बागमती


हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

नेपालखबर
असार १०, २०८२ मंगलबार २०:११, मकवानपुर

हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार बानियाँले आगामी आव २०८२/८३ का लागि रु दुई अर्ब ९० करोड तीन लाख १० हजार लागतको बजेट प्रस्तुत गरेका छन्। 
    
सार्वजनिक गरिएको बजेट पुस्तिकाको तथ्याङ्कमा कूल बजेटमध्ये पुँजीगत र चालु खर्चतर्फको रकम विवरण उल्लेख गरिएको छैन। उपमहानगरपालिकाका प्रमुख मीना लामाले सो नगरसभाको उद्घाटन गर्दै हेटौँडालाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न र कृषि उत्पादन, पर्यटन, कला संस्कृतिको विकासलाई अब दीर्घकालीन रुपमा आयोजना बैंकमार्फत कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताइन्।
    
उनले हेटौँडा नगरलाई औद्योगिक विकास ग्रामको स्तरमा अभिवृद्धि गर्न, हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने, विपन्न दलित आदिवासी जनजातिको स्वास्थ्योपचारमा गुणात्मक सेवा प्रदान गर्न उपमहानगरपालिकाले गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने उल्लेख गरिन्।
    
प्रमुख लामाले वनस्पतीखेतीको विस्तार, नगरका सबै वडा समितिमार्फत सर्वसाधारणको सेवालाई थप गतिशील तुल्याउने र हेटौँडा नगरमा बसोबास गर्ने नेपाली नागरिकबाट तेस्रो सन्तानका रुपमा जन्मदिनेलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि कोषको स्थापना गरिने बताइन्।

उक्त अवसरमा उपप्रमुख बानियाँ, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार सिग्देलले आगामी आवको बजेट दलगत स्वार्थभन्दा माथि उठेर उपमहानगरपालिका क्षेत्रका सबै जनताको आवश्यकता पूरा गर्न भौतिक पूर्वाधार विकासका साथै आर्थिक समृृद्धिलाई जोडने र नगरमा सुशासन ल्याउने कार्यमा स्थानीय नगर कार्य समिति र राजनीतिक दलहरुको बीचमा सहकार्य र समन्वय हुनुपर्ने बताए।
    
आज सार्वजनिक गरिएको बजेटमाथि यही असार २७ गतेदेखि सुरु हुने नगरसभाको बैठकमा पूर्ण छलफल गरी पारित गर्ने कार्यसूची रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad