ad ad

बागमती


बागमती : अझै चार मन्त्रालय कांग्रेसको पोल्टामा पार्न केन्द्रमा दौडधुप

बागमती : अझै चार मन्त्रालय कांग्रेसको पोल्टामा पार्न केन्द्रमा दौडधुप

मन्त्री बहादुरसिंह लामा


सुनिता विष्ट
बैशाख २२, २०८० शुक्रबार १४:२४, हेटौँडा

बागमती प्रदेश सरकारलाई पूर्णता दिने जिम्मेवारी नेपाली कांग्रसको काँधमा छ। यसैकारण कांग्रेस बागमती संसदीय दलका नेता एवं यहाँका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा केन्द्रीय राजधानी (काठमाडौँ) दौडधुप गरिरहेका छन्।

स्रोतका अनुसार उनी दुई मन्त्रालय पाइसकेको आफ्नो पार्टीलाई रिक्त पाँच मन्त्रालयमध्ये चारवटा दिलाउने प्रयासमा छन्। 

यसैका लागि मन्त्री लामाले कांग्रेसका शीर्ष नेताहरुसँगको छलफललाई बाक्लो बनाइरहेको दाबी स्रोतको छ।

बागमती प्रदेश सरकारका कूल ११ मन्त्रालयमध्ये हाल ६ वटामा मात्रै मन्त्रीको नियुक्ति भएको छ। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित कुमारी मोक्तान सामाजिक विकासमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री छन्। यस्तै कांग्रेसबाट बहादुरसिंह आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थबहादुर लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री छन्। अर्थात् अहिलेसम्म माओवादी केन्द्रले ४ र कांग्रेसले २ मन्त्रालय पाएका छन्। 

अब स्वास्थ्य मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय गरी ५ मन्त्रालय बाँकी छन्। यी मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन्। जसमध्ये एकीकृत समाजवादीले २ मन्त्रालय दाबी गरेको छ। तर उसलाई एउटा मन्त्रालय मात्रै दिएर बाँकी सबै (चारवटा) कांग्रेसकै भागमा पार्न मन्त्री लामा काठमाडौँ धाइरहेको स्रोतको भनाइ छ। 

मन्त्री लामाका स्वकीय सचिव राजेन्द्र फुयाँलले भने बागमती सरकारलाई पूर्णता दिने विषय मुख्य प्राथमिकतामा रहे पनि मन्त्री लामा बजेटबारे छलफलका लागि पनि काठमाडौँ केन्द्रित भएको बताउँछन्। 

‘मन्त्रीज्यूसहित हामी लामो समयदेखि काठमाण्डौंमै छौं। नुवाकोट–काठमाडाैं आउने/जाने क्रम चलिरहेको छ। अहिले मन्त्रीज्यूलाई मन्त्रालयमा कांग्रेसबाट ककसलाई पठाउने भन्ने ठूलो चिन्ताको विषय छ। यो विषयमा मुख्य छलफल भइरहेको छ, उनले नेपालखबरसँग भने, ‘योसँगै आगामी आर्थिक वर्षको बजेटको विषयमा पनि छलफल गर्न केन्द्र नछाडेका हौं।’

बागमती मन्त्रिपरिषद्लाई केही दिनभित्रै पूर्णता दिनेगरी कांग्रेका मन्त्री पठाउने तयारी भइरहेको स्वकीय सचिव फुयाँलले बताए। 

११० सदस्यीय बागमती प्रदेशसभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ। जसमा सबैभन्दा ठूलो दल कांग्रेस छ। ऊसँग ३७ सांसद छन्।यस्तै एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .