काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-२ स्थित चपलीको सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकर आज (बुधबार) बिहान नेपाली सेनाको टोलीले हटाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी पवन भट्टराईका अनुसार चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा मंगलबार राति कागजले बेरेर राखिएको अवस्थामा कुकर भेटिएको हो।
‘त्यस स्थानलाई रातभर सुरक्षित राखेर आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली गएर हेर्दा सलाईको काँटीसमेत हालेर तार जोडेर छाडेको कुकरभित्र इँटाका टुक्रा भेटिए’, उनले नेपालखबरसँग भने।
चुनाव बिथोल्ने मनसायले कसैले त्यसो गरेको हुन सक्ने उनले बताए। यद्यपि कुनै पर्चा नभेटिएकाले कुन समूहले त्यसरी कुकर राखेको थियो भन्ने स्पष्ट हुन सकेन।
अहिले त्यहाँको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए।
भोलि फागुन २१ गते बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदै छ।
Shares

प्रतिक्रिया