सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र मृत्यु भएका श्रीकृष्ण विकको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी पत्रअनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणको अनुसन्धान गर्न समिति बनाइएको हो।
गत चैत २८ गते खोटाङकी बालिकासँग अन्तरजातीय विवाह गरेका विकलाई बालिकाको परिवारले जबर्जस्ती करणी मुद्दा दर्ता गराएका थिए। काठमाडौँबाट नियन्त्रणमा लिएर सिन्धुली पठाएइका विकलाई खुर्कोटको हिरासतमा राखिएको थियो।
वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षको शौचालयमा उनले लगाएको सटको सहायताले झुन्डिएको अवस्थामा फेला परेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनाको यथार्थ तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिमा केन्द्रीय अनुसन्धान ब्युरो तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्यका रूपमा रहेका छन्। समितिको सदस्यमा प्रहरी उपरिक्षकहरू रविन्द्र नाथ पौडेल, ईन्द्रजित सुनार, प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक राजेश्वर सापकोटा रहेका छन्। समिति गठन भएसँगै मृतक युवकको शव पोष्टमार्टमको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसदहरू र मृतकका परिवारको माग अनुसार शवको पोष्टमार्टम काठमाडौँको टिचिङ हस्पिटलमा गरिने भएको छ। पोष्टमार्टमको लागि शव काठमाडौँ पठाईएको छ।

Shares

प्रतिक्रिया