बागमती


चितवन-१ मा रास्वपाले ढकाल दोहोर्‍याउँदा रोक्ने रणनीतिमा एमाले र कांग्रेस

चितवन-१ मा रास्वपाले ढकाल दोहोर्‍याउँदा रोक्ने रणनीतिमा एमाले र कांग्रेस

चितवन–१ का उम्मेदवारः बायाँबाट क्रमशः हरि ढकाल (रास्वपा), राजेन्द्रप्रसाद बुर्लाकोटी (कांग्रेस) र दावा दोर्जे लामा (एमाले)।


सुनिता विष्ट
माघ १६, २०८२ शुक्रबार १२:२१, हेटौँडा

चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा जित दोहोर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरानै उम्मेदवार उठाउँदा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने उनलाई रोक्न नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छन्। 

रास्वपाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हरि ढकाललाई नै यहाँ पुन: उम्मेदवार बनाएको हो। 

तर एमालेले यसपटक जातीय मत तान्ने रणनीतिका साथ यहाँ नेता सुरेन्द्र पाण्डेलाई रोक्दै तामाङ समुदायकै दावा दोर्जे लामालाई उम्मेदवार बनाएको छ।

यस्तै कांग्रेसले पनि यसपटक चितवन-१ मा नयाँ उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई उठाएको छ भने नेकपाले पनि पुराना उम्मेदवारलाई रोक्दै कृष्णराज पन्तलाई चुनावी मैदानमा पठाएको छ।

यस क्षेत्रमा तीन जना स्वतन्त्रसहित ९ उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धी भने उल्लिखित ४ दललाई ठानिएको छ।

चितवन-१ एमालेको प्रतिष्ठा जोडिएको क्षेत्र पनि हो। गत निर्वाचनमा एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएर रास्वपाका उम्मेदवार ढकाल विजयी भएका थिए।

यसपटक एमालेले पाण्डेलाई टिकट दिएन। यद्यपि उनी एमालेका उम्मेदवार जिताउन चुनावी मैदानमै खटिएका छन्।

एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष समेत रहेका उम्मेदवार लामालाई लिएर पाण्डे मत माग्न मतदाताका घरदैलोमा पुगिरहेका छन्।

२०७४ को आम निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित लामासँग प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय जिम्मेवारी  सम्हालेको अनुभव पनि छ।

२०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित पाण्डे २०७९ को चुनावमा भने हारे।

यता कांग्रेसबाट उम्मेदवार बनेका बुर्लाकोटी पार्टीका पुराना नेता हुन्। 

२०७० र २०७४ का निर्वाचनमा एमाले नेता पाण्डेसँग पराजित उनी २०७९ को निर्वाचनमा भने उम्मेदवार बनेनन्।

दुईपटक हारेका बुर्लाकोटी यसपटक कांग्रेस पुनर्गठित भएकाले जित्ने आशामा छन्। 

उनीहरूका बिच नेकपाले चितवन-१ मा कृष्णराज पन्तलाई अघि सारेको छ।

अर्थविद् पन्त यस क्षेत्रमा परिचित अनुहार हुन्। प्रभाव जमाउन सक्ने विश्वासमा नेकपाले उनलाई उम्मेदवार बनाएको हो। 

रास्वपालाई काउन्टर दिन ठुला दलहरूले रणनीतिक उम्मेदवार मैदानमा पठाउँदा अघिल्लो निर्वाचनमा ७ हजार मतान्तरले विजयी ढकाल आफ्ना पक्षमा माहोल बनाउन केन्द्रित देखिन्छन्।

गत निर्वाचनमा ढकाल ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डे ७ हजार ५ सय ८१ मतान्तरले हारेका थिए। 

पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार डा. विश्वनाथ पौडेलका पक्षमा २४ हजार ९ सय ९० मत परेका थिए। 

ठुला दलका नेताहरूलाई पाखा लगाउँदै फेरि चुनाव जित्न रास्वपाका ढकाललाई चुनौती छ। 

उता एमालेले गत निर्वाचनमा रास्वपामा गएको मत आफूतिर तान्न यसपटक तामाङ समुदायकै व्यक्तिलाई प्रतिस्पर्धामा पठाएको छ।

यस क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नरपालिकाको सबै वडा पर्छन्।

जातीय मत तान्ने राणनीतिसहित एमालेले लामालाई अघि सार्दा कांग्रेसले पुराना परिचित अनुहारलाई उम्मेदवार बनाएको छ।

२०७९ को समानुपातिक मत हेर्ने हो भने उक्त क्षेत्रमा पहिलो दल रास्वपा हो। 

रास्वपाले ३४ हजार ६९१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहँदै एमालेले २४ हजार ६ मत ल्याएको थियो। 

एमालेको गढ मानिने यहाँ ऊ गत चुनावमा प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि दोस्रो स्थानमा सीमित भएको थियो। 

प्रत्यक्षतर्फ तेस्रो भएको कांग्रेस समानुपातिकतर्फ पनि १६ हजार ६९५ मतका साथ तेस्रो नै भएको थियो।

अनि तत्कालीन नेकपा माओवादी केन्द्रले ४ हजार ९६५ मत प्राप्त गर्दा राप्रपाले ५ हजार ८२ मत ल्याएको थियो। 

यो अंकगणित हेर्ने हो भने रास्वपापछि एमाले र कांग्रेसको सम्भावना बलियो देखिन्छ।

गत चुनावका ठुला दलका उम्मेदवारलाई चुनौती बनेका रास्वपाका ढकाल भने अघिल्लो निर्वाचनमा प्राप्त मतका हिसाबले सुरक्षित नै देखिन्छन्।

चितवन-१ मा कुल १ लाख ४९ हजार ६२१ मतदाता छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रमा ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र तोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad