बागमती


‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’

‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १५:५१, काठमाडौँ

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने बताएका छन्।

यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उनले सेवाग्राहीले बैंकमा लाइन बसेर दस्तुर एवं कर दाखिला गरिसकेपछि पनि पुनः रसिद काट्न कार्यालयमा लाईन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कानुनी सुधारका काम भइरहेका जानकारी दिए।

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ निर्माण गरिसकेकाले यथाशीघ्र भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट हुने उनले जानकारी दिए। मन्त्री महर्जनका अनुसार मन्त्रालयको वेबसाइटबाट आफ्नो सवारीको विवरण आफूले अद्यावधिक गरी बिलबुक नवीकरणसहित सवारी कर तिर्न सकिनेछ।

प्रदेश सरकारले नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र देखिने व्यवस्था गरिसकेकाले बताउँदै त्यसको पूर्णरूपमा कार्यान्वयन भइरहेको उनले जानकारी दिए। मन्त्री महर्जनले सवारी चालकले ट्राफिक नियम उलङ्घन गरेमा सोही एपको सवारीचलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट ट्राफिक प्रहरीले जरिवाना गर्नेगरी व्यवस्था मिलाइएको बताए।

आगामी दिनमा बागमती प्रदेश सरकारले सवारीचलक अनुमतिपत्रसम्बन्धी आवेदनसहित अन्य सेवा राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको बताउँदै मन्त्री महर्जनले यससम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

निरीक्षणका क्रममा मन्त्री महर्जनले कार्यालयका कर्मचारी तथा सेवाग्राहीसँग अन्तरक्रियासमेत गरेका थिए। यातायात व्यवस्था कार्यालय हेटौँडाका कार्यालय प्रमुख प्रवीण श्रेष्ठले सेवाग्राहीको गुनासो र जिज्ञासा सान्दर्भिक रहेका बताए। कार्यालयले आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व नियमावलीलगायत अन्य प्रचलित कानुन अनुसार कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेकाले पनि सेवा प्रवाहमा समय लाग्ने गरेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad