काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदलिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अहिले (शनिबार बिहान) उपत्यकाका कतै कतै पानी छिटाएको पनि देखिन्छ।
‘तर ठूलो पानी पर्ने सम्भावना देखिँदैन’, उनले भने, ‘मौसम भने आज बेलाबेला घाम देखिए पनि बदली बदलीकै अवस्थामा रहने देखिन्छ।’
मौसमविद् अर्यालयका अनुसार काठमाडौँ उपत्यकामा आज हल्का वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,
आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ।
आज रातमा: कोसी प्रदेशका पहाड र तराई भूभागलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया