बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सांसदहरुको हस्ताक्षर बटुल्दैमा मुख्यमन्त्री हुन्छु भन्ने सोच राख्नु नै गलत भएको बताएका छन्।
शनिबार नेपालखबरसँग कुराकानी गर्दै उनले प्रदेशका सांसदहरुले अराजक कार्य गरेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सांसदहरुको हस्ताक्षर कागजमा उतारेपछि मुख्यमन्त्री भइन्छ भन्ने सोच राख्नु नै गलत भएको उल्लेख गरे।
आफनै पार्टीका सांसदबाट अविश्वास प्रस्ताको सामना गरिरहेका लामाले एउटा सांसदको लहलहैमा लागेर मन्त्री पदबाटै राजीनामा दिनेदेखि एउटा व्यक्ति बोकेर दलको नेता बनाउँछु भनेर लाग्नु अराजक गतिविधि भएको टिप्पणी गरे।
‘उहाँहरुले एउटा अराजक काम गरेर दलको नेतामाथि अविश्वासको प्रस्ताव दर्ता गराउनुभयो’, मुख्यमन्त्री लामाले भने, ‘अब १५ दिनभित्र दलको चुनाव हुन्छ। मैले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छैन। त्यसकारण राजीनामा दिन्नँ। दलको नेताको चुनावमा होमिन्छु।’
संसदमा आएपछि संसदीय दलको चुनाव भएको र त्यसमा सांसदको मत प्राप्त गरेरै नेता चुनिएको बताउँदै उनले थपे, ‘उहाँ (इन्द्रबहादुर बानियाँ) त करिब ८ वर्ष प्रदेश सांसद भैसक्नु भयो। यो बीचमा ४/५ पटक मुख्यमन्त्री बन्न खोज्नुभएकै हो। संसदीय दलको नेताको चुनाव हारेर थन्किनुभएको मान्छे हो। फेरि यो बीचमा यस्तो अराजक हर्कत गर्न खोज्नुले नै उहाँको स्वार्थ स्पष्ट देखिन्छ।’
मुख्यमन्त्री लामाका अनुसार बानियाँ आफैले म मुख्यमन्त्री बन्दै छु भन्दै अपवाह फैलाएर सांसदहरुलाई मन्त्री बनाइदिने सर्तसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न लगाएका हुन्।
‘संसदीय दलको चुनावबाट निर्वाचित भएर म दलको नेता बनेको हुँ, यो बीचमा आएर निहुँ खोज्नु ठिक होइन,’ मुख्यमन्त्री लामाले भने, ‘मुख्यमन्त्रीबाट हटाएर देखाउन म चुनौती दिन्छु। मैले किन पदबाट राजीनामा दिने? राजनीति गर्नेले ढोकाबाट आउन पर्ने हो, चोरबाटो प्रयोग गरेर झ्यालबाट आएर हुन्छ? यसको पनि विधि र पद्धती मान्नु पर्दैन?’
बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ। जसमध्ये २१ सांसदले दलका नेता लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। दलको नेताबाट राजीनामा दिएर चुनावमा होमिनु परेपनि मुख्यमन्त्री पद केही नहुने मुख्यमन्त्री लामा बताउँछन्।
Shares

प्रतिक्रिया