बागमती


चारपटक पराजित डिना भन्छिन्: यो पालि मेरो मेहनत डबल छ (अन्तर्वार्ता)

चारपटक पराजित डिना भन्छिन्: यो पालि मेरो मेहनत डबल छ (अन्तर्वार्ता)

सुनिता विष्ट
फागुन ७, २०८२ बिहिबार ११:१८, हेटौँडा

नेपाली कांग्रेसकी प्रभावशाली महिला नेता महालक्ष्मी उपाध्याय डिना पटक/पटक चुनाव हारिहरने उम्मेदवारका रूपमा परिचित छिन्।

कांग्रेसको निवर्तमान सहमहामन्त्रीसमेत रहेकी डिना मकवानपुरबाट प्रतिनिधि सभा निर्वाचनमा ४ पटक पराजित भइसकेकी नेता हुन्।

यसैबिच उनी फेरि यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि मकवानपुर-१ बाट उम्मेदवार बनेकी छन्। 

२०७९ को निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनेर यसै क्षेत्रमा चुनाव लडेकी डिना राप्रपाका दीपकबहादुर सिंहसँग २ हजार ३८२ मतान्तरले हारेकी थिइन्।

त्यसअघि २०४८, २०५१ र २०७४ का चुनावमा पनि उनी पराजित भएकी थिइन्। 

चारपटक हार बेहोरेकी डिना अहिले सोही क्षेत्रबाट पाँचौँपटक चुनाव लड्दै छिन्। 

यसै सन्दर्भमा नेपालखबरले उनीसँग कुराकानी गरेको छ:

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ, तयारी कस्तो छ?
अहिले हाम्रो पार्टीबाटै एउटा कार्ययोजना बनाइएको छ। जसअनुसार गाउँ, नगर, वडा तहमा पार्टीका साथीहरूको क्रियाशीलता बढाउन कार्यक्रम भइरहेका छन्। 

तपाईं मतदाताकहाँ कस्ता एजेन्डा लिएर गइरहनुभएको छ?
मेरो एजेन्डामा मुख्य रूपमा चार पक्ष छन्। पहिलो युवा- आन्दोलनले देखाएको छ कि युवामा लगानी पर्याप्त भएको छैन। त्यसैले उनीहरूको सहभागिता, दक्षता र क्षमता कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रकट गर्ने भन्ने मेरो प्राथमिकता हो।

दोस्रो महिला- महिलाको सशक्तीकरण र अधिकारका लागि सधैँ लडिरहेकी छु।

तेस्रो खेलकुद- नेपालले अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउँदै छ। मकवानपुरलाई खेलकुदको केन्द्र बनाएर अन्तर्राष्ट्रिय रूपमा चिनाउने मेरो लक्ष्य छ।

चौथो किसान र कृषि- किसानहरूको समस्या धेरै छन्, सिँचाइ, मलबीउ, खाद्य सुरक्षा। किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु राष्ट्रको समृद्धि सुनिश्चित गर्ने मार्ग हो। यी चारवटै एजेन्डाका साथ मैले मतदातासँग प्रतिबद्धता प्रस्तुत गरिरहेकी छु।

तपाईं यसअघि चारपटक पराजित भइसक्नुभएको उम्मेदवार, पाँचौँपटक उम्मेदवार बन्दा मतदाताबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?
त्यतिबेला पनि मैले मतदाताहरूको राम्रो स्वागत पाएको थिएँ, तर प्राविधिक कारणले गर्दा निर्वाचनको परिणाम अनुकूल आएन। मेरो हार प्राविधिक कारणले भएको थियो। अहिले ती प्राविधिक समस्या मिलाउन पार्टी नेतृत्वका धेरै साथीहरू सक्रिय हुनुहुन्छ।

उहाँहरूले त्यस पाटोलाई अध्ययन गर्नुभएको छ र आवश्यक तयारी गरिरहनुभएको छ। म पनि जनताको माझमा गएर मैले गर्न सकेका र नसकेका कामहरू स्पष्टताका साथ प्रस्तुत गर्दै आएकी छु। मेरो क्षेत्र मकवानपुर-१ को अधिकांश घरमा पुग्दा मतदाताहरूले राम्रो स्वागत गर्नुभएको छ। उहाँहरूको माया, सद्‌भाव र समर्थनले मलाई निकै उत्साहित बनाएको छ।

अघिल्लो निर्वाचनमा तपाईं गठबन्धनको उम्मेदवार हुँदा पनि हार्नुभयो, अहिले त झन् दलहरू एक्लाएक्लै चुनावमा होमिएका छन्, जित्नुहोला र?  
हिजो गठबन्धन हुँदा हाम्रो मुख्य समस्या के भयो भने हामी अत्यधिक आत्मविश्वासी बन्यौँ। गठबन्धन भएकै कारण भोट स्वतः बढ्छ, भोट क्रस भएर त्यो मत स्वतः हामीतर्फ आइहाल्छ भन्ने सोच बन्यो। त्यसैले आवश्यकजति मेहनत भएन, पार्टीभित्र पनि व्यापक छलफल हुन सकेन। चुनावअघि मतदातासँग भेटघाट, संवाद र अभियानलाई तीव्रता दिनुपर्ने बेला ‘मत छँदै छ, मलाई नै आउँछ’ भन्ने विश्वास हावी भयो। त्यही अत्यधिक भरोसाले अन्ततः समस्या निम्त्यायो।

गठबन्धन छ, शतप्रतिशत अरूले पनि मत दिइहाल्छन्, जित त निश्चितै छ भन्ने सोच हाम्रो भित्र अलिकति अहंताको रूपमा बसेको रहेछ। म आफैँत्र पनि त्यो भाव थियो। धेरै साथीहरूसँग बसेर छलफल गर्ने, उनीहरूको सुझाव सुन्ने र असन्तुष्टि बुझ्ने काममा पर्याप्त समय दिन सकिनँ भन्ने अहिले अनुभव भइरहेको छ।

अहिले भेटघाट गर्दा धेरै साथीहरूले गुनासा राख्नुहुन्छ। उहाँहरूको गुनासो मूलतः हामी समयमै सुधारिन सकेनौँ, कमजोरी सच्याउन सकेनौँ भन्नेमा केन्द्रित छ। मैले ती गुनासा स्वीकार गरेकी छु र धेरै ठाउँमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार पनि गरेकी छु। अब ती कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छु।

भनेपछि कांग्रेस एक ढिक्का हुनु नै तपाईंको जितको आधार हो?
हो, त्योचाहिँ प्रमुख आधार हो। एक ढिक्का। कोही पनि साथीहरू रिसाउनुभएको छैन। 

अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्ने भने कांग्रेस तेस्रो स्थानमा देखिन्छ। एमाले पहिलो र रास्वपा दोस्रो भएका थिए। यसरी हेर्दा तपाईं त अझै पनि रेड जोनमै हुनुहुन्छ नि?
अब यस्तो समानुपातिकको भोटलाई हामीले क्याल्कुलेसन गर्दाखेरि त्यसको नतिजा आउँदैन। समानुपातिक मत गठबन्धनका कारणले डिस्टर्ब भएको थियो। समानुपातिकमा चाहिँ हामीले मतै हाल्दाखेरि पनि ४/५ हजार मत बिग्रेको अवस्था छ। समानुपातिकमा हाम्रो धेरै ध्यान पनि गएन त्यतिबेला। प्रत्यक्ष निर्वाचनमै ध्यान दिइयो। किनभने हामीले जहाँ जान्छौँ दुईटै पार्टी, तीनटै पार्टी गएर भोट मागिराथ्यौँ।

मतदाता नै कन्फ्युजनमा थिए। अहिले ४० वडामा पाएको मतदाताहरूको संख्या हेर्दा हामी बहुमतमै छौँ। अहिले पनि त्यो मतलाई हामीले संरक्षण गर्दा निर्वाचित हुन्छौँ। 

म लामो समय सत्तामा नरहँदा पनि संघ सरकार र प्रदेश सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रमाा विकासका लागि योगदान गरेको छु। मागेर भए पनि दिएका ठाउँहरू प्रशस्त छन्। 

यति भनिरहँदा विशेष गरी तपाईंकै पहलमा ल्याइएका योजना र सम्झनलायक विकास निर्माणका काम केही छन्? 
धेरै छ, जस्तो: बकैया बागमतीको गाउँहरूमा खानेपानीको सुविधा पुर्‍याएकी छु। बाटोघाटोको निर्माणका लागि बाटोहरू बनाएर स्लाब ढलानहरू भएको छ। ठाउँ ठाउँमा, गाउँ गाउँमा ढलान गरेर स्लाब ढलानहरू गएको छ। मन्दिर, गुम्बाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएकी छु। झोलुङ्गे पुलहरू जस्तो कुरामा मैले महत्त्वपूर्ण योगदान पुर्‍याएकी छु।

यो विकास यसले गर्‍यो भनेर त्यहाँका जनताहरूले आफैं भन्नुहुन्छ, मैले भन्नै पर्दैन। यस क्षेत्रमा करोड होइन अरबको बजेट भित्र्याउन सफल भएकी छु। 

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनभन्दा अगाडि तपाईं नेपाली कांग्रेसको सहमहामन्त्रीको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो। पार्टीमा यति धेरै लोकप्रिय मान्छेलाई मकवानपुरका मतदाताहरूले यो भन्दा अगाडि किन अनुमोदन गरेनन् होला? 
जनताको अपेक्षाचाहिँ गाउँमा आइरहे हुन्थ्यो भन्ने रहेछ। अहिले घरदैलोमा जाँदा पनि निर्वाचन क्षेत्रमा धेरै आइन भन्ने गुनासो सुनिरहेको छु।

निर्वाचन क्षेत्रमा भेट्नुपर्थ्यो, हामीसँग कुरा गर्नुपर्थ्यो भन्ने। हुन त मैले नभेटेको होइन, गाउँघरमा जाँदाखेरी आफूले हालेको योजनाहरूमा उद्घाटन गर्ने म नै हो भनेर सम्झाइरहेको छु। यो पटक जिताउनुस् धेरै समय निर्वाचन क्षेत्रमै हुन्छु भने वाचा गरेकी छु। 

त्यही भएर मतदाताकै घरदैलोमा हुनुहुन्छ, प्रत्येक दिन?
हो, प्रत्येक दिन एक मिनेट पनि छाडेको छैन। दिनरात भनेको छैन, यो पालि मेरो मेहनत डबल छ। 

२०४८ यता तपाईं निरन्तर चुनावी प्रतिस्पर्धामा होमिरहनुभएको छ। हरेक निर्वाचनमा टिकट पाउन कसरी सम्भव भइरहेको छ? 
पहिला पहिलाका निर्वाचनहरूमा अहिले जस्तो पैसाको प्रभाव थिएन। म गाउँगाउँ जाँदा साथीहरूले आफैँ पकाएर खुवाउनुहुन्थ्यो, आफैँ व्यवस्थापन गर्नुहुन्थ्यो। चुनाव अभियान समुदायमै आधारित हुन्थ्यो। २०६४ सालपछि भने चुनाव क्रमशः खर्चिलो बन्दै गयो। त्यो अवस्थालाई धान्न सजिलो छैन। सत्य कुरा भन्नुपर्दा म हरेकपटक चुनाव लड्नैपर्छ भन्ने मेरो व्यक्तिगत चाहना धेरै थिएन। तर पार्टी नेतृत्वले सधैँ मलाई पार्टीभित्रको वरिष्ठ महिलाका रूपमा संसदमा जानुपर्ने भन्दै समानुपातिक सूचीमा राख्न खोज्नुभयो।

त्यसबेला मैले स्पष्ट रूपमा भनेँ- जीवनभर संघर्ष गरेर अघि बढेको एउटा महिलाले सधैँ समानुपातिकमै सीमित हुँदा अरू महिलालाई कसरी हिम्मत दिने? प्रत्यक्ष निर्वाचनमा पनि महिलाले जित्न सक्छन् भन्ने सन्देश दिन जरुरी छ। त्यसैले अघिल्लो निर्वाचनमा म प्रत्यक्षमै प्रतिस्पर्धा गर्न अघि बढेँ। महिलाले पनि प्रतिस्पर्धाबाटै आफ्नो स्थान बनाउनुपर्छ भन्ने मेरो विश्वास थियो।

यो पटक भने व्यक्तिगत रूपमा धेरै चुनाव लड्नैपर्छ, सांसदै हुनुपर्छ भन्ने चाहना खासै थिएन। तर पार्टी नेतृत्वले पुनः जिम्मेवारी लिन आग्रह गरेपछि मैले त्यसलाई जिम्मेवारीकै रूपमा स्वीकार गरेको हुँ।

यदि यहाँले इच्छा गरेको भए राष्ट्रियसभामा सजिलै निर्वाचित भएर जान सक्नुहुन्थ्यो। सांसदहरूले जनप्रतिनिधिले तपाईंलाई जिताएर पठाउन सक्थे, जित पक्का हुने ठाउँमा किन रहर गर्नुभएन? 
मलाई सांसद मात्रै हुने रहर कहिल्यै भएन। संविधानसभामा चाहिँ मेरो दाबी नै थियो। किनभने संविधानसभामा लामो समयदेखि म महिला आन्दोलनमा पनि लडेको मान्छे, महिला आन्दोलनका सवालमा मैले धेरै काम गरेको छु। महिलाको अधिकारका क्षेत्रमा लामो काम गरेको कारणले मलाई संविधानसभामा चाहिँ समानुपातिक भए पनि जानुपर्छ भनेर म गएको हो।

संसद्‌मा समानुपातिकबाट जाने चाहना मलाई कहिले पनि भएन। सांसद भनेको जनताले अनुमोदन गर्नुपर्छ भन्ने लाग्छ। 

मकवानपुर-१ मा यसपटक ‘हेभिवेट’ नेताहरूबिच प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा तपाईंलाई पराजित गर्नुभएको दीपकबहादुर सिंह पुनः उम्मेदवार बन्नुभएको छ। एमालेबाट पुराना नेता रामेश्वर राना पनि चुनावी मैदानमा हुनुहुन्छ। यस्तो अवस्थामा तपाईंका लागि सबैभन्दा चुनौती कुन उम्मेदवारबाट देख्नुहुन्छ?
मैले सबै उम्मेदवारलाई बराबर प्रतिस्पर्धीका रूपमा लिएकी छु। अघिल्लो पटक जित-हारको आधारमा कसैलाई मात्र मुख्य चुनौती भन्न मिल्दैन। अन्य दलका उम्मेदवारहरू पनि उत्तिकै सक्षम र प्रतिस्पर्धी हुनुहुन्छ। ‘हेभिवेट’ भन्ने शब्दप्रति मेरो फरक दृष्टिकोण छ- राष्ट्रिय स्तरको अनुभव र योगदानका आधारमा म आफैँ पनि कमजोर उम्मेदवार होइन। त्यसैले हामी सबै बराबरी हैसियतमा प्रतिस्पर्धामा छौँ। हाल प्रतिस्पर्धा सौहार्दपूर्ण वातावरणमा भइरहेको छ। अन्ततः मकवानपुरका जनताले निष्पक्ष मूल्यांकन गरी न्यायपूर्ण निर्णय गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।

तपाईं मतदातासँग ‘एकचोटि न्याय गरिदिनुहोस्’ भनेर आग्रह गर्दै आउनुभएको छ। यदि यसपटक निर्वाचित हुनुभयो भने फेरि अर्को कार्यकालका लागि चुनाव लड्ने सोच राख्नुभएको छ कि यो नै अन्तिम प्रतिस्पर्धा हो?
अब म नेतृत्व क्रमशः नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने सोचमा छु। मेरो विश्वास छ- पाँच वर्षको कार्यकाल पाएँ भने परिणाम देखिने गरी काम गर्न सक्छु। मकवानपुरका जनताले भोलि पनि सम्झिरहने, नबिर्सिने काम गरेर देखाउने लक्ष्य छ।

यही प्रतिबद्धता मैले मतदातासमक्ष खुलेर व्यक्त गरेको छु। पाँच वर्ष इमान्दारीपूर्वक काम गरिसकेपछि जनताले सम्झिरहने योगदान दिन सकेँ भने फेरि अनिवार्य रूपमा निर्वाचन उठ्नै पर्छ भन्ने मेरो सोच छैन।

महिलाका लागि गर्नुपर्ने विकास र बनाउनुपर्ने ऐन के के रहेछन्? 
अहिले संसद्‌मा पुगेपछि मैले महसुस गरेको छु कि महिलासम्बन्धी धेरै ऐन र संवैधानिक व्यवस्थाहरू पर्याप्त रूपमा लागु भएका छैनन्। संविधानले निश्चित गरेको एकतिहाइ महिला सहभागिता हामी संसद् र प्रदेश तहमा पुर्‍याउन सफल भयौँ, तर स्थानीय तहमा अझै धेरै सुधार गर्न बाँकी छ।

भोलिका दिनमा महिलाको आर्थिक सशक्तीकरण, स्वास्थ्य र हिंसा निवारणका विषयमा संविधानमै संशोधन गरेर आवश्यक कदम चाल्नुपर्छ। संसद्‌मै मैले महिलाको स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राखेर बहस गरेकी थिएँ, तर आज पनि महिलाले पर्याप्त स्वास्थ्य सेवा पाएका छैनन्।

शिक्षा र स्वास्थ्यका जटिल समस्याहरूमा सुधार आवश्यक छ। म यसका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता राख्छु। यसैले मलाई ‘महिलावादी नेता’ भनेर कहिलेकाहीँ मात्र महिला मुद्दा उठाउने आरोप लाग्छ, तर मेरो प्रयास महिलासँग सम्बन्धित वास्तविक सुधारतर्फ केन्द्रित छ। 

अघिल्लो निर्वाचन अन्तर्घातले हार्न परेको गुनासो गर्नुभएको थियो। यसपालि त्यस्तो अवस्था दोहोरिने सम्भावना छ कि छैन?
अघिल्लो निर्वाचनमा हार्दा मैले पार्टीभित्र आफ्नो गुनासो राखेकी थिएँ। त्यो कुरा साथीहरूले पनि अहिले स्वीकार गर्नुभएको छ। मैले यो कुरा बाहिर मिडियामा कहिल्यै उठाएको छैन। मैले महसुस गरेको कुरा के भने त्यसबेला साथीहरू केही अन्योलमा थिए। अहिले त्यस्तो अवस्था छैन र त्यस समस्याले वर्तमान निर्वाचनमा बाधा पुर्‍याउने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad