स्थानीय तह निर्वाचनका बेला प्रायः वडाको गतिविधि प्राथमिकतामा पर्दैनन्। राजनीतिक दलका ठूला नेताहरूको ध्यान मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षमै हुन्छ।
तर आउँदो १६ गते आइतबार हुने उपनिर्वाचनमा भने दलका ठूला नेताहरूसमेत वडाध्यक्ष आफ्नो दलको पोल्टामा पार्ने कसरतमा जुटिरहेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि ९ राजनीतिक दल तर्फका उम्मेदवार र ३ स्वतन्त्र उम्मेदवारहरू सहित १२ जना चुनावी मैदानमा छन्।
राजनीतिक दलहरूमा नेकपा एमालेका राजेश नगरकोटी, नेपाली कांग्रेसका अर्जुन तिवारी, नेकपा माओवादी केन्द्रका रविन प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाबीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोन, नेकपा एकीकृत समाजवादीका बलराम बल, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार फूलमाया तितुङ छन् भने जनता समाजवादी पार्टीका छविलाल वाइवा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीकी दीपा लामा छन्।
यस्तै, गीता कुमारी नेवार, अर्जुन घलान र छत्र प्रकाश अधिकारी गरी तीनजना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन्।
१२ जनामध्ये एकजनाको पोल्टामा वडाअध्यक्षको पद पर्नेछ। तर यही पद आफ्नो दलको पोल्टामा ल्याउन जिल्लाका राजनीतिक दलहरूले मतदातामाझ शक्ति प्रदर्शन गरिरहेका छन्।
मंसिर २ गते मनोनयन दर्ता भएदेखि नै उम्मेदवारलाई लिएर जिल्लाका नेताहरू, प्रदेशका मन्त्रीहरू देखि संघीय सांसद तथा पूर्वमुख्यमन्त्री समेत मत आफ्नो दलको पक्षमा ल्याउन लागिपरेका छन्।
एमालेका उम्मेदवार नगरकोटीको पक्षमा माहोल बनाउन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल मंगलबार दिनभर नै सोही वडाको चुनावी घरदैलो कार्यक्रममा सहभागी बने। उनको साथमा प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ देखि पूर्व जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल लगाएत जिल्ला कमिटीसम्मकै लर्को देखियो।
बिहीबार (आज) बिहानै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा फोटो राख्दै लेखे, ‘स्थानिय तह उपनिर्वाचन, गोठ दमार हेटौडा –१२, मतदाता भेटघाट तथा छलफल।’
उनले राखेको फोटोमा देखिएका छन्- एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावादोर्जे लामा, प्रदेश सांसद एकालाल श्रेष्ठ लगाएत जिल्ला कमिटीका टीम।
यसरी वडाअध्यक्ष पदका लागि एमालेको मात्रै सिंगो पार्टी नै लागिपरेको होइन, माओवादीले पनि वडामा आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ। माओवादी केन्द्रले रविन प्रधानलाई उम्मेदवार बनाएको छ। जीत आफ्नो दलको पोल्टामा पार्न माओवादीले पनि अन्तिम प्रयास गरिरहेको छ।
मनोनय दर्ता देखि नै माओवादीका प्रभावशाली नेता प्रल्हाद लामिछानेले प्रधानको साथ छोडेका छैनन्। यति मात्रै होइन, प्रदेशका पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, सांसद प्रेमबहादु पुलामी लगाएत जिल्ला कमिटी देखि वडा कमिटीका सिंगो पार्टीपंक्ति नै प्रधानलाई जिताउन लागिपरेका छन्।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा–१२ को अध्यक्षमा निर्वाचित भएका हालका जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलान समेत प्रधानलाई जिताउन लागिपरेका छन्।
त्यतिमात्रै होइन, मतदाताको मत तान्नका लागि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेललको प्रमुख आतिथ्यतामा चुनावी सभा चलिरहेको छ। माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य समेत रहेका जम्मकट्टेल हेटौंडा–१२ को वडाअध्यक्षमा रविन प्रधानलाई मत दिन मतदाताहरूमाझ उभिएका छन्।
यता, कांग्रेसका उम्मेदवार अर्जुन तिवारीलाई पनि जिल्लाका कांग्रेस नेताहरूले साथ छोडेका छैनन्। राजनीतिक शक्ति देखाउन केहीदिन अघि कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्मा आफैं उपस्थित भए।
आफ्ना दलका उम्मेदवार तिवारीको पक्षमा माहोल बनाउन महामन्त्री शर्माले बिहीबार बिहानै सामाजिक सञ्जालमा तिवारीसँगै हात मिलाएको तस्बिर सार्वजनिक गर्दै लेखे, ‘पूर्वमा हाम्रातिर भन्ने चलन छ, ३ पल्टमा त के पनि पो छिन्छ, यस्तै हुने प्रबल स्थिति हेरें मैले मकवानपुरको हेटौंडामा। अर्जुन तिवारी ०७४ र ०७९ दुवै निर्वाचनमा वडाध्यक्षमा पराजित भए। हारे तर हराएनन् लागीरहे नागरिकको काममा जिम्मेवार भएर त्यही कर्मले जित्दैछ विश्वास, सम्हाल्न लाग्दैछन् हेटौंडा उपमहानगर १२ को कमाण्ड!’
त्यसोत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रेमबहादुर भ्लोन जिताउन संघीय सांसद दीपक बहादुर सिंह पनि लागिपरेका छन्। प्रतिस्पर्धा वडाअध्यक्षको भएपनि प्रतिष्ठा पार्टीसँग जोडिएका कारण यतिबेला हेटौंडा–१२ मा नेताहरूको लर्को लागेको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपाको पक्षमा १८३ मत प्राप्त भएको थियो। तर २०७९ कै आम निर्वाचनमा सोही वडाबाट १८ सय भन्दा बढी मत प्राप्त गरेका सिंह आम निर्वाचनको जस्तै मत हलोमा ल्याएर राप्रपाको वडाध्यक्ष निर्वाचित गराउन लागि परेका छन्।
यस क्षेत्रमा आफ्नो राम्रो प्रभाव रहेकै कारण माहोल हलोको पक्षमा बन्न सक्ने भन्दै मनोनयन दर्ता देखि घरदैलो कार्यक्रममा समेत सिंहले भ्लोनको साथ छोडेका छैनन्।
यता, रास्वपाले पनि आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन दैनिकजसो जिल्ला कमिटीका नेताहरू नै घरदैलो अभियानमा जुटिरहेका छन्।
गत स्थानीय तह निर्वाचनमा माओवादीका ललित घलान वडा अध्यक्ष पदका विजयी भएका थिए। २०७४ सालमा पनि वडाअध्यक्ष निर्वाचित भएका घलान २०७९ मा पुन दोहोरिएका थिए।
उनी जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको वडाअध्यक्ष पदमा आगामी १६ गते उपनिर्वाचन हुन लागेको हो।
Shares

प्रतिक्रिया