बागमती


त्यसपछि बेलायती राजकुमारले हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाले

त्यसपछि बेलायती राजकुमारले हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाले

भक्तपुरमा बुट्टा खोप्दै बेलायती राजकुमार


नेपालखबर
माघ २४, २०८१ बिहिबार ८:३३, भक्तपुर

भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए। नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए। 

नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोली बुधबार जब क्षेत्रमा प्रवेश गर्‍यो, यिनै दृश्यले उनको नजर तान्यो। 

उनले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गरे। कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए। त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाले। 

नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुगेका उनले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूर्वक यहाँका कलाकृति अवलोकन गरे।

एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराए। अधिराजकुमार एडवार्डले एकेडेमीले यस कार्यको प्रशंसा गरे। 

अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराए। त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमुना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुगेका थिए। उनले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण सारे। 

आजै बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को समेत अवलोकन गरे। अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आएका थिए। बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोकन गरे। 

मङ्गलबार नेपाल आउनुभएका उनीहरू काठमाडौँस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम छ। बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad