समाज


उपप्रधानमन्त्री सिंहद्वारा काठमाडौँको फोहोर फाल्ने ठाउँ बन्चरेडाँडाको अनुगमन

उपप्रधानमन्त्री सिंहद्वारा काठमाडौँको फोहोर फाल्ने ठाउँ बन्चरेडाँडाको अनुगमन

बन्चरेडाँडा अनुगमनका क्रममा उपप्रधानमन्त्री सिंह


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १४:५३, काठमाडौँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्। 

उनले बिहिबार स्थलगत अवलोकन गरी बन्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन्।

उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको उल्लेख गर्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। 

‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ? जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरूप भइरहेको छ कि छैन भन्नेबारे जानकारी लिनुभएको छ’, उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ,‘स्थानीयले उठाएका विषयहरू के हुन्, कसरी समाधान गर्न सकिन्छ? त्यसबारे समन्वय गरी तदारुकताका साथ काम गर्न उहाँले  भन्नुभएको छ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए। 

सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बन्चरेडाँडा ल्यान्डफिल साइट २० वर्षमै भरिनसक्छ। तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्यान्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ। फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भनी बन्चरेडाँडाका बासिन्दाले सरकारको ध्यानाकर्षण गराइरहेका छन्। 

फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको स‌ंयोजनको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गत रहेकाले सहरी विकास मन्त्रीका रूपमा सिंहले बन्चरेडाँडामा देखिएका समस्या समाधान र स्थानीयले उठाएका मागमा चासो दिइरहेका छन्।  

यही मंसिर ९ गते बसेको समितिको बैठकमा स्थानीय सरोकारवालाले उठाएका विषय समाधान गरी फोहोरमैला व्यवस्थापन सहज बनाउनुपर्नेमा उनले जोड दिएका थिए।

ल्यान्डफिल साइट अनुगमनमा उपप्रधानमन्त्री सिंहसहित विज्ञ र बन्चरेडाँडासँग सरोकार राख्ने मन्त्रालयका प्रतिनिधि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad