चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा आरोपीतहरूले सफाइ पाएका छन्। सोमबार (आज) जिल्ला अदालत चितवनले तीन अभियुक्तहरूलाई सफाइ दिएको हो।
आत्महत्या दुरुत्साहनको अभियोगमा पेश भएको मुद्दामा जिल्ला अदालत चितवनले दाबी नपुग्ने ठहर गर्दै फैसला सुनाएको हो। न्यायाधीश ध्रुवकुमार ढकालको इजलासबाट सुनाइएको उक्त फैसलापछि विद्यालयका प्रिन्सिपलसहित तीनजना मुक्त भएका छन्।
मुद्दामा विद्यालयका प्रिन्सिपल ६० वर्षका बालहरी देवकोटा, ४० वर्षका भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र ४८ वर्षका होस्टल वार्डेन कमल शर्मा पौडेलले सफाइ पाएका हुन्। उनीहरू तीनजनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो।
स्कुलको होस्टलमा बसेकी छोरीको रहस्यमय मृत्यु भएको भन्दै मृतक सालिनका बावु दीपेन्द्र पोखरेलले बलात्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएका थिए। २०८० फागुन १२ गते बिहान १४ वर्षीया सालिन पोखरेल स्कुल होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहनको अभियोगमा २०८० चैत ४ गते तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो। सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगमा अदालतले प्रमाण नपुगेको ठहर गरेसँगै अभियुक्तहरू निर्दोष ठहरिएका हुन्।
अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार आत्महत्या दुरुत्साहन पुष्टि हुने पर्याप्त प्रमाण पेश हुन नसकेकाले मुद्दा खारेज गरिएको हो।
पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुव्र्यवहार नभएको पुष्टि गरेको थियो। मृतकको पोष्टमार्टम रिर्पोट पनि हत्या नभएर आत्माहत्या नै भएको पुष्टि भएको थियो भने उनको कोठामा फेला परेको सुसाइट नोटको अक्षर उनकै भएको समेत विधि विज्ञान प्रयोगशालाको रिर्पोटले देखाएको थियो।
Shares

प्रतिक्रिया