बागमती


कांग्रेस विशेष महाधिवेशन: बागमतीका ८ जिल्ला सभापति विपक्षमा उभिँदा यी ५ जना जुलुससहित पुगे भृकुटीमण्डप

कांग्रेस विशेष महाधिवेशन: बागमतीका ८ जिल्ला सभापति विपक्षमा उभिँदा यी ५ जना जुलुससहित पुगे भृकुटीमण्डप

सुनिता विष्ट
पुस २७, २०८२ आइतबार १४:२७, हेटौँडा

काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बागमती प्रदेशका ५ जिल्ला सभापति खुलेरै मैदानमा उत्रिएका छन्।

ललितपुर, काठमाडौँ, काभ्रे, रसुवा र सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति सक्रिय रूपमा विशेष महाधिवेशनमा सहभागी भएका हुन्। उनीहरूले जारी विशेष महाधिवेशनमा जुलुसको नेतृत्व गरेका हुन्। 

ललितपुरका कांग्रेस सभापति जितेन्द्रकुमार श्रेष्ठ, काठमाडौँ सभापति कृष्ण बानियाँ (सबुज), काभ्रेका सभापति तीर्थ लामा, रसुवाका सभापति पेम्बा छिरिङ तामाङ र सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले विशेष महाधिवेशनमा अगुवाइ गरिरहेका हुन्। 

पार्टीको विधानमा भएको कुरा कार्यान्वयन गरिएको जिकिर गर्दै कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नेपालखबरसँग भने, ‘विधानको धारा १७ को २ ले प्रस्टसँग भनेको छ- ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको आह्वान गरे भने कसैले पनि रोक्न पाउँदैन। यो विशेष महाधिवेशन आजको आवश्यकता हो। जेनजी मुभमेन्टले कांग्रेसको महाधिवेशन आवश्यक छ भनेर प्रस्ट पारेको छ।’

रसुवा जिल्ला सभापति पेम्बा छिरिङ तामाङले पनि विशेष महाधिवेशनमा जिल्लाका सबै प्रतिनिधिलाई भृकुटीमण्डपमा भेला हुन आग्रह गरेका छन्।

लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि विशेष महाधिवेशन अनिवार्य रहेको जिकिर उनले गरे।

कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले पार्टीमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताए।

कांग्रेसका युवा पुस्ताले परिवर्तनको नेतृत्व गर्ने आँट गरेका बेला सबैले सहयोग गर्नुपर्ने उनले बताए। 

‘हामी परिवर्तनका पक्षमा युवा नेतृत्वसँगै दृढतापूर्वक उभिएका छौँ’, उनले नेपालखबरसँग भने, ‘युवा नेतृत्वलाई इतिहास, वर्तमान र भविष्य जोड्ने नायकको रूपमा चित्रण गर्दै सिन्धुपाल्चोकका कांग्रेसीहरू रूपान्तरणको महाभियानमा होमिइसकेको छ। जिल्लाबाट मेरै नेतृत्वमा महाधिवेशन स्थलमा उपस्थित भइसकेका छौँ।’

सभापति लामाले विज्ञप्तिमार्फत जिल्लाभरका नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनमा सहभागी हुन आह्वान पनि गरेका छन्।

यस्तै महामन्त्री गगन थापानिकट ललितपुर सभापति श्रेष्ठले जिल्लाका नेता-कार्यकर्तालाई विशेष महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

यसैगरी काठमाडौँ सभापति बानियाँले विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षा गर्न नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै जेनजी आन्दोलनपश्चात् देशमा उत्पन्न संवैधानिक शून्यता निवारण एवं लोकतन्त्र जगेर्नाका लागि कांग्रेस नयाँ ढंगले अघि बढ्न आवश्यक भएको बताए। 

उल्लिखित ५ जिल्ला सभापति विशेष महाधिवेशनमा सक्रिय भइरहँदा बाँकी ८ जिल्लाका सभापति भने नियमित महाधिवेशनका पक्षमा उभिएका छन्। उनीहरूले शनिबारै संयुक्त विज्ञप्ति जारी गरी नियमित महाधिवेशनको तयारी भइरहेका बेला विशेष महाधिवेशन गर्नु गलत भएको बताएका छन्। 

दोलखाका सभापति बर्मा लामा, रामेछापका सभापति कान्छाराम तामाङ, सिन्धुलीका सभापति उपेन्द्र पोखरेल, धादिङका सभापति रामनाथ अधिकारी, नुवाकोटका सभापति रमेश कुमार महत, चितवनका सभापति राजेश्वर खनाल, मकवानपुरका सभापति बुद्ध लामा र भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा विशेष महाधिवेशनका विपक्ष उभिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad