ad ad

ब्लग


सुजिता प्रकरणले पत्रकारलाई सिकाएको पाठ

सुजिता प्रकरणले पत्रकारलाई सिकाएको पाठ

प्रतिमा सिलवाल
असार २२, २०७८ मंगलबार १३:१२,

फेसबुकमा पत्रकार साथीहरूसँग समाचारका विषयमा छलफल गर्ने विषय, विचार र समकक्षीका फरक–फरक ग्रुप छन्। तीमध्ये एक ग्रुपमा असार १० गते बिहानतिर चितवनका पत्रकार साथीहरूबीच छलफल हुँदै रहेछ, राप्तीको विषय के हो?

म विषयबारे खासै जानकार थिइनँ। छलफल हेरिरहेँ। एउटा साथीले लेख्नुभयो, ‘केही होइन नाटक हो।’ म अझै विषय बुझिरहेको थिइनँ। उहाँहरूकै वार्तालाप हेरिरहेँ। अर्का साथीले थप्नुभयो, ‘अपहरणको नाटक मात्रै हो।’

खासमा घटना के रहेछ? बुझ्न कोसिस गरिरहँदा अर्का एक साथीले फ्याट्ट लेखिहाल्नुभयो, ‘पोइल गएर अपहरणको नाटक गरेको!’ 

वार्तालापको केही समयपछि केही स्थानीय अनलाइन मिडियाले चितवनको राप्ती नगरपालिका ३ मा युवती अपहरणमा परेको घटनाको हार्ड न्युज लेखे। तर, मूलधारका राष्ट्रिय वा स्थानीय मिडियामा कुनै किसिमका थप खबर आएनन्। अझ यसो भनौँ, खोजेर घटनाको विवरण राष्ट्रिय वा स्थानीय मिडिया कतैका पत्रकार साथीहरूले लेख्ने ‘दुःख’ गरेनन्। 

त्यही घटनालाई युट्युबरले चाहिँ फलो गरिरहे। कहिले आमाको, कहिले दिदीको, कहिले साथी, छिमेकीको हवला दिँदै सनसनीपूर्ण खुलासा भन्दै अन्टसन्ट युट्युब बनाइरहे। 

घटनाको ९ दिनपछि असार २० गते शनिबार स्थानीयले जंगलमा सडेको अवस्थामा सुजिताको शव भेटे। त्यसपछि चितवनका पत्रकारहरू झस्कियौँ। 

परिवारले समयमै प्रहरीमा खबर गरे पनि चितवनको राप्ती ३ की २४ वर्षीया सुजिताको जीवन बचाउन चितवन प्रहरी चुक्यो।  पोस्टमार्टम, डीएनए रिपोर्ट, प्रहरीको अनुसन्धान आदिले घटनाबारे निष्कर्ष त निकाल्ला नै, तर प्रकाशन र प्रसारण भएका समाचारबाट पत्रकारिताले घटनाको पहेली खोज्ने पहल अझै गरेको देखिँदैन।   

बरु हामी विवाहको उमेर पुगेकी युवती हराए ‘पोइल गई’ भन्ने सोच बोकेर बसिरहेका छौँ। सुजिताको मृत्यु सार्वजनिक हुनुअघि घटनाको गम्भीरता जिम्मेवार पत्रकारिताको प्राथमिकतामा पर्दै परेन। आज सडेको शव र त्यसपछिको स्थानीयको आक्रोश मात्रै राष्ट्रिय मिडियाको कभरेजमा परेका छन्।  

सुजिताको जस्तै युट्युबमा भाइरल भइसकेपछि मात्रै राष्ट्रिय, स्थानीय मूलधारका मिडिया झस्किएको अर्को घटना होरू चितवनकै शारदानगरकी सविता भण्डारीको ‘आत्महत्या’। 

जिम्मेवार भनिएका सञ्चारमाध्यम र पत्रकारले समयमै कभरेज गर्न छुटाएको घटना पनि हो यो। पत्रकार र पत्रकारिताबारे भएको एउटा भर्चुअल छलफलमा चितवनबाट मूलधारको मिडियामा काम गर्ने एक जना साथीले आफ्नो अन्योलता व्यक्त गर्नुभएको थियो, ‘पहिलो जानकारी मकहाँ आइपुगे पनि पीडितले युट्युबरको सम्पर्क खोज्नुभयो। मैले पनि सम्पर्क दिएँ, तर आफूले फलो गरिनँ।’

घटनापछि युट्युबरले बनाएका भाइरल कृत्य त युट्युबभरि नै छरपस्ट छन्। घटनालाई उनीहरूले आफूअनुकूल यसरी बनाएका छन् कि त्यहाँ मान्छे मरेको होइन, मरेको नाटक मञ्चन भइरहेको छ। शान्त भएर पत्रकारिताको विषयबारे सोच्दा– एकपक्षीय रूपमा भाइरल भएका घटना संवेदनशील पत्रकारिताको इस्यु होइन त? यो भाइरलकारिता रोक्न जिम्मेवार पत्रकारिताको दायित्त्व होइन?

सविताको घटनामा चलिरहेको मुद्दाको मिसिल हेरेका एक अधिवक्ताले भन्नुभएको थियो, ‘सविताको पोस्टमार्टम रिपोर्ट र मिसिल हेरिसकेपछि संवेदनशील पत्रकारिताको गम्भीर रिपोर्टिङ थियो भने यसमा आत्महत्या दुरुत्साहन होइन, हत्याकै मुद्दा दर्ता गर्न पीडित परिवारलाई बल पुग्थ्यो।’ 

तर त्यसो भएन। सवितालाई ‘आत्महत्या’ रोज्न पुग्न केले बल पुग्यो वा उनको जीवन समाप्त पार्ने घटनाको पृष्ठभूमि के थियो? जिम्मेवार पत्रकारिताले पक्कै खोज्न सक्ने विषय हो। तर समयमै यसो गर्न हामी चुक्यौं। वा युट्युबमा भाइरल भइसकेपछि हाम्रो इस्यु होइन भनेर प्राथमिकता दिएनौँ। समाजका महिलाहरूले ज्यान गुमाइरहेका यस्ता घटनामा हाम्रो संवेदनशीलता भाइरलकारिताले खाइदिएको हो त? 

नेपालमा इन्टरनेटको सहज पहुँच सार्वसाधरणसम्म बढ्दै गएको यो समयमा न्यु मिडियामा उनीहरूको रुचि बढ्दै छ। पत्रिकाका पाठक अब न्यु मिडियाका ग्राहक बन्दै छन्। हेर्न, देख्न सकिने माध्यम युट्युब बिस्तारै सर्वसाधारणको रुचिको सूचनामाध्यम बन्दै छन्। एक तहमा ती माध्यममा सर्वसाधरण झुम्मिन थालेका छन्।

तर जिम्मेवार पत्रकारिता गरेको भन्नेहरू चाहिँ आफूलाई पुरानै प्रविधिमा अब्बल छु भन्ने घमण्डमा छन् भन्ने पछिल्ला संवेदनशील घटना भाइरलमा मात्रै सीमित हुनुले देखाउँदै छ। 

पुँजी बजार जसरी माग र आपूर्तिका आधारमा निर्धारण हुन्छ, त्यसरी नै सञ्चार बजारको माग र आपूर्तिको संयोजन पनि भइरहेको छ। अहिले भाइरल युट्युबहरू तिनै परिवर्तित पाठक रुचिका बजार हुन्। 

त्यसो भए हामी पत्रकारका समाचार के हुन् त? जहाँ एकपक्षीय वा सनसनी नाममा संवेदनशील घटनाको सामान्यीकरण भइरहेको छ, त्यहाँ निष्पक्ष समाचार दिने सञ्चारकर्मी र सञ्चारमाध्यम हस्तक्षेपकारी हुनुपर्ने होइन? 

चितवनसँग सीमाना जोडिएको गैंडाकोट नगरपालिकाकी एक युवती पनि यही असार १४ गतेदेखि हराइरहेकी छन्। उनी पनि चितवनबाटै बेपत्ता भएकी हुन्। प्रहरीले घटना थाहा पाइसकेको छ। तर मूलधार तथा स्थानीय मिडियाले समेत यस विषयमा लेख्ने वा खोज्ने जाँगर चलाएका छैनन्। 

केही युट्युब सञ्चालकले विषय थाहा पाए भने ती युवतीको घटनामा कसैलाई अपराधी करार गरेर भाइरल गराइवरी केही लाख दर्शक बनाउनेछन्, अनि बल्ल मूलधारका पत्रकारले थाहा पाउलान् वा चासो देलान्। त्यसपछि सुजिता वा सविता प्रकरणजस्तै महिलाको ज्यानको मूल्य केही लाख दर्शक/पाठकले हेरेका भाइरल सामग्रीमा सीमित हुन्छ। 

बढ्दै गएको घटनाको ‘ट्रेन्ड’ अनि यसप्रति घट्दै गएको संवेदनशीलताबारे पत्रकारिताले हिजोआज के संकेत गरिरहेझैँ लाग्छ भने पत्रकार पाठकमाझ ‘आउटडेटेड’ हुँदै गइसके। अब पनि मूलधारका मिडियाले आफूलाई अपडेट वा अपग्रेड गरेर सर्वसाधारणले तथ्य खोजिरहेका फोरममा हस्तक्षेप गर्न सकेनन् भने पत्रकारिता आउटडेटेड भएर भाइरलकारिता फस्टाउँछ। अनि अमूल्य जीवन एक पक्षको चाहनाबमोजिम भाइरलमा गएर टुंगिन्छन्।  

यो पनिः 

पोस्टमार्टमका लागि सुजिता भण्डारीको शव काठमाडौं ल्याइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .