ad ad

बागमती


काठमाडौँका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गरे पदबहाली

काठमाडौँका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गरे पदबहाली

नेपालखबर
असोज ७, २०८१ सोमबार १५:१३, काठमाडौँ

काठमाडौँ महानगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पदबहाली गरेका छन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को गत भदौ २७ गतेको निर्णय अनुसार काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका गुरागाईंले सोमबार पदबहाली गरेका हुन्। 

यसअघि गएको २ वर्षदेखि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत थिए।

पदबहालीका क्रममा गुरागाइँले प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गरे। यसपछि आयोजना भएको विभागीय प्रमुखहरुको संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले प्रशासन विभागका प्रमुख नमराज ढकाललाई अधिकार प्रत्यायोजन गरेर कार्य प्रारम्भ गरे। 

कार्यक्रममा विभागका प्रमुख ढकालले, निवर्तमान प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन प्रदान गरेका थिए।

परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको, प्रतिष्ठा बढेको उल्लेख गरे। 

अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नु पर्ने बताउँदै उनले नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौँको उचाइ बढ्दै जाने बताए।

त्यस क्रममा प्रशासन विभागका प्रमुख ढकालले, एकल सेवा केन्द्र सञ्चालन, कर्मचारीको जिम्मेवार हेरफेरमा सहभागितामूलक पद्धति, सम्मानित अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य नियामक निकायहरुबाट माग भएको विवरण यथासमयमै उपलब्ध गराउने प्रणालीको अभ्यास, जिम्मेवारी परिवर्तन भई अन्यत्र सरुवा भई जाँदा प्रगति प्रतिवेदन पेस गर्ने पद्धतिलाई निरन्तरता दिनु पर्ने बताए। 

अघिल्लो वर्षमा हासिल भएको पूँजीगत खर्चको वृद्धिदरलाई बढाउने काम, प्रभावकारी अनुगमन प्रणाली र आन्तरिक नियन्त्रण प्रणालीलाई संस्थागत गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्राप) का सूचकहरुका उच्च अङ्क प्राप्त गर्न प्रयत्नशील रहनु पर्ने अवस्था रहेको जानकारी दिए।

गुरागाइँ २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका हुन्। उनी २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएका हुन्।

तत्कालीन स्थानीय विकास मन्त्रालयमा २४ वर्ष, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ वर्ष र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० वर्ष गरी ३ दशकभन्दा धेरै समय नेपाल सरकारको सेवामा बिताइसकेका छन्। 

मन्त्रिपरिषद्बाट एकै मितिमा भएको निर्णयअनुसार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्। 

उनी गत असोज ४ गते नै बिदाइ भएर गइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .