बागमती प्रदेश सुरक्षा समितिकोे बैठकले शान्ति सुरक्षा सुदृढीकरणदेखि विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा चाडपर्वमा सुरक्षा सतर्कतासम्मका निर्णय गरेको छ।
बुधबार (हिजो) साँझ प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष उपस्थिती तथा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सुरक्षा समितिका संयोजक शिवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनको तयारीदेखि सामाजिक सञ्जाल निगरानीसम्मको निर्णय गरेको हो।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रादेशिक कार्यालयहरूले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिएका थिए।
वर्षा, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि उच्चस्तरीय एकीकृत संयन्त्रमार्फत आवश्यक पूर्वतयारी गर्न र सुरक्षात्मक कदम चाँडै चाल्न निर्देशन दिइएको छ।
त्यस्तै, प्रदेशभित्र अवैध रुपमा हातहतियार लुकाएर राखेको हुनसक्ने भन्दै अवैध हातहतियार बुझाउन सूचना जारी गर्ने र प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
यस्तै लागुऔषध नियन्त्रणका सन्दर्भमा गाँजा, चरेश र अफिम अत्यधिक खेती हुने क्षेत्रलाई पहिचान गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर विद्यालय र समुदायस्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। जसका कारण लागुऔषध सेवन तथा ओसारपसारमा कमी ल्याउन सकिने अपेक्षा गरिएको छ।
यस्तै, दसैँ, तिहार, छठ लगायतका प्रमुख चाडपर्वमा जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्पूर्ण सुरक्षा निकायलाई आवश्यक तयारी र व्यवस्थापन गर्न निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रदेश सुरक्षा समितिका संयोजक एवम् आन्तरिक मामिला्मन्त्री शिवराज अधिकारीले जानकारी दिए।
यसैगरी, सामाजिक सञ्जालमार्फत नियोजितरूपमा भ्रम फैलाउने, सद्भाव खलल गर्ने वा द्वन्द्व सृजना गर्ने गतिविधिको निरन्तर निगरानी गर्न तथा त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गर्न बागमती प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको अधिकारीले जानकारी दिए।
Shares

प्रतिक्रिया