बागमती


सिन्धुपाल्चोक-१: अग्नि सापकोटाको विरासत जोगाउने दबाबमा माधव, एमाले, कांग्रेस र रास्वपाको चुनौती

सिन्धुपाल्चोक-१: अग्नि सापकोटाको विरासत जोगाउने दबाबमा माधव, एमाले, कांग्रेस र रास्वपाको चुनौती

सुनिता विष्ट
फागुन ६, २०८२ बुधबार २१:२१, हेटौँडा

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ मा दलहरूबीच प्रतिष्ठाको लडाइँ हुने भएको छ। यसअघिका निर्वाचनमा गठबन्धन गर्दै आएका राजनीतिक दलहरू एक्लाएक्दै चुनावी मैदानमा होमिएका छन्। यस क्षेत्रका लागि ३ स्वतन्त्र सहित १८ जनाले उम्मेदवारी दर्ता राएका छन्।  

निर्वाचनका लागि उम्मेदवार बनेकाहरू सबै एकअर्काका लागि चुनौती हुन्। तथापि, जित्ने आधार बलियो भएका र निर्वाचन क्षेत्रमा जनमत बलियो भएको आधारमा यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई हेर्ने गरिएको छ।

नेकपाबाट माधव सापकोटा उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसबाट जंगबहादुर लामा, नेकपा एमालेबाट सरेश नेपाल, रास्वपाबाट भरतप्रसाद पराजुली र राप्रपाबाट राममणि न्यौपाने उम्मेदवार छन्। 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका माधव सापकोटा र सरेश नेपाल पुनः आमनेसामने भएका छन्। २०७९ को निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका सापकोटा ३ हजार ३५६ मतान्तरले विजयी भएका थिए। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गर्दा एमालेका नेपालले २७ हजार १८ मत प्राप्त गरेका थिए। त्यतिबेला यस क्षेत्रमा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो। 

यो पटक दलहरूले आ–आफ्नो उम्मेदवार लिएर चुनावी मैदानमा जाँदा कस्तो नतिजा आउला भन्ने कौतुल्हलता मतदातामा पनि छ।सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनेका तीनै दलका नेताहरू जिल्लाका परिचित अनुहार हुन्। यहाँ निरन्तर अग्नि सापकोटाले जित्दै आएको क्षेत्र हो। २०६४ को संविधान सभा निर्वाचन, २०७० को दोस्रो संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए। 

माधव अग्निप्रसाद सापकोटाका आफ्नै भतिजा हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएर सभामुख बनेका उनले युवा पुस्तालाई अघि सार्दै मैदान खाली गरेका थिए। माओवादी सशस्त्र द्वन्द्वको राजनीतिबाट उदाएका माधव दोस्रो पटक जित निकालेर सापकोटा परिवारको साख जोगाउने दबाबमा छन्।   

३३ महिना प्रतिनिधि सभामा रहँदा उठाएका आवाजहरू नै आउँदो निर्वाचन जित्ने आधार रहेको उनी बताउँछन्। भुँइमान्छेहरूको आवाजलाई सदनमा पुर्याउने, जनपक्षीय ऐनहरू निर्माण गर्ने काममा आफ्नो महत्वपूर्ण भूमिका रहेको सापकोटाले दाबी गरे। 

उनले भने, ‘मेरो कार्यकालमा तातोपानी नाका सञ्चालन, जुरेपीडितहरूलाई एकवर्षपछि न्याय र जुगल हिमालको पर्यटन प्रवर्द्धन र अन्य विकास निर्माणका लागि ७ अर्बभन्दा बढीको योजना भित्र्याएको छु। कानुन निर्माण देखि विकास निर्माणसम्म नै ध्यान दिएको छु। बीचमै सदन छोड्नुपर्दा अपूरा रहेका योजना पूरा गर्नको लागि उम्मेदवारी दिएको हुँ। जनताले मलाई जिताउनुहुन्छ।’

यता, एमालेबाट उम्मेदवार बनेका सरेश नेपाल २०७९ को हारलाई जितमा बदल्ने रणनीति सहित मैदान उत्रिएका छन्। २०७४ को निर्वाचनमा बागमती प्रदेश सभामा निर्वाचित भएर प्रदेशको वन मन्त्रीको अनुभव बटुलेका नेपालले जिल्लाको प्रभावशाली नेताको छवि बनाएका छन्।

नेकपा एमालेले अन्तिम समयमा टिकट प्रदान गरेका नेपाल गठबन्धन नभएको मौका छोप्ने दाउमा छन्। अघिल्लो निर्वाचनमा तीनदल एकैठाउँमा हुँदा ३ हजार मतान्तरले मात्रै पराजित भएका उनी दलहरू एक्ला एक्लै चुनाव लडेको फाइदा उठाउन चाहन्छन्। 

यस क्षेत्रको विकासको लागि आफ्नो अतुलनीय योगदान रहने नेपाल बताउँछन्। यो बेला आवेगले भन्दा पनि विकेकले निर्णय लिनुपर्ने उनको भनाइ छ। 

‘मैले प्रदेश सभामा रहँदा पनि यस क्षेत्रका लागि धेरै विकास भित्र्याएको छु। यही आधारमा मलाई विजयी गराउनुहुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘प्रतिनिधि सभा सांसद बनेपछि मतदाताले महसुश गर्नेगरी काम गर्नेछु।’

नेपाली कांग्रेसबाट यस क्षेत्रमा उम्मेदवार बनेका जंगबहादुर लामा पनि बलियो प्रतिस्पर्धी हुन्। कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति समेत रहेका लामा लामो समयदेखि राजनीतिमा खारिएका पात्र हुन्। तर उनको प्रतिनिधि सभा निर्वाचनको दौड भने पहिलो हो।

कांग्रेसले कहिल्यै नजितेको यस क्षेत्रमा उनी इतिहास रच्ने दाउमा छन्। बदलिएको कांग्रेसको नारा बोकेर मतदाता रिझाउन व्यस्त उनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि पर्यटनका क्षेत्रमा विकास गर्ने एजेन्डा लिएका छन्। 

यस क्षेत्रका लागि रास्वपा र राप्रपाले पनि चुनावी अंकगणितमा फरक पार्न सक्ने स्थानीको आकंलन छ। पछिल्लो समय रास्वपाको लहरले यस क्षेत्रलाई पनि छोएको छ। रास्वपाबाट उम्मेदवार बनेका भरतप्रसाद पराजुली लामो समय नेकपा एमालेमा रहेर राजनीति गर्दै आएका पात्र हुन्। उनले रास्वपा लहरको मत तान्ने र एमालेका असन्तुष्ट मत काट्ने आकलन गरिएको छ।

यस्तो छ समानुपातिक मत
२०७९ को प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत हेर्ने हो भने यहाँ सबैभन्दा ठूलो दल एमाले नै हो। एमालेले २२ हजार ७४ मत प्राप्त गरेर अगाडि थियो भने दोस्रो स्थानमा रहेको कांग्रेसले १७ हजार २५० मत प्राप्त गरेको थियो। यस्तै, तत्कालीन नेकपा माओवादी केन्द्रले १४ हजार ८८५ मत ल्याएर तेस्रो भएको थियो भने रास्वपाले ५ हजार ३६६ मत ल्याएको थियो। 

यो अंकगणित हेर्ने हो भने आफ्नो संगठनको मत जोगाउन सके यस क्षेत्रमा एमालेका उम्मेदवार नेपालको पल्लाभारी हुने देखिन्छ।

एमालेभन्दा ५ हजार मतले पछाडि रहेको कांग्रेस र कांग्रेससँग करिब ३ हजार मतले पछि रहेको नेकपालाई मुख्य प्रतिस्पर्धीको रुपमा हेर्न सकिन्छ। तर जेन–जी आन्दोलन पछि हुन लागेको यो निर्वाचनमा विगतको मतकै आधारमा आकलन गर्न कठिन हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad