

त्यो वैवाहिक कार्यक्रममा एकजना वृद्ध अतिथिहरूलाई काबुली पुलाउ, रोटी र मासु बाँडिरहेका थिए। उनी एकजना तालिबान लडाकुका पिता रहेछन्। ती लडाकुको मृत्यु हेलमन्ड प्रान्तमा भएको थियो। 

पछि उनले मलाई आफ्ना छोराको हत्या कसरी भएको थियो भन्ने कुरा सविस्तार बताए। हत्या हुँदा उनका छोरा मात्र २५ वर्षका रहेछन्। आफ्ना २ कलिला बच्चा र श्रीमती छाडेर  संसारबाट बिदा भएछन्। 

उनको कुरा सुनेपछि म अवाक् भएँ। किनभने छोराको हत्याले उनको अनुहारमा गहिरो पीडा झल्किन्थ्यो, तर पनि गर्वका साथ भने, ‘म एक साधारण किसान हुँ। तर मेरो छोरो प्रतिभाशाली लडाकु थियो। ऊ फरक खालको जीवनमा विश्वास गर्थ्यो।’

तालिबान नियन्त्रित स्थानमा विवाहमा गाना–बजाना गर्न बन्देज लगाइएको थियो। त्यसैले पनि गाउँमा हुने जमघट यस्तै दुःखद कथाले भरिन्थे।   

तालिबानी शासन अन्त्य गर्ने उद्देश्यका कारण मानिसहरूले मानवीय मूल्यलाई नजरअन्दाज गर्न थालिसकेका थिए। मुलुकभर एकल महिला, सन्तान गुमाएका अभिभावक र अंगभंग भएका युवाको संख्या तीव्र गतिमा बढ्दै थियो। 

ती लडाकुका बाबुसँग मैले सोधेँ, ‘जीवनमा अब तपाईंको चाहना के छ?’ प्रश्नले उनका आँखा रसाए। 

अनि जवाफ दिए, ‘म यो लडाइँ र अशान्ति अन्त्य होस् भन्ने चाहन्छु। अब अति भइसक्यो। आफ्नै मुटुजस्ता सन्तान गुमाउनु पर्दा कस्तो पीडा हुन्छ, त्यो मैले भोगेको छु। अरू बाबु–आमाले यस्तो पीडा बेहोर्न नपरोस्। अफगानिस्तानमा अब युद्ध विराम र शान्ति प्रक्रिया सुरु हुन अति आयवश्यक छ।’

काबुलमा रहेको मेरो कार्यालय एउटा ठूलो सैन्य अस्पतालबाट केही किलोमिटर पर थियो। मेरो गृहप्रान्त कुनारका मेरा साथी, परिवारजन र निकटस्थले मलाई अस्पतालमा बोलाइरहन्थे। अफगान सुरक्षा बलमा काम गर्ने आफ्ना नातेदारको शव चिन्न सजिलो होस् भनेर उनीहरूले मलाई अस्पतालमा बोलाउने गर्थे।  

कहिलेकाहीँ मलाई लाग्थ्यो– अस्पतालमा राखिएका मृतकका कफिनहरूले मेरो प्रान्तको मानवीय आत्मालाई दबाइरहेका छन्। 

तालिबानसँग वार्ता, अफगानिस्तानको आशा 
अमेरिका र तालिबानबीच जब दोहामा वार्ता सुरु भयो, तब मलाई पनि निकै आशा लागेको थियो। यो स्वाभाविक पनि थियो। किनकि अफगानिस्तान स्थायी युद्धविरामतर्फ अग्रसर हुन लागेको थियो। 

करोडौं अफगान नागरिकले झैं मैले पनि जीवनमा शान्तिको सास फेर्न पाइरहेको थिइनँ। वार्ता नै दीर्घकालीन शान्तिको एक मात्र उपाय थियो।

तर हाम्रा सपना सीसाझैं चकनाचुर हुन बेरै लागेन। केही समयपछि नै स्पष्ट हुन थाल्यो– वार्ता त शान्तिको मार्गमा जानुपर्छ भन्ने उद्देश्यमा सहमत भएर भएकै होइनरहेछ! मैदानमा हासिल हुन नसकेको जित टेबलबाट पाउन पो वार्ता गरिएको रहेछ! 

एक अफगान नागरिकका हैसियतमा भन्नुपर्दा यस्तो जित बेकारको कुरा हो। 

अमेरिकाले ६ हजार जना तालिबान लडाकु र कमान्डरलाई जेलबाट रिहा गरिदियो। यो घटनालाई भरोसायोग्य शान्ति प्रक्रियाका साथ स्थायी युद्धविरामका लागि भनेर अर्थ्याइएकाे थियो। 

तर घटनाक्रमले पुष्टि गरिसकेको छ– त्यतिबेला हाम्रा आशा बेचिएका मात्र रहेछन्! वार्तामार्फत शान्तिको आशा गर्नु बेकार रहेछ!   

अफगान शान्ति प्रक्रियालाई उच्च पदस्थ व्यक्तिहरूको हत्याले ध्वस्त बनाउन थाल्यो। मिडिया, कानुन र न्यायपालिकासम्बद्ध प्रभावशाली व्यक्तिहरू काबुल र देशका अन्य स्थानमा आफ्नै निवासमा एकपछि अर्काे मारिन थाले। 

जतिबेला अमेरिका र तालिबानबीच वार्ता सुरु हुँदै थियो, त्यतिबेला एकजना स्थानीय प्रहरी अधिकारी युद्ध परिषद् (वार काउन्सिल) को बैठकमा भन्दै थिए, ‘अमेरिकाले हाम्रो दुश्मनसँग वार्ता गरेर अफगान सुरक्षा फौजको साथ छाड्ने तयारी गरिरहेको छ।’

त्यो दिनको घटना मलाई पूरै सम्झना छ। आक्रोशयुक्त स्वरमा ती प्रहरी अधिकारीले थपेका थिए, ‘खासमा अमेरिकाले हाम्रो पेटमा छुरा धस्ने काम गरेको छ।’ 

अन्य अफगान नागरिकझैं अमेरिकासँग उनको सम्बन्ध पनि यतिबेला पीडा र दर्दको पोखरीमा डुबेको छ।   

मेरा एकजना पूर्वसहपाठी तालिबान संगठनका सदस्य छन्। हामी एकै उमेरका हौं। विचारमा मतभिन्नता भए पनि २० वर्षदेखि हामीबीच सुममधुर सम्बन्ध थियो। आपसमा कुराकानी भइरहेकै थियो। 

तिनै सहपाठीसँग हालै एउटा वैवाहिक कार्यक्रममा भेट भयो। तर उनमा त निकै परिवर्तन आइसकेछ! मप्रतिको उनको व्यवहार निकै कडा भएको पाएँ। 

ती साथीको व्यवहारपछि महसुस गरेँ– वास्तवमा आपसी संघर्षले अफगान नागरिकलाई आपसमा विभाजन गरिदिएको छ।  

पेशावरमा रहँदादेखि मैले चिनेका ती साथीसँग म क्रिकेट खेल्थें, मनोरञ्जनका कार्यक्रममा सँगै हुन्थ्यौं। पहिले उनी यस्तो कडा स्वभावका थिएनन्।  

मलाई थाहा छ– उनमा यो परिवर्तन अकारण आएको होइन। उनको जीवन पनि दर्दनाक कथाले भरिएको छ। दुश्मनीवश कसैले दिएको झुटो गुप्तचरी सूचनाका आधारमा उनको घरमा छापा मारियो। उनका बुबा, हजुरबुबा र भाइ मारिए। 

यो घटनामा मैले उनलाई सहयोग गर्न सक्ने स्थिति थिएन। तैपनि आशा गर्थें– कुनै दिन शान्ति होला र अफगान नागरिकले यस्तो नियति बेहोर्नु नपर्ला। 

तर यस्तो सम्भावना मैले अझै देखिरहेको छैन।   

काबुल कब्जा 
केही हप्तायता प्रान्तीय राजधानी एकपछि अर्काे गर्दै तालिबानलाई सुम्पियौं। अफगान सुरक्षा बलले लडाइँ नै नगरी तालिबानसामु आत्मसमर्पण गरे। तैपनि मैले सोचेको थिइनँ–  तालिबानले यसरी काबुलमा घुसेर केन्द्रीय राजधानी नै कब्जा गर्न सक्लान्। 

तालिबानले काबुल कब्जा गर्नुभन्दा एक दिनअघि मात्र  एकजना अधिकारीसँग मेरो कुराकानी भएको थियो। उनको सोचाइ थियो– अमेरिकी हवाई हमलाको सहयोगमा काबुलमा अफगान सरकारको नियन्त्रण निरन्तर रहनेछ। 

उनले भनेका थिए, ‘समावेशी सरकार निर्माण र शान्तिपूर्ण रूपमा सत्ता परिवर्तनका लागि वार्ता पनि भइरहेको छ।’ 

तर त्यही बेला हेलिकोप्टर चढेर अफगान राष्ट्रपति असरफ गनी देश छाडेर भागे। अनि तालिबान लडाकु राजधानीमा प्रवेश गरे। 

यसै पनि एकपछि अर्काे प्रान्तीय राजधानीमा तालिबानी कब्जाका कारण अफगानिस्तानको आकाशमा त्रास मडारिइरहेको थियो। त्यसमाथि तालिबान लडाकु नै काबुल आइपुगेपछि झन् सबै जना डराउने भइहाले। 

त्यसबेला मलाई पनि भनियो, ‘बिलाल, तिम्रो ज्यानलाई पनि खतरा छ है, ख्याल गर!’

त्यसपछि मैले आफ्ना कपडा पोको पारें। श्रीमती, छोरा र बाबु–आमालाई अज्ञातस्थलतर्फ लिएर गएँ। काबुलजस्तो सहरका कुनाकाप्चामा समेत सतर्क हुनपर्यो। थाहा थिएन, अब कुनचाहिँ ठाउँ मेरा लागि सुरक्षित होला?  

मेरी छोरीको नाम सोला हो। ‘सोला’को अर्थ ‘शान्ति’ हुन्छ।  उनको सुन्दर भविष्यको आशा गर्नु पनि अब व्यर्थको विषय बनिसकेको छ। उनको सुन्दर भविष्य अब ध्वस्त भइसकेको छ। 

म विमानस्थलतर्फ प्रस्थान गरें। त्यो बेला सोच्दै थिएँ– म दोस्रोपटक अफगानिस्तान छाड्दै छु।  

त्यहाँ बसेर वर्षाैंसम्म गरेका कामले मलाई अहिले पनि अभिभूत बनाउँछन्।

अफगानिस्तानमा छँदा मैले गरेका ती यात्रा एकपछि अर्काे गर्दै सम्झनामा आइरहेका छन्। जुन यात्रा कुनै सरकारी अधिकारीहरूका साथ त कुनै पत्रकारका रूपमा गरेको थिएँ।

त्यसैबेला काबुलमा दोस्रोपटक देखेँ– सारा मानिस भाग्न  लाइनमा खडा छन्।

अफगानिस्तानको एउटा पिँढी आफ्ना सपना र आकांक्षाको अन्तिम संस्कार गरिरहेको छ। 

यसपटक म कुनै स्टोरी (समाचार सामग्री) तयार पार्न विमानस्थल गएको थिइनँ। म तिनै तमाम नागरिकझैं मुलुक छाड्न त्यहाँ पुगेको थिएँ। 

(लेखक विलाल अफगान पत्रकार हुन्। बीबीसीमा प्रकाशित उनको यो लेख भावानुवाद गरिएको हो।) 

भदौ ११, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .