बागमती


कमलादीमा महानगरछेउ परेको भ्वाङ टालियो, पूर्वाधार सचिवले रिबन काटेर गरे उद्घाटन

कमलादीमा महानगरछेउ परेको भ्वाङ टालियो, पूर्वाधार सचिवले रिबन काटेर गरे उद्घाटन

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १४:५१, काठमाडौँ

काठमाडौँको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण गरिएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेका छन्।

११ मिटर लामो उक्त कलभर्ट भत्किँदा काठमाडौँ महानगरपालिकानजिकैको सडकमा भ्वाङ परेको थियो। यसले व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो।

व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए।  

काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो।

प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। मन्त्री देवेन्द्र दाहालसहितको टोलीले समेत उक्त स्थानको निरीक्षण गरी अविलम्ब पुनःनिर्माण गर्न निर्देशन दिएको थियो।

मन्त्री दाहालको निर्देशनपश्चात् पुनः साउन २८ गते विज्ञहरूले निरीक्षण गरी भोलिपल्ट लागत अनुमान तयार पारिएको थियो।

सडक डिभिजन कार्यालय, काठमाडौँले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डीबी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो।

ठेक्का लागे पनि अविरल वर्षा र बाढीले पुनः काममा अवरोध हुँदा केही ढिला भएको कार्यालयले जनाएको छ। डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसकेपछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कातिक ३ गतेबाट काम सुरु भएको थियो।

राणाकालमा निर्मित उक्त कल्भर्ट पुरातात्त्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो। कात्तिक १ गते पुरातत्त्व विभागले कल्भर्ट निर्माणमा सहमति दिएको थियो।

बेमौसमी बाढी, दसैँ, पुरातत्त्व विभागसँग सहमति लिनुपर्ने प्रक्रिया लगायतका चुनौतीबीच निर्धारित समयअगावै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad