चितवनको भरतपुरस्थित इङ्लिस बोर्डिङ स्कुलबाट मंगलबार हराएका बालक बुधबार फेला परेका छन्।
सनराइज इङ्लिस बोर्डिङ स्कुलको होस्टलमा बस्ने गरेका ११ वर्षीय संयोग बहादुर पौडेल मंगलबार दिउँसोदेखि एकाएक बेपत्ता भएका थिए।
तर आज दिउँसो संयोगलाई आफ्नै बुवा गणेश पौडेलसँग भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, डीएसपी भेषराज रिजालले जानकारी दिए।
भरतपुर महानगरपालिकाकै वडा नम्बर-१३, उज्जवलनगर घर भएका संयोग सनराइज स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।
उनले हिजो कक्षाका साथीहरूसँग झगडा भएपछि विद्यालयबाट निस्किएर हिँडेको बताएको प्रहरीले जनाएको छ।
स्कुलबाट मंगलबार अपराह्न ४ बजेतिर निस्किएको तर बाटोमा आफ्नो बुवालाई भेटेपछि उनीसँगै बसेको संयोगले बताएका छन्।
यस बिषयमा थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए।
संयोगको आमा र बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो।
त्यसपछि संयोगकी आमा सरिता पौडेल क्षेत्रीले छोरोलाई होस्टलमा राखेर वैदेशिक रोजगारीका लागि दुबई गएकी थिइन्।
डीएसपी भण्डारीका अनुसार संयोग बिदाका बेला मामाघरमा बस्ने गरेका थिए।
Shares
प्रतिक्रिया