बागमती


बागमतीको बजेट पुग्यो गण्डकीमा, हुँदै नभएको ठाउँमा पुल बनाउन २५ लाख

कार्यकर्ता रिझाउन टुक्रे योजनाको चाङ
बागमतीको बजेट पुग्यो गण्डकीमा, हुँदै नभएको ठाउँमा पुल बनाउन २५ लाख

सुनिता विष्ट
असार १२, २०८२ बिहिबार २०:१५, हेटौँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि कूल ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको बजेट ल्यायो। असार १ गते बसेको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट तथा योजना प्रस्तुत गरे।

संसदमा बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले छुट्याएको बजेटको कार्यक्रमहरू पनि सार्वजनिक भयो। जब प्रदेश सरकारले ल्याएको बजेट, योजना र कार्यक्रम सार्वजनिक भयो, तब प्रदेश सरकारप्रति प्रदेश सभामा रहेका विपक्षी दलहरू त असन्तुष्ट भए नै। सत्ता पक्षकै सांसद तथा मन्त्रीहरू समेत नै असन्तुष्ट देखिए। 

बजेटप्रति असन्तुष्ट हुनुको पहिलो कारण थियो, मनलाग्दी स्थानमा आफूअनुकुलको बजेट। ६२८ पृष्ठको कार्यक्रममा बजेट छुट्याएको बागमती प्रदेश सरकारले बागमती प्रदेश बाहिरका स्थानमा करोडौँ बजेट छुट्याएको छ भने बजेट शीर्षकमा संस्थाको नामै तोकेर बजेट विनियोजन गरिएको छ। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गण्डकी प्रदेशमा रहेको एक विद्यालयका लागि बजेट विनियोजन गरेको पाइएको छ। बजेट किताबको ५२७ पृष्ठमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती नगरपालिका–२ स्थित शिव माध्यामिक विद्यालय परिसर तथा आसपासका क्षेत्रमा पूर्वाधार निर्माण कार्य शीर्षकमा १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। 

यता, सोही मन्त्रालयले हेटौँडामा हुँदै नभएको वडाको नाममा समेत बजेट विनियोजन गरेको पाइएको छ। बजेट किताबको ४७२ पृष्ठमा पूर्वाधार विकास कार्यालय मकवानपुरबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० र २२ जोड्ने पुल निर्माण शीर्षकमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जबकी हेटौँडा उपमहानगरपालिकामा जम्मा १९ वटा मात्रै वडाहरू छन्।

प्रदेश सरकारले वर्षेनी सोही शीर्षकमा बजेट राख्ने गरेको छ। तर उक्त बजेट कहाँ खर्च हुन्छ? भन्ने विषय रहस्यमा छ। 

त्यसोत, बजेट निर्माणमा सो मन्त्रालय गम्भीर नबनेको पाइन्छ। सामाजिक विकास मन्त्रालयको क्षेत्राधिकार भित्र शिक्षा, सामाजिक विकास र विज्ञान प्रविधि पर्छ। तर उक्त मन्त्रालयले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेट तथा कार्यक्रममा स्वास्थ्य र खेलकुद क्षेत्रका लागि समेत बजेट छुट्याएको छ।

स्वास्थ्य संस्थाको भवन निर्माणदेखि रंगशाला निर्माणसम्मका लागि सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको हो। 

बजेट किताबको ५९१ नम्बरको पृष्ठमा आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरको भवन निमार्ण शीर्षकमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने बज्रबाराही चापागाउँ अस्पताल, ललितपुर भवन निर्माण शीर्षकमा पनि ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

यी दुवै शीर्षकको बजेट सामाजिक विकास कार्यालय भैँसेपाटी, ललितपुरबाट कार्यान्वयन हुने गरी विनियोजन गरिएको हो। स्वास्थ्य क्षेत्रको लागि बजेट बनाउने तथा कार्यान्वयन गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको हो भने भवन निर्माणको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छ। 

यता, प्रदेश सरकारको बजेट किताबमा व्यक्तिको नाम नै तोकेर बजेट विनियोजन भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय, चितवनबाट बजेट कार्यान्वयन हुनेगरी पृष्ठ नम्बर ३८३ मा गणेश सिलवालको घरदेखि गौलीको घर जाने सडक कालोपत्रे शीर्षकमा ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

यी त उदाहरण मात्रै हुन्। प्रदेश सरकारको बजेट किताब हेर्ने हो भने प्रायः बजेट तथा योजनाहरू उपलब्धिसँग जोडिएको भन्दा पनि सांसद र मन्त्रीका क्षेत्रका कार्यकर्ता रिझाउने खालका छन्। जसका लागि प्रदेश सरकारले टुक्रे योजनामा जोड दिएको पाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad