बागमती


बच्चालाई परिवारको जिम्मा छोडेर मार्दी हिमाल घुम्न निस्किएका थिए भुसाल दम्पती

बच्चालाई परिवारको जिम्मा छोडेर मार्दी हिमाल घुम्न निस्किएका थिए भुसाल दम्पती

सुनिता विष्ट
कात्तिक २३, २०८१ शुक्रबार २०:३, हेटौंडा

शुक्रबार (आज) बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने मध्येका एक दम्पती हुन् सन्तोष भुसाल र सबिना भुसाल।

तिहार सकेर मार्दी हिमाल घुम्न गएका नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–४ धर्साहका भुसाल दम्पती फर्किएर घर आउँदै गर्दा बाटोमै अस्ताए।

पारिवारिक स्रोतका अनुसार तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कार्तिक १९ गते घुम्न निस्किएका थिए सन्तोष र सबिना।

तीनदिन घुमेर बिहीबार (हिजो) पोखरा आइपुगेका उनीहरू राति नै इलेक्ट्रिक भ्यानमा घर फर्कंदै थिए। नवलपरासीको बिनयी त्रिवेणी नगरपालिका–४ का भुसाल दम्पतीले घर पुग्न नपाउँदै दुर्घटनामा परेर ज्यान गुमाए।

मृतक सन्तोषका दाइ नाता पर्ने प्रकाश भुसालले दिएको जानकारी अनुसार पोखरा आइपुगेपछि सन्तोषकी श्रीमती सबिनाले आफ्नो भाइलाई ८ बजेतिर फोन गरेर पोखरा आइपुगेको जानकारी गराएकी थिइन्। पोखराबाट नारायणगढसम्म आउने गाडी पाइएको र केहीबेरमा खाना खाएर हिँड्ने बताउँदै फोनमा कुराकानी गरेकी थिइन् सबिनाले।

रातको समय बाटोमा आउँदै होलान् भन्ने लागेर घर परिवारले पनि उनीहरूलाई फोन गरेनन्। बाटोमा गाडी जाम भएर ढिला भयो कि भन्ने लाग्यो।

तर, उज्यालो हुन नपाउँदै सवारी दुर्घटना भएको खबरले सबिनाको परिवार झस्कियो। दुर्घटनामा परेर सन्तोष र सबिना दुवैजनाको ज्यान गएपछि धर्साह यतिबेला शोकमा डुबेको छ।

पोखराबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानमा सवार थिए उनीहरू। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइपुगेपछि उनीहरू चढेको माइक्रो एक्कासी बसमा गएर ठक्कर खायो।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बसमा माइक्रो ठक्कर खाँदा भुषाल दम्पती सहित अन्य ३ जनाले ज्यान गुमाउन पुगे। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा ज्यान गएको हो।

विनयी त्रिवेणी नगरपालिका–४ का वडाध्यक्ष साहील श्रेष्ठका अनुसार उनीहरू दुवैजना शिक्षक हुन्। सोही वडामा रहेको मणिसिद्ध आधारभूत विद्यालय, धर्साहमा कार्यरत थिए। सन्तोष राहत कोटाको शिक्षकको रुपमा कार्यरत थिए भने सबिना करार शिक्षक थिइन्।

‘दुवैजना शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो,’ वडाध्यक्ष श्रेष्ठले नेपालखबरसँग भने, ‘बिदाको समयमा मार्दी हिमाल घुम्न निस्किनु भएको रहेछ। फर्कने बेलामा सवारी दुर्घटनामा पर्नुभएको खबर प्राप्त भयो। वडाकै कुशल शिक्षकहरू गुमाउनु पर्दा ननिको लागेको छ।’

उनीहरूका दुई सन्तान छन्। ९ वर्षकी छोरी र ५ वर्षको छोरा रहेका सन्तोषका दाइ प्रकाशले जानकारी दिए। उनका अनुसार परिवारलाई छोराछोरी हेर्न छोडेर दुईजना मात्रै घुम्न निस्किएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad