ललितपुरमा आज (आइतबार) बिहान इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार व्यक्ति घाइते भएका छन्।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार ललितपुर महानगरपालिका-२८, हरिसिद्धीस्थित होसना इँटाभट्टाको पर्खाल भत्किएको हो।
‘घटना आज बिहान १०:१० बजेतिर भएको हो’, उनले नेपालखबरसँग भने, ‘इँटाभट्टामा काम गर्ने क्रममा इँटाभट्टाको वाल भत्किँदा ५ जना घाइते भएका थिए। तीमध्ये रुकुम घर भई हाल सो इँटाभट्टामा काम गर्ने वर्ष ५५ की तिल्सरी खड्काको उपचारका क्रममा (मेडिसिटी अस्पतालमा) बिहान १०:३० बजे मृत्यु भयो।’
एसपी मिश्रका अनुसार अन्य घाइते रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षकै शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमालको भने उपचार जारी छ।
घाइतेमध्ये जानकीको अवस्था भने गम्भीर रहेको उनले बताए। उनका दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ भने बोल्न सक्दिनन्। थप उपचारका लागि उनलाई मेडिसिटीबाट मोडल अस्पताल रिफर गरिएको उनले बताए।
अन्य घाइतेमा शान्ति कुँवर अवस्था मध्यम छ। उनका दुवै खुट्टामा चोट लागेको छ भने बोल्न सक्ने छिन्।
यस्तै नन्दकुमारीको अवस्था पनि मध्यम छ। दुवै खुट्टामा चोट लागेकी उनी बोल्न सक्ने छिन्।
यसैगरी सुमा कुमालको अवस्था पनि मध्यम छ। बाँया खुट्टा र बायाँ हातमा चोट लागेको उनी पनि बोल्न सक्ने अवस्थामा छन्।
Shares

प्रतिक्रिया