बागमती


गोरु तस्करी प्रकरण: चौकी इन्चार्जसहित ३ प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

गोरु तस्करी प्रकरण: चौकी इन्चार्जसहित ३ प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँल


सुनिता विष्ट
फागुन ६, २०८१ मंगलबार ६:५३, हेटौँडा

हेटौँडा हुँदै अवैध रूपमा गोरु तस्करी प्रकरणमा हेटौँडा-१५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ।

हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरण छानबिनका लागि इन्चार्ज फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले ३ जनालाई छानबिनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानिएको जानकारी दिए।

गोरु तस्करीमा प्रहरीकै संलग्नताका रहेको आशंकापछि छानबिन गर्न उनीहरूलाई जिल्ला तानिएको उनले बताए। सो विषयमा प्रक्रियागत रूपमा छानबिन भइरहेको उनले जानकारी दिए। 

आइतबार राति चितवनबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरको पहलमा बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो।

उक्त घटनामा प्रहरीले नै स्कर्टिङ गरेर तस्करी भइरहेको गोरुसहितको बा. प्र. ०३-००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाएको दाबी ठाकुरको छ।

आइतबार राति ११ बजे गाडी नियन्त्रणमा लिएर मकवानपुर ल्याइएको थियो। छानबिन गर्दा गाडीमा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए।

ती गोरुका लागि लक्ष्मी चौपाया सप्लायर्स, हेटौँडा-१६, को नाममा बिल जारी गरिएको पाइएको छ भने प्रतिगोरु ५ हजार रुपैयाँको बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको छ।

यता भेटेरीनरी प्रमाणपत्रमा आबुँखैरेनी, तनहुँका भीम राईको नाम उल्लेख छ। जसमा डा. टीकाराम न्यौपानेको हस्ताक्षर छ। नेपालबाट गोरु तस्करी गरी भारत हुँदै बंगलादेशसम्म मासु प्रयोजनका लागि पठाउन लगिएको हुन सक्ने अनुमानमा गोरु नियन्त्रणमा लिइएको उनले बताए।

उक्त घटनाको छानबिन गर्न कार्यालयले आन्तरिक राजस्व कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई समेत पठाउने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad