मकवानपुरको विभिन्न स्थानमा खेती गरिएको गाँजा प्रहरीले फडानी गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौंडाबाट खटिएको संयुक्त टोलीले गत सोमबारदेखि बिहीबार (हिजो) सम्म सञ्चालन गरेको अभियानमा करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त संयुक्त टोलीमा १०२ जना सुरक्षाकर्मी सहभागी थिए।
मकवानपुरको उत्तरी भेगस्थित राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार र देबुटार क्षेत्र, कैलाश गाउँपालिका अन्तर्गतका सातकन्या, खैरेनी, जोईटी क्षेत्र तथा भीमफेदी गाउँपालिका अन्तर्गतका भदौरे र ज्यार्बु लगायतका स्थानमा पुगेर अवैध गाँजा खेती फडानी गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए।
उनका अनुसार सुरक्षाकर्मीहरूले गाँजाका बोट पूर्ण रूपमा नष्ट गरेको र त्यस्तो खेती दोहोरिन नदिन स्थानीय तह तथा सरोकारवालासँग समन्वय गरिएको बताइएको छ।
Shares

प्रतिक्रिया