देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि आइतबार बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘अहिले भइरहेको वर्षा त हल्का नै हो’, उनले नेपालखबरसँग भनिन्, ‘तर वर्षा मध्यमसम्म हुने देखिन्छ।’
मौसमविद्का अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा हो।
मौसमविद् कँडेलका अनुसार अहिले काठमाडौँ उपत्यकाभरि नै वर्षा भइरहेको छ।
‘उपत्यकाभित्र मात्र होइन, आसपास सिन्धुपलाल्चोक, काभ्रे, नुवाकोटलगायत जिल्लामा पनि यतिबेला वर्षा भइरहेको छ’, उनले भनिन्।
आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताइन्।
‘बीचबीचमा केही बेर पानी रोकिए पनि फेरि पर्ने, रोकिने क्रम चलिरहने सम्भावना देखिएको छ’, मौसमविद् कँडेलले भनिन्।
मौसम महाशाखाले आज बिहान गरेको अध्ययनअनुसार दिउँसो कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली भूभागका थोरै स्थानमा पनि हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यस्तै राति पनि देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया