सुदूरपश्चिम


बझाङ उपचुनावले एमाले-एकीकृत समाजवादीबीच दरार, विश्वासको मतमा एमालेको अड्को

बझाङ उपचुनावले एमाले-एकीकृत समाजवादीबीच दरार, विश्वासको मतमा एमालेको अड्को

पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राजेन्द्रसिंह रावल र मुख्यमन्त्री सोडारी


गोकुल जोशी
बैशाख २०, २०८१ बिहिबार २१:२, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराइसकेका छन्। त्यहीँ प्रयोजनका लागि शुक्रबार बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

शुक्रबार प्रदेश सभा बैठक बस्ने गरी सूचना प्रकाशित गरिएको संसद सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी संघीय सरकारको सत्ता घटक गठबन्धनका तर्फबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।  

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदमा विश्वासको मत लिएर बहुमत सिद्ध गर्नु पर्ने संवैधानिक व्यवस्था छ। सोडारीलाई मुख्यमन्त्रीमा दाबी गर्दा नेकपा एकीकृत समाजवादी (४), नेकपा एमाले (१०), नेकपा माओवादी केन्द्र (१०), नागरिक उन्मुक्ति (२ रञ्जिता पक्षीय) र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थन थियो।

५३ प्रदेश सभा सदस्य रहेको  सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सत्तारुढ गठबन्धनको साथ रहेमा मुख्यमन्त्री सोडारीलाई सुविधा सम्पन्न बहुमत छ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनावमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्तारुढ गठबन्धनलाई झनै सहज अंकगणित छ। तर उपचुनावपछि नेकपा एमाले नेकपा एकीकृत समाजवादीसँग चिढिएको छ।

बझाङ उपचुनावमा नजिते पनि एमालेलाई हराउने गरी नेकपा एकीकृत समाजवादीले भूमिका खेलेकोमा उनीहरुबीच अविश्वासको दूरी बढेको छ। त्यहाँ नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको थियो। यद्यपी उनले धरौटी पनि जोगाउन सकेनन्।  

केन्द्रमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच बझाङ उपचुनावमा एमालेलाई सघाउने सहमति भएको दाबी छ। तर सहमतिविपरित नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएको एमाले नेताहरू बताउँछन्।

अहिलेकै अवस्थामा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत नदिने पक्षमा एमाले छ।

‘गठबन्धनमा विश्वासको मतका लागि छलफल नै भएको छैन। समर्थन गर्ने गठबन्धन दलहरुबीच विश्वासको आधार बनेकोे छैन,’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्, ‘बझाङमा उहाँहरु आफू नजिते पनि एमालेलाई हराउनु पर्छ भनेर लाग्नुभयो। जनताले यसलाई सहजरुपमा लिएका छैनन्।’

मुख्यमन्त्री सोडारीले समर्थन गर्ने दलहरुबीच सल्लाह नगरी विश्वासको मतका लागि हतारो गरेको एमाले नेताहरु बताउँछन्।  

त्यसो त मुख्यमन्त्री दाबी गर्दा नै एकीकृत समाजवादीका सोडारीलाई एमालेलाई स्वीकार गर्न मानेको थिएन। एमालेले समाजवादीलाई मुख्यमन्त्रीमा सोडारी बाहेक अन्य पात्र दिन भनिरहेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाबीच गठबन्धन जोगाउन अन्तिम समयमा सोडारीलाई समर्थन गरेको थियो। तर एमाले संसदीय दलले तत्काल सरकारमा नजाने निर्णय नै गरेको थियो।

उता नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता प्रकाश रावल सत्तारुढ गठबन्धनमा छलफलपछि नै विश्वासको मतको तयारी गरिएको बताउँछन्।

मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता पनि दिन सकेका छैनन्। अहिलेसम्म उनले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षीय कैलाश चौधरी र टीका थापालाई मात्रै सरकारमा सामेल गराएका छन्।

भागबण्डा नटुंगिएको अवस्थामा विश्वासको मतपछि मात्रै सरकारलाई पूर्णता दिने तयारीमा सोडारी छन्।

गठबन्धनमा विश्वासको मतका लागि एमालेको अड्कोले अन्योल उत्पन्न भएका बेला मुख्यमन्त्री सोडारी विश्वासको मतका लागि तत्कालका लागि पछि हट्ने सम्भावना पनि छ।

विश्वासको मतको विपक्षमा कांग्रेस, संसद अवरुद्धसम्मकै तयारी
नेपाली कांग्रेसले मुख्यमन्त्री सोडारीको कडा प्रतिवाद गर्ने भएको छ। बिहीबार धनगढीमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतमा सोडारीविरुद्धको मुद्दा विचारधीन रहेको अवस्थामा विश्वासको मत लिने विषय थप त्रुटिपूर्ण हुने र त्यसको विरोधमा उत्रिने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम धामीले जानकारी दिए।

‘प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नु भयो। अदालतमा मुद्दा विचाराधीन छ। त्यहीँ समय विश्वासको मत लिने कुरा त्रुटिपूर्ण हुन जान्छ,’ उनले भने, ‘त्यसैले हामी संसद र संसद बाहिर यसको कडा प्रतिवाद गर्ने निर्णयमा पुगेका छौँ ।’

यसअघिका मुख्यमन्त्रीका दाबेदार नाउपाका लक्ष्मणकिशोर चौधरी सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री सोडारीविरुद्ध  अदालत गएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .