बुधबारको तुलनामा बिहीबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसभन्दा बढी बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो।
बुधबार सोही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम ४.६ डिग्री सेल्सियस देखिएको थियो। तर पछि बिहान ८:४५ बजे पुन: मापन गर्दा ४.५ डिग्री सेल्सियस देखिएको थियो।
आज पनि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना रहने मौसमविद् पुडासैनीले बताए।
आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान रहेको उनले जानकारी दिए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
अहिले बिहान काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागेको भए पनि यो घामसँगै हटेर जाने मौसमविद् पुडासैनीले जानकारी दिए।
यस्तै आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना देखिएको मौसमविद् पुडासैनीको भनाइ छ।
देशभरका लागि : तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशको मौसम बदली
Shares
प्रतिक्रिया