शुक्रबार (आज) बिहान ११ः३० बजेतिर नारायणगढ-मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित रानाको खोजतलास जारी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र गोताखोरको टोलीले घटनास्थलमा रोहितको खोजी गरिरहेको छ। नारायणगढ–मुग्लिङ सडकखण्ड अन्र्तगत पर्ने चट्टाने भीर (दुई किलो)भन्ने स्थानबाट नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका छन्।
राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो। सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेको दुर्घटनास्थल नजिकै माछा मार्दै गरेका प्रत्यक्षदर्शीले बताएका थिए। सोही आधारमा खोजतलास भैरहेको छ।
सडकबाट करिब १५० मिटर तल रहेको त्रिशूली नदीमा उनी बेपत्ता भएका हुन्। सडकबाट झरेपछि बीचमा कहीँ अड्कनै नसक्ने भीरमा दुर्घटना भएको कारण २७ बर्षका राना त्रिशूली नदीमा पुगेका हुन्।
यद्यपि, कम्मरमा बोक्ने सानो ब्याग भने भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो। सोही ब्यागमा रहेको पर्समा भेटिएको कागजातको आधारमा उनको पहिचान भयो। लमजुङको सुन्दरबजार नगरपालिका-३, चन्द्रेश्वरका राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान भएको पुष्टि गरियो।
त्यसोत, बेपत्ता रानाको स्थायी ठेगाना चन्द्रेश्वर भए पनि उनी र उनका परिवार चितवनको भरतपुर महानगरपालिका-१, रामनगरमा बस्दै आएको खुलेको छ। रोहित बिहानको खाना खाएर आफन्तको घर काठमाडौँ जान घरबाट निस्किएका थिए। करिब १० बजेतिर घरबाट हिडेँको भन्ने जानकारी आफूले पाएको चन्द्रेश्वर-३ का वडाध्यक्ष अमृत न्यौपानेले जानकारी दिए।
‘उहाँहरू चितवन नै बस्न थाल्नुभएको २० बर्ष जति नै भयो,’ न्यौपानेले भने, ‘उता बस्नुभए पनि यताको बसाइँसराइँ लैजानु भएको छैन। त्यसकारण बेला/बेलामा लमजुङ पनि आइरहनुहुन्थ्यो। दुर्घटनाको खबर पाएपछि रोहितको बुवासँग कुरा गरेँ। बिहानको खाना खाएर काठमाडौँ हिड्नु भएको रहेछ।’
वडाध्यक्ष न्यौपानेका अनुसार रोहितका बुवा अशोक पनि भारतीय सेनाको सेवानिवृत्त सैनिक हुन्। रोहितका भाई पनि भारतीय सेनामै कार्यरत छन्। बेपत्ता रोहित घरका जेठा छोरा हुन्। छोरा दुर्घटनामा परेर त्रिशूलीमा बेपत्ता भएको जानकारी पाएपछि बुवा अशोकसहित आफन्तहरू घटनास्थल पुगेको भन्ने खबर पाएको न्यौपानेले जानकारी दिए।
यता, रोहितका मामा विजय राना रोहित दाईको घर जान्छु भनेर घरबाट निस्किएको बताउँछन्। भारतमै कार्यरत उनी एकहप्ता अघि मात्रै नेपाल आएका थिए।
‘हामीलाई त घटना घटेपछि मात्रै भान्जा नेपाल आएका रहेछन् भन्ने थाहा भयो,’ उनले नेपालखबरसँग भने, ‘हामी लमजुङमा बस्छौं। दिदीहरू यतै चितवन बस्नुहुन्थ्यो। भान्जा घर आउनुभएको एक हप्ता भएको रहेछ। आज बिहान काठमाडौँमा दाईहरूको घरमा जान्छु भनेर निस्किएको बेला यस्तो दुखद् घटना हुन पुग्यो।’
रोहित घरको जेठो छोरा रहेको र बिवाह नभएको उनका मामा विजयले जानकारी दिए। अहिले घटनास्थलमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
Shares

प्रतिक्रिया