बागमती


बागमतीबाट राष्ट्रिय सभा यात्रामा दंगाल र देवकोटाः पञ्चायतकालबाटै राजनीति, अहिले अवसर

बागमतीबाट राष्ट्रिय सभा यात्रामा दंगाल र देवकोटाः पञ्चायतकालबाटै राजनीति, अहिले अवसर

सुनिता विष्ट
माघ ११, २०८२ आइतबार १८:५, हेटौँडा

बागमती प्रदेशबाट राष्ट्रिय सभामा नेकपा एमालेका प्रेम दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन्।

एमाले र कांग्रेस गठबन्धनका साझा उम्मेदवार बनेका दंगाल र देवकोटा विजयी भएका हुन्। आज (आइतबार) बिहान ९ बजेबाट सुरु भएको मतदानमा दंगाल ६ हजार ६२ मतभार सहित विजयी भए भने देवकोटाले ६ हजार २ सय ५ मत प्राप्त गरिन्।

खोटाङको साकेला गाउँपालिकामा जन्मिएका दंगालको यो पहिलो संसदीय यात्रा हो। २०२० सालमा जन्मिएका उनी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका थिए। २०३६ सालमा अनेरास्ववियुको राजनीतिमा लागेका उनी पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए। 

यसअघि २०८० मा भएको राष्ट्रिय सभा निर्वाचनमा पनि दंगालको नाम पार्टीले सिफारिस गरेको थियो। उम्मेदवारी दर्ता गर्न हेटौँडा झर्ने बेलामा उनको नाम काटियो। २०६४ को संविधान सभा सदस्यको निर्वाचनमा पनि समानुपातिक सिफारिसमा परेका थिए। तर प्राथकिमतामा परेनन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि समानुपातिक तर्फ सिफारिस भएका उनी संसदीय यात्रामा निस्कन पाएका थिएनन्। 

पार्टीभित्रको प्रतिस्पर्धाका कारण २०६४ यता पटक/पटक संसदीय यात्रामा रहर गरेपनि उनको इच्छा पूरा भएको थिएन। समानुपातिकमै रहर गरिरहेका दंगाल पहिलो पटक निर्वाचित भएर राष्ट्रिय सभामा पुगेका छन्। विगत ५ वर्षदेखि अखिल नेपाल किसान महासंघको अध्यक्षको जिम्मेवारीमा रहेका दंगालले त्रिभुवन विश्व विद्यालयस्थित धरानको महेन्द्र क्याम्पसबाट ग्रामिण अर्थतन्त्र विषयमा डिप्लोमा गरेका छन्। 

यता, दुईदलीय गठबन्धनबाट उम्मेदवार बनेर विजयी भएकी कांग्रेसकी गीता देवकोटा पनि पहिलो पटक संसदीय यात्रामा निस्किएकी हुन्। चितवनको रत्ननगर नरपालिका–१४ घर भएकी देवकोटा कांग्रेसको राजनीतिमा लामो समय संघर्ष गरेकी महिला हुन्। २०२८ सालमा बुवा धनराम पन्त र आमा रिता कुमारी पन्तको कोखबाट जन्मिएकी देवकोटा विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएकी हुन्।

२०४४ सालदेखि राजनीतिमा लागेकी देवकोटाको २०४५ सालमा गोरखाको फुजेल गाउँका दिलभद्र देवकोटासँग बिवाह बन्धनमा बाँधिएकी थिइन्। एउटा छोरालाई जन्म दिएकी उनी २१ वर्षकै उमेरमा एकल महिला बनिन्। २०४९ सालमा उनको श्रीमान्को मृत्यु भएको थियो। श्रीमान्को मृत्यु पश्चात् एक वर्ष शोकमै बिताएकी देवकोटा २०५० सालबाट पूर्णकाीन राजनीतिमा होमिएकी थिइन्। 

२०५४ को जिल्ला विकास समितिको निर्वाचनमा सदस्य पदको उम्मेदवार बनेकी उनी भारी मतका साथ विजयी भइन्। रत्ननगरमै मौरी पालनमा लागेर मह उत्पादक उद्यमीको पहिचान बनाएकी देवकोटाले योबीचका धेरै निर्वाचनहरूमा सहभागी हुने रहर गरिन्। २०७४ को स्थानीय तह निर्वाचनमा रत्ननगर नगरपालिकाको उपमेयरमा आंकक्षा गरे पनि टिकट पाइनन्। 

‘२०७९ को निर्वाचनमा मेयरको टिकटको लागि पनि धरै कोसिस गरेको थिएँ, उनले भनिन्, ‘त्यो बेलामा पनि त्यस्तै भयो। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभानुपातिकमा सिफारिस भएँ। तर सांसद बन्न पाइनँ। आउँदो फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्छु भने इच्छा देखाएको थिएँ। पार्टीले सहज हुन्छ भनेर राष्ट्रिय सभामा उम्मेदवार बनाएर पठाउनु भयो। लामो संघर्षपछि सफल हुन पाउँदा निकै खुसी लागेको छ।’

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि उनले राजनीतिमा सबैभन्दा पहिलो कुरा अनुशासन र धैर्यता आवश्यक रहेछ भन्ने पाठ सिकेको बताइन्। 

निर्वाचित दुवैजनाले विद्यार्थीकालबाटै राजनीति सुरु गरे पनि केश पाकेपछि मात्रै पार्टीले संसदीय यात्राको अवसर प्रदान गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad