बागमती


हेटौँडामा वडा अध्यक्षमाथि आक्रमण: उपमहानगरपालिकाले जनायो आपत्ति

हेटौँडामा वडा अध्यक्षमाथि आक्रमण: उपमहानगरपालिकाले जनायो आपत्ति

नेपालखबर
असार ४, २०८२ बुधबार २१:३९, हेटौँडा

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सबिन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात समूहले सांघातिक आक्रमण गरेकोप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको घोर भर्त्सना गरेको छ।

बुधबार साँझ पत्रकार सम्मेलन गर्दै आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गरिरहेका बेला ज्यानै लिने नियतले गरिएको आक्रमणले काम गर्ने वातावरणमै असर परेको उपमहानगरपालिकाले जनाएको छ।

आज दिउँसो ३ः४० बजे कार्यालय समयमै गरिएको उक्त आक्रमणमा गम्भीर शारीरिक क्षति पुर्‍याउने नियत रहेको र आक्रमणपछि मोबाइल फोनसमेत लुटिएको बताइएको छ। 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा मुलुकी देवानी संहिता, २०७४ लगायत प्रचलित कानुनले प्रदान गरेका अधिकार प्रयोग गरी वडा अध्यक्षले सार्वजनिक जग्गा संरक्षण तथा अन्य जिम्मेवारी निर्वाह गरिरहेका बेला यस्तो हमला हुनु निन्दनीय छ’, मेयर मिना कुमारी लामाले भनिन्।

उनले घटनामा संलग्न समूहको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेकी छन्। साथै, आक्रमणमा संलग्न अपराधीहरुलाई पक्राउ गरी कानुनबमोजिम हदैसम्मको सजाय दिनुपर्ने प्रेस विज्ञप्तिमार्फत् भनिएको छ। 

यस घटनाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको मेयर लामाले बताइन्। 

केही अघिबाट हेटौँडा–१ स्वर्गलोक सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो। सोही विषय लिएर आएका व्यक्तिहरूले आक्रमण गरेको पीडित न्यौपानेले बताए।

उक्त घटनामा अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ। घटनाका पछि उनले प्रयोग गर्ने दुईवटै मोबाइल समेत लुटिएको बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad