चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक त्रिशूली नदीमा शंकास्पद् वस्तु देखिएको छ। नदीको बीचभागमा केही वस्तुलाई पानीको छहाराले हानेको अवस्थामा शंकास्पद् वस्तु स्थानीयले देखेका हुन्।
स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ।
गत असार २८ गते बिहानपख सिमलतालमा सडकमाथिबाट आएको पहिरोले बगाउँदा दुईवटा यात्रुबस बेपत्ता भएका थिए। वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो।
सोही बस हो कि भन्ने शंकाको आधारमा खोजी गर्न लागिएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरीको टोली उक्त स्थानमा पुगेको छ।
सिमलताल पहिरोमा बगेका दुईवटा बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। २९ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको थियो।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल पनि शंकास्पद् वस्तु देखिएको स्थानतर्फ गएका छन्। सोबारे प्रहरीले अनुसन्धान थालेको उनले बताए।
‘स्थानीयले प्रहरीलाई खबर गर्नुभएको रहेछ। म स्वंम् पनि सोही स्थानमा जाँदैछु,’ उनले नेपालखबरसँग भने, ‘सशस्त्र प्रहरीको टोली जानुभएको छ। के वस्तु हो भन्ने एकीन भएपछि खबर गर्छु भन्नुभएको थियो। खबर आएको छैन। म त्यहाँ पुगेपछि के रहेछ थप बुझौंला।’
Shares

प्रतिक्रिया