बागमती


बालेनको आक्रोश: नेताहरूले देश नै बेच्न खोजिसक्नु भो तर काठमाडौँ महानगर बिक्रीमा छैन

बालेनको आक्रोश: नेताहरूले देश नै बेच्न खोजिसक्नु भो तर काठमाडौँ महानगर बिक्रीमा छैन

फाइल तस्बिर: बालेन


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १२:१३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेताहरूले देश नै बेच्न खोजेको आरोप लगाएका छन्। 

काठमाडौँ महानगरपालिले फोहोर संकलन र ढुवानीका लागि अघि बढाएको ठेक्का प्रक्रिया रोक्न पाटन उच्च अदालतले अस्वीकार गरेपछि शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत खुसी प्रकट गर्ने क्रममा मेयर शाहले नेताहरूप्रति आक्रोश पोखेका हुन्।  

‘नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन’, उनले लेखेका छन्, ‘तपाईंहरूले पूरै देश नै बेच्नु भो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ।’

काठमाडौँ महानगरपालिकाले गत असोज २४ गते सूचना प्रकाशन गरी आफ्नो क्षेत्रभित्र फोहोर संकलन र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो। महानगरपालिकालाई ६ वटा क्षेत्र (क्लस्टर) मा बाँडेर योग्यता पुगेका निजी कम्पनी तथा फर्मलाई प्रस्ताव पेस गर्न सूचनामा आह्वान गरिएको छ। 

तर नेपवेस्ट प्रालि नामको कम्पनीले महानगरपालिकाले त्यसरी अन्य कम्पनीलाई ठेक्का लगाउन नपाउने जिकिर गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेको थियो। जसमा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि अघि बढाएको ठेक्का प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

तर उच्च अदालत, पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मेयर बालेन खुसी भएका हुन्। 

यस विषयमा उनले आज बिहान फेसबुकमा लामो स्टाटस लेखेका छन्।  

‘नेपवेस्टमार्फत मुद्दा हालियो। तर, सम्मानित अदालतले यो अधिकार काठमाडौँ महानगरमै निहीत रहेको भन्ने आदेश दिएपछि काठमाडौँको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ। फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ’, मेयर शाहले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौँ। फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनः जानकारी गराउँछौँ। यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ।’

गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी भएका शाहले राजनीतिक दलहरूप्रति बारम्बार आक्रोश पोख्ने गरेका छन्। त्यस क्रममा उनी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी एमालेप्रति अझ बढी रुष्ट देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad