जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश सरकारका अधिकांश संरचना ध्वस्त भएका छन्। यहाँका १४ मन्त्रालयमध्ये ८ वटा काम नलाग्ने गरी क्षति भएका छन्।
प्रदेश राजधानी हेटौँडास्थति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय भने बचेका छन्।
वन तथा वातावरण मन्त्रालयमा सामान्य तोडफोड भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सबै सामान र कागजात जोगिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने पूर्ण रूपमा ध्वस्त भएका छन्।
सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको भवनमा पनि क्षति पुगेको छ।
प्रदेश सभाभवन पनि काम नलाग्नेगरी ध्वस्त भएको छ भने प्रदेश मन्त्रालय माताहतका अधिकांश कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको छ।
जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका दुई घरमा पनि आगजनी गरिए।
प्राप्त सूचनाअनुसार मुख्यमन्त्रीबाहेक अन्य मन्त्रीका घर भने सुरक्षित छन्।
जेनजी आन्दोलन भएको एक साता बित्यो।
ध्वस्त मन्त्रालय तथा सरकारी कार्यालयका कर्मचारीहरू यतिबेला सरसफाइमा जुटेका छन्। उनीहरू खरानी सोहोर्ने तथा डढेका सामान व्यवस्थापन गरिरहेका छन्।
तर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरू भने अहिलेसम्म राजधानी हेटौँडा फर्किएका छैनन्।
मन्त्रालयका सचिवको रहोबरमा मन्त्रालय सरसफाइ भइरहेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बताए।
सामाजिक विकास मन्त्रालयको समेत सचिवको जिम्मेवारीमा रहेका उनले प्रदेशसभाको पुरानो भवन र सामाजिक विकास मन्त्रालय दुवैको सरसफाइ भइरहेको जानकारी दिए।
सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहिलो तलामा क्षति पुगे पनि बचेका सामानलाई सुरक्षित स्थानमा सार्ने, फुटेका सिसा र खरानी हटाउने काम भइरहेको मन्त्रालयका सूचना अधिकारी रामहरी गजुरेलले जानकारी दिए।
उनका अनुसार माथिल्लो तलामा रहेको मन्त्रीको कार्यकक्ष, सचिवको कार्यकक्ष र केही शाखा जोगिएका छन्।
मन्त्रालय र कार्यालयमा कर्मचारीहरू हेरचाह र सरसफाइमा जुटिसक्दा मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशको राजधानी नै नफर्कनु गैरजिम्मेवारीपन भएको टिप्पणी हुन थालेको छ।
तर प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ बागमती प्रदेश सरकारका भौतिक संरचनामा भएका क्षति र विकल्पबारे छलफल भइरहेको बताउँछन्। मन्त्रालयको अवस्था हेरेर अन्त रहेका सरकारी भवनमा सार्ने विषयमा आन्तरिक छलफल भइरहेको उनको भनाइ छ।
‘प्रदेशको चिन्ता नभएर हामी घरमै बसेका होइनौँ। कसरी सेवा प्रवाह गर्ने भन्ने चिन्तामै छौँ, प्रवक्ता तामाङले भने, ‘हिजो काठमाडौँमै मुख्यमन्त्रीज्यूको नेतृत्वमा सबै मन्त्रीसहितको आन्तरिक छलफल गर्यौँ। पूर्ण क्षति भएको मन्त्रालयलाई अन्यत्र सार्ने र कम क्षति भएको मन्त्रालयलाई पुनर्निर्माण गरेर सेवा प्रवाह सुरु गर्ने भन्ने सल्लाह भएको छ।’
उनका अनुसार छलफलमा मुख्यमन्त्री बानियाँसहित १४ जनै मन्त्री उपस्थित थिए।
मन्त्रालयका भवन बस्न योग्य छन् कि छैनन् भन्ने टुंगो लगाएपछि विकल्पका विषयमा निर्णय गरिने प्रवक्ता तामाङको भनाइ छ।
Shares

प्रतिक्रिया