बागमती


बागमतीमा मापसे र लापसे गरेर सवारी चलाउने १७ सय बढी चालकलाई कारबाही

बागमतीमा मापसे र लापसे गरेर सवारी चलाउने १७ सय बढी चालकलाई कारबाही

नेपालखबर
बैशाख २, २०८३ बुधबार २०:११, हेटौँडा

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने १ हजार बढी चालकलाई कारबाही गरेको छ। 

चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म प्रदेशअन्तर्गतका १० जिल्लामा (काठमाडौँ, ललितपुर र भक्तपुर बाहेक) गरिएको चेकजाँचका क्रममा मापसे र लापसे दुवैसम्बन्धी कुल १ हजार ७४० जना चालक कारबाहीमा परेका छन्।

मापसे चेकजाँचका क्रममा १ हजार ५४३ जना चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रहरी उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए। उनीहरूबाट ८ लाख १६ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको उनको भनाइ छ।

त्यस्तै, लागुपदार्थ सेवन (लापसे) सम्बन्धी चेकजाँचका क्रममा १ हजार ३१२ जनाको परीक्षण गरिएकोमा १९७ जना लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका छन्। फेला परेका सबै १९७ जनाविरुद्ध कसूर दर्ता गरी अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

लापसे चेकजाँचका लागि प्राप्त १ हजार ७६३ ड्रग्स टेस्ट किटमध्ये हालसम्म १ हजार ३१२ प्रयोग गरिएको र बाँकी ४५१ किट मौज्दात रहेको जानकारी पनि प्रहरीले दिएको छ। उक्त किटहरू नेपाल प्रहरी प्रधान कार्यालय, जनस्वास्थ्य कार्यालय तथा स्थानीय निकायबाट प्राप्त भएका हुन्।

प्रहरीका अनुसार पछिल्लो समय लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधनसमेत चलाउने प्रवृत्ति बढ्दै गएकोले मापसे–लापसे दुवै नियन्त्रणलाई विशेष अभियानका रूपमा अघि बढाइएको छ। यात्रु, सवारी साधन र सडकलाई सुरक्षित बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित चेकजाँचसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सवारी दुर्घटनाको प्रमुख कारणमध्ये मापसे र लापसे दुबै रहेको तथ्यांकका आधारमा प्रहरीले चेकजाँचलाई प्राथमिकतामा राख्दै कडाइका साथ कारबाही अघि बढाएको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad