उपनिर्वाचनअन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उठाउने निर्णय गरेको छ।
सोमबार बसेको माओवादी कीर्तिपुर नगर कमिटीको बैठकले महर्जनलाई उम्मेदवार बनाउन सिफारिस गरेको हो।
उनी यसअघि २०७९ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयर पदमा उठेका थिए।
तर उनका पक्षमा ४ हजार ९० मत मात्र आयो अर्थात् माओवादी तेस्रो स्थानमा सीमित भयो।
९ हजार ४३ मत ल्याएर कांग्रेसका राजकुमार नकर्मी विजयी भए।
नेकपा एमालेका केशरत्न बज्राचार्य ५ हजार ५०७ मत ल्याउँदै दोस्रो स्थानमा रहे।
त्यतिबेला माओवादीले देशभर कांग्रेससँग गठबन्धन गरेको भए पनि कीर्तिपुर नगरपालिकामा भने गरेको थिएन।
अझ रोचक त के थियो भने कीर्तिपुरमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवार बनाएको थियो।
एकीकृत समाजवादीका उम्मेदवार बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत मात्र पाए।
कीर्तिपुर चुनावका केही तथ्य
कीर्तिपुर नगरपालिकामा दुईवटा चुनावी नतिजा अप्रत्याशित देखिन्छ।
संविधान जारी भएपछि ०७४ मा पहिलोपटक भएको स्थानीय तहको चुनावमा कीर्तिपुर नगरपालिकामा एमालेले मेयर, उपमेयरसहित ७ वटा वडाध्यक्ष पद जितेको थियो।
तर, ०७९ वैशाखमा भएको चुनावमा एमाले २ वटा वडा सदस्यमा खुम्चियो।
कांग्रेसबाट मेयरमा नकर्मी, उपमेयरमा शुभलक्ष्मी शाक्यसहित ९ वटा वडाध्यक्षले चुनाव जिते।
त्यही कीर्तिपुरमा २ वर्षमै उपचुनाव हुन लागेकाले नतिजाबारे अनेक अनुमान भइरहेका छन्।
यसैबीच माओवादी केन्द्रले कीर्तिपुर नगरमा बलियो उम्मेदवार भएकै कारण महर्जनलाई उपचुनावको उम्मेदवार बनाइएको दाबी गरेको छ।
उनले महेन्द्र रत्न क्याम्पस (ताहाचल) मा २०४२ देखि २०६१ सम्म पढाएका छन्।
यस्तै शिक्षा शास्त्र केन्द्रीय विभाग त्रिविमा २०६१–२०७६ सम्म अध्यापन गरे।
यसै क्रममा २०६८–२०७२ सम्म त्रिवि केन्द्रीय शिक्षा विभागको प्रमुख बनेका महर्जन सोही विभागबाट सेवा निवृत्त भएका हुन्।
विश्वविद्यालय अनुदान कोषका सदस्य भएर काम गरेका प्रा.डा महर्जनले यसपटक मतदाताले आफूलाई न्याय गर्ने अपेक्षा गरेका छन्।
Shares

प्रतिक्रिया