बागमती


हेटौँडामा सडक विस्तारबारे कमल थापा: नम्बरी जग्गामा बनेका संरचना अतिक्रमण होइन

हेटौँडामा सडक विस्तारबारे कमल थापा: नम्बरी जग्गामा बनेका संरचना अतिक्रमण होइन

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १३:३९, काठमाडौँ

हेटौँडा बजार हटाएर सडक फराकिलो पार्ने तयारीप्रति पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति प्रकट गरेका छन्। 

हेटौँडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरी सडक क्षेत्रभित्र रहेका घरटहरा तथा संरचना यही मंसिर १९ भित्र हटाउन अन्यथा २० गते डोजर चलाउने चेतावनी दिएको छ। 

उक्त निर्णयविरुद्ध स्थानीय व्यवसायी तथा घरधनी आन्दोलनमा उत्रिएका बेला राप्रपा नेपालका अध्यक्ष थापाले पनि उनीहरूका पक्षमा मत राखेका हुन्।

राजमार्ग बन्नुअघि नै बनेका घरटहरा तथा संरचना अहिले हटाउनु उचित नहुने तर्क गर्दै उनले आफू उपप्रधानमन्त्री रहेका बेलाको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार बाइबास बनाउनु उत्तम विकल्प हुने प्रस्ताव गरेका छन्। 

‘राजमार्ग निर्माणपूर्व नै सहर विकसित भइसकेको थियो, त्यसैले अहिले त्यही बस्तीभित्र डोजर चलाउनु तर्क संगत हुँदैन’, बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘शेरबहादुर देउवा नेतृत्वको सरकारमा म उपप्रधानमन्त्री रहँदा बजार क्षेत्रमा १६/१६ मिटर सडक कायम गर्ने तथा रातोमाटेदेखि–राप्ती खोला–सामरीसम्म बाइपास निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट अनुमोदन भएको थियो। २०७४ को निर्वाचनमा म हारेँ। मन्त्रिपरिषद्को उक्त निर्णय दबाइयो। मकवानपुरका कमजोर जनप्रतिनिधिहरूले यो विषय फेरि उठाउन सकेनन् र अहिलेको नियति आयो। वास्तवमा बाइपासको विकल्प नै उत्तम हो।’

राजमार्ग बन्नुअघि नै नम्बरी जग्गामा बनेका संरचना अतिक्रमण नभएको तर्क गर्दै थापाले सडक विस्तारका नाममा जनताको सम्पत्ति अनधिकृत ढंगबाट कब्जा गर्न नपाइने जिकिर गरेका छन्। 

‘राजमार्ग बन्नुअगावै वैध नम्बरी जग्गामा बनेका संरचना कदापि अतिक्रमण होइन। मैले बाटो फराकिलो पार्ने कुराको विरोध गरेको होइन, तर जनताको सम्पत्ति सरकारले अनधिकृत ढंगबाट कब्जा गर्न पाइन्न’, उनले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad