लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्का नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार (आज) खड्कालाई लोक सेवा आयोग बागमती प्रदेशको सदस्यमा नियुक्त गरेका हुन्।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो।
तत्कालीन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागु हुने गरी २ कात्तिकमा राजीनामा दिएपछि यो पद रिक्त थियो। २ मंसिर २०८१ मा बसेको बागमती मन्त्रिपरिषदको बैठकले दोलखाको गौरिशंकर गाउँपालिका–५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो।
५ मंसिरमा प्राप्त सिफारिस अनुसार उनलाई प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए। उनका अनुसार नवनियुक्त सदस्य खड्काको सपथ ग्रहण अर्को साता हुने छ।
Shares

प्रतिक्रिया